बेस रेटमा होइन, मनलाग्दी थपिएको प्रिमियममा हाम्रो आपत्ति हो : राजेन्द्र मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 10:45:57 AM मा प्रकाशित

laxmi  sunrise bank

बढ्दो ब्याज बिरुद्द नेपालभरका व्यवसायी आन्दोलित भईरहँदा उद्योगी व्यवसायीका नेताहरुले पनि बढ्दो ब्याजको खुलेर नै चर्को आलोचना गर्न थालेका छन्। विश्वभर ब्याजको दर बढिरहेपनि नेपालमा मनलाग्दी रुपमा प्रिमियम थप गरेर महँगो ब्याज असुल्ने काम भएको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्। 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल बेस रेटमा नभई, मनलाग्दी थपिएको प्रिमियममा आफ्नो  आपत्ति रहेको बताउछन् । "ब्याज घटबट हुन्छ र यो सर्वमान्य सिद्दान्त हो तर ब्याजको बढेर आधार दर (बेस रेट) मा मात्रै थोरैले बढ्दासम्म उद्योगी व्यवसायी र ऋणीले आपत्ति जनाउने कुरा हुदैन तर हाम्रोमा त बढेको बेस रेटमा प्रिमियम पनि थप गरेर कर्जाको ब्याज महँगो बनाइएको छ। यसमा नै हाम्रो आपत्ति हो" नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बिजपाटीकर्मीसँगको कुराकानीमा बताए। 

उनका अनुसार विश्वभर बढ्दो महँगीलाई नियन्त्रण गर्न ब्याज बढाईएको छ भन्दैमा नेपालमा मनलाग्दी रुपमा ब्याज बढाउने काम भएको छ। राष्ट्र बैंकले पनि बैंकहरुको मनलाग्दी लाई कुनै कारबाही नगरी मौन समर्थन गरेको हो कि भन्ने देखिन्छ। 

तरलता अभावले कर्जा विस्तार खुम्चिदा पनि बैंक वित्तीय संस्थाहरुको नाफा बिगतको तुलनामा बढिरहेको छ। यसले पनि बैंक वित्तीय संस्थाले बढ्दो बेस रेटमा थप प्रिमियम लिईरहेको पुष्टि हुने अध्यक्ष मल्लको दाबि छ।   

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद मुनाफा गत आर्थिक बर्षको तुलनामा ५.९४ प्रतिशतले बढेर १७ अर्ब ७१ करोडबाट १८ अर्ब ७६ करोड पुगेको छ। जसमा एनआईसी एसियाले सबै भन्दा बढी मुनाफा कमाएको छ भने नबिल दोस्रो र राष्ट्रिय बाणिज्य बैंक तेस्रो स्थानमा छन्। अरु १२ वटा कमर्शियल बैकको खुद मुनाफा भने घटेको छ। 

मल्ल भन्छन्, 'हिजो बेस रेटमा ३ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज तय गरेका बैंकहरुले पनि अहिले बढेको बेस रेटमा ६ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याज तय गरेका छन्। यसले ऋणीले सावाँ ब्याज नै तिर्न नसक्ने अवस्था बन्दै गैरहेको छ। अन्तवगत: तिर्ने नसक्ने अवस्था आएपछि त्यसको असर ऋणीलाई मात्र होइन, सम्बन्धित बैंकलाई र सिङ्गो राष्ट्रमाथि नै पर्ने हो। '

कोभिड १९ मा बैंक वित्तीय सँस्था तथा सरकारले केहि सहुलियत दिएकाले त्यो बेला कोभिड को असर उद्योग व्यवसायमा कम देखिएको तर अहिले कोभिड को असर पूर्ण रुपमा देखिएकाले राष्ट्र बैंकले विषम परिस्थिति ठानेर प्रिमियममा एउटा सिलिङ्ग तोक्नुपर्ने अध्यक्ष मल्लको सुझाव छ। 

उनी भन्छन्, "कोभिड १९ को असर अहिले देखिएको छ, अहिलेको अवस्थालाई विषम परिस्तिथि मानेर बेस रेटमा एउटा निश्चित प्रतिशत अर्थात बढीमा २ प्रतिशत मात्र प्रीमियम लिन पाउने व्यवस्था राष्ट्र बैंकले लागू गर्नुपर्छ।"

ब्याजलाई लिएर व्यवसायीहरुले देशब्यापी गरेको आन्दोलन स्वतस्फुर्त भएकाले यसलाई राज्यले 'सिरियसली' लिनुपर्ने बताउंदै अध्यक्ष मल्लले तत्कालै राष्ट्र बैंकले ठोस कदम चाल्नुपर्ने बताए । बैंकहरुले सार्वजनिक गरेको पहिलो त्रैमासको विवरणअनुसार राष्ट्रिय बाणिज्य बैंकको लागत सबै भन्दा कम ६.५१ प्रतिशत छ भने सबै भन्दा बढी सिभिल बैंकको ९.२५ प्रतिशत रहेको छ।  यद्दपि राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबैभन्दा कम ८.८५ प्रतिशत छ भने सबै भन्दा सिटिजन्स बैंकको ११. १४ प्रतिशत रहेको छ। 

आधार दरमा बैंकहरुले न्युनतम ०.५ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याज निर्धारण गरिरहेका छन्। नयाँ कर्जालाई मात्र नभई पुरानै कर्जालाई पनि नयाँ बेस रेट र नयाँ प्रिमियम जोडेकै कारण अधिकांश ऋणीहरु सावाँ ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका हुन्। 

राष्ट्र बैंकको निर्देशनअनुसार पनि परिवर्तित आधार दर लागू भएपनि बैंक वित्तीय संस्थाले सामान्यतया किस्तामा भुक्तानी हुने प्रकृतिका कर्जामा प्रिमियम थप गर्न पाउदैनन्। यदि कसैले हिजो किस्तामा भुक्तानी हुने प्रकृतिका कर्जाको ६ प्रतिशत आधार दरमा २ प्रतिशत प्रिमियम स्वीकारेर बार्षिक ८ प्रतिशत ब्याज तिरेको थियो भने अहिले आधार दर बढेर ९ हुँदा प्रिमियम २ प्रतिशत नै यथावत राखेर ११ प्रतिशत ब्याज लिनुपर्ने हुन्थ्यो। तर अधिकांश बैंक वित्तीय संस्थाले यो उदाहरणमा ९ प्रतिशत आधार दरमा २ को साट्टो ४-५ प्रतिशत प्रिमियम लिएकाले ऋणीहरुले आपत्ति जनाएका हुन्।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved