
 2mb (1).gif)
नबिल बैंकका डेपुटी सीईओ मनोज कुमार ज्ञवालीले दशैँ तथा तिहारमा नयाँ नोट सटही गर्ने काम सधैको लागी बन्द गरिनु पर्ने बताएका छन्। नोट ब्यबस्थापनको लागत र अप्ठ्याराहरू धेरै भयको भन्दै उनले डिजिटल कारोबार लाई बढावा दिदै नोटको कारोबार कम गर्नु पर्ने बताएका हुन्।
उनले यस बर्ष लाई 'डिजिटल दक्षिणा बर्ष' को रुपमा मनाउन र दक्षिणा खातामा रकमान्तर गरेर दिनको लागि आग्रह गरेका छन्। यसो गर्दा पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैकिङलाई खुद्रा नोट ब्यबस्थापनको टाउको दुखाई पनि नहूने उनको भनाई छ।
उनका अनुसार सानो इकाईका खुद्रा नोटहरू नेपाल राष्ट्र बैंकले समेत जम्मा गर्न मान्दैन । यसैले बैंक तथा बित्तीय संस्थाहरुको कतिपय शाखाहरूमा भल्टमा होईन भल्ट रुम मै नअट्ने गरी खुद्रा नोटहरू थुप्रिएका छन्। खुद्रा नोट व्यबस्थापन साच्चै नै समस्याको रुपमा रहेको उनको भनाई छ।
फेरि पनि दशैँमा नयाँ नोट सतही गर्ने लागिएकोले दशै तथा तिहारमा नयाँ नोट सटही गर्ने काम सधैको लागी बन्द गरिनु पर्ने र 'नोट' लाई ‘खेलौना’ को रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रष्ट हुनु पर्ने उनी बताउछन्। एकातर्फ बैकिङ लाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्को तर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नु नहुने उनको तर्क छ।
ज्ञवालीका अनुसार असार २०७८ मा बजारमा चलन चल्तीमा रु ५७१.९६ अर्बका नोटहरू थिए भने असार २०७९ मा चलन चल्तीका कुल नोटहरू ११.६% ले घटेर रु ५०५.९० अर्ब बराबर रहेको छन्।