नेपालमा प्रांगारिक कृषि र कृषि पर्यटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2022 | 02:23:14 PM मा प्रकाशित

laxmi  sunrise bank

गोबिन्द शर्मा


छोटो अर्थमा भन्नु पर्दा कृत्रिम रासायनिक मल तथा बिषादी  प्रयोग नगरिकन गरिने कृषि उत्पादन पद्धतिलाई प्रांगारिक कृषि भनिन्छ । नेपालमा रासायनिक मलको प्रयोग बिक्रम सम्बत २०१३ बाट सुरु भएपनि यसको ब्यापकता २०३० को दशकबाट भएको हो । रासायनिक विषादीको प्रयोग भने २०४० को दशकबाट फैलिन थालेको हो । 

रासायनिक पदार्थको ब्यापकता हुन थालेको केहि समयमै अर्थात् २०४३ साल बाट यहाँ संस्थागत रुपमा प्रांगारिक कृषिको वकालत सुरु भएको थियो । हाल नेपालमा २ लाख ५ हजार कृषकहरुले ४४ लाख रोपनी (४४ लाख कट्ठा) जमिनमा प्रांगारिक कृषि गरिरहनु भएको छ ।  संसारमा सबै भन्दा धेरै प्रांगारिक कृषि क्षेत्रफल भएको देश अष्ट्रेलिया हो भने धेरै निर्यात गर्ने देश चैं अर्जेन्टिना हो ।

हाम्रो जस्तो देशमा प्रांगारिक कृषि ब्यबहारिक छ कि छैन, अथवा यसले देशको खाद्य सुरक्षा सुनिश्चित गर्न सक्छ कि सक्दैन भन्ने कुरामा लामो समय देखि बहस चली रहेकोछ । संसारमै कुल कृषि क्षेत्रफलको लगभग १ प्रतिशतको हाराहारीमा प्रांगारिक कृषि भएको अबस्थामा नेपाल चै पुरै प्रांगारिक भै हाल्छ र त्यो पनि आजको भोलि नै भन्ने आशय हामी कसैको पनि हैन । तर नेपालको सन्दर्भमा प्रांगारिक क्रिषिलाई सक्दो धेरै क्षेत्रमा ब्यापकता दिनु हाम्रो हितमा हुनेछ । 

निश्चयनै मानिसको लागि पहिलो आवश्यकता पेटभरी खानु हो । भोकाएकोे समाज खानेकुराको गुणस्तरको प्रश्न उठाएर सधैँ भोकै बस्दैन । त्यसैले ८० करोड मानिस भोकै सुत्न अभिसप्त वर्तमान संसारमा कृषि उत्पादन वृद्धिलागी प्रयोग गरिने बर्णशंकर बिउ तथा मल बिषादी हामी पूर्णतः नकार्न सक्दैनौ । 

यद्यपि संसारमा हाल विद्यमान खाद्य असुरक्षाको मूल कारण उत्पादनको अपर्याप्तता भन्दा पनि खाद्यपदार्थको ब्यापारीकरण र राजनीतिकरण प्रमुख हो । तर यी समस्या  हामीले चाहेर पनि आजको भोलि समाधान भै हाल्ने वाला छैनन् र यी समस्या समाधान भएर आदर्श अवस्था स्थापना नहुन्जेल तिमि चैं भोकै बस भनेर पनि हामी कसैलाई भन्न सक्दैनौ । त्यसैले उत्पादन वृद्धिको अभियान, उत्पादनको न्यायोचित वितरणको आन्दोलन र प्रांगारिक कृषि प्रबद्र्धन अभियानलार्ई हामीले संगसंगै लैजानु अपरिहार्य छ । प्राकृतिक संरक्षण र सामाजिक आन्दोलनका नाममा उत्पादन पद्धति बन्द गर्ने प्रवृति ब्यबहारिक प्रवृति हैन । 

संसारका धेरै देशहरु आफ्नो देशको कृषिको दिगोपना र खाद्य सुरक्षणको सुनिश्चितता भए पछी प्रांगारिक तर्फ उन्मुख भएका छन । युरोपले हरेक बर्ष १० प्रतिशतका दरले प्रांगारिक कृषि क्षेत्रफल वृद्धिगर्ने लक्ष लिएकोछ, युएसएले स्थानीय मापदण्डहरुलाई सरलीकृत गरेर प्रांगारिक उत्पादन वृद्धिलाई सहजीकरण गरेकोछ । भारतमा प्रांगारिक कृषि राष्ट्रिय केन्द्र नै स्थापना गरेर प्रांगारिक कृषिको प्रवर्धन गरि रहेकोछ, सिंगो सिक्किम राज्यलाई प्रांगारिक राज्य घोषणा गरेको छ र २० हे भन्दा बढी प्रांगारिक कृषि क्षेत्र भएको ठाउँमा प्रमाणीकरण खर्च अनुदानमा दिने व्यवस्था गरेको छ । 

नेपालमा पनि उपभोक्ताको एउटा यस्तो जमात तयार भै सकेको  छ जसको लागि खानेकुराको गुणस्तर एकदमै महत्व पूर्ण छ । खानेकुरा खानु हाम्रो जीवनको लागि अपरिहार्य छ । तर एउटा अबस्थामा खानु भनेको भुँडी भर्नु मात्रै हैन त्यो संग सामाजिक, सांस्कृतिक, मनोबैज्ञानिक, आर्थिक .. धेरै कुराहरु जोडिएर आउँछन्। बजारको अम्बा खानु र स्थानिय अम्बा स्थानीय जातको हुनु, त्यो अझ बालक कालमा आफैंले रोपेको बोटको हुनु, त्यो प्रांगारिक हुनु, आफुलाई रमाइलो लाग्ने या कुनै कारणले आफ्नो दिल बसेको ठाउँको हुनु इत्यादि हरेक पक्षले त्यो अम्बा खाँदाको सन्तुष्टि फरक पार्दछ । अहिले नेपालका शहरी उपभोक्ता मध्ये २९ प्रतिशत उपभोक्ताहरु यस्तै गरि पेट भर्ने मात्रै हैन सन्तुष्टिदायक खानेकुराको खोजीमा हुनुहुन्छ । यसकालागी उहाँहरुको मुख्य खोजि भनेको रैथाने खानेकुराहरु नै हो । रैथाने खानेकुराहरु प्रांगारिक तरिकाबाट उत्पादन गर्न सकिन्छन, त्यसैले बढी स्वस्थकर हुन्छन, तिनको स्वादमा विशेष मिठास हुन्छ ।     

संसारको कुल कृषि क्षेत्रको लगभग ९२ प्रतिशत क्षेत्रफल २० डिग्री भन्दा कम भिराला ठाँउमा छन भने बाँकी ८ प्रतिशत त्यो भन्दा बढी भिराला ठाउँमा छन्,  जसमध्ये हाम्रो देश नेपाल पनि हो । त्यसैले संसारमा विकास भएका अधिकांश कृषि औजार, उपकरण, मल, बिउ, प्रविधिहरु हाम्रो परिबेशका लागि बनेका छैनन् । नेपालको भूगोल र कृषि पद्धति रैथाने एबम प्रांगारिक कृषिकोलागी एकदम सुहाउँदो छ । यो वस्तु तथ्यलाई बुझेर हामीले हाम्रो परिवेश अनुसारको बुझाइ र तरिका अनुसरण गर्नु पर्दछ ।   

हाम्रो खाद्य सुरक्षणको लागि भरपर्दो तरिका भनेको उत्पादन वृद्धि संगसंगै, भएको उत्पादनको प्रतिफल मुखी प्रयोग पनि हो । यसकालागी हाम्रा आधार भनेका कृषि उत्पादनजन्य स्रोत साधनको चक्र, पुनचक्र, आडिला  र बिशिष्ट गुणयुक्त उत्पादन, कृषि पर्यटन हुन् । नेपालमा ५० प्रतिशत रासायनिक मलको प्रयोग बढाउदा १५ प्रतिशत मात्रै उत्पादन बढेको तथ्यांक छ । त्यसैले रासायनिक मल बिषादी नै कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षणको निर्विकल्प उपाय हो भनेर सोच्नु गलत हो ।  

स्रोत साधनको चक्र पुनचक्रक लागि प्राविधिक ज्ञान र ढाँचा निर्माण सीप आबश्यक पर्दछ । यसकालागी प्रशस्त अनुसन्धान, अभ्यास तथा सहजीकरण आवश्यक छ । आडिला र विशिष्ट गुण युक्त उत्पादनका लागि हाम्रा रैथाने बालि, पशु एबम परिकारहरुको खोजि, परिक्षण र प्रवर्धन गर्नु पर्दछ । दुई हजार भन्दा बढी खान योग्य बनस्पति एबम प्राणि भएको नेपाली कृषि विविधतामा यो दुरुह कुरा पक्कै होइन । कृषि पर्यटनको सन्दर्भमा पनि नेपालमा कमसेकम सय थरिका कृषि  पद्धतिहरु छन् र भौगोलिक रुपमा सुगम ३० हजार भन्दा बढी प्राकृतिक भ्यु पोइन्टहरु छन्। यस हिसाबले दिनमा कमसेकम ३ लाख पर्यटक धान्न सक्ने पर्यटकीय सामाग्रीहरु छन् नेपालमा । यदि पर्यटकलाई हाम्रा रैथाने चिज पस्किएर आतिथ्यता दिनेहो भने विदेशी मुद्रा आर्जन बढ्ने र विदेशी खाद्यान्न आयातमा जाने मुद्रा बचत हुने हुन्छ । यो नै नेपालको सामाजिक, आर्थिक विकासको लागी ब्यबहारिक बाटो हो । 

र खुसीको कुरा, अचेल विदेश गएर फर्किएका युयाहरु, विभिन्न विधामा काम गरेर सामाजिक प्रतिष्ठा आर्जन गर्नुभएका प्रबुद्ध बर्गहरु, आफ्नो र आफ्नो परिवारको स्वस्थ्य जीवन प्रति जिम्मेवारी बोध गर्नुहुने अभिभाबकहरू .. यो अभियानमा क्रमश सरिक हुँदै आइरहनुभएको छ । उहाँहरुका सफल उदाहरणहरु बाट देशमा रैथाने बालि एबम पशुपंक्षीे संरक्षण र कृषि पर्या पर्यटन अझ बढ्दै जानेछ । यसबाट सरकारले पनि केहि सिक्न सके अझ धेरै राम्रो हुनेथियो ।

जय रैथाने कृषि, जय कृषि पर्यटन !!  

लेखक हसेरा एग्रिकल्चर रिसर्च एण्ड ट्रेनिंङ सेन्टरका संचालक हुन् 


          


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved