जेल जानुभन्दा राजिनामा उचित विकल्प ठानेर नेपाल पुनर्बीमाको अध्यक्ष छाडें : रविन्द्र घिमिरे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 12:19:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षबाट रविन्द्र घिमिरेले राजिनामा दिएका छन्। कानुनमा नै नभएको भुक्तानी गर्नलाई बाध्य गरीएपछि आफुले उक्त पदबाट राजिनामा दिएको घिमिरेले जनाएका छन्।

"कोरोना बीमाको बाँकी भुक्तानीका लागि पुनर्बिमा कम्पनीलाई पनि भुक्तानी गर्न भनिएको थियो" उनले भने, "कानुनअनुसार उक्त भुक्तानी दिन नमिल्ने भएको जानकारी गराउँदा पनि भुक्तानीका लागि दबाब आएपछि जेल जानु भन्दा राजिनामाको विकल्प रोजे।"

उनले अगाडी भने, "अहिले कुनै कानुनी आधार बीनानै मन्त्रीको दबाबमा भुक्तानी गर्दा भोलि कहीं कतै उजुरी पर्यो वा अख्तियारले तान्यो भने म जेल जानु पर्ने अवस्था हुन्छ। यत्ति कुरा पनि नबुझेझैँ गरेर भुक्तानीका लागि दबाब बढेपछि राजिनामा दिएको हो।"

कोरोना बीमाको भुक्तानी दिने सम्बन्धमा बीमा प्राधिकारण र नेपाल पुनर्बीमाबीच विवाद बढिरहेको समयमा अध्यक्ष घिमिरेको राजिनामा आएको हो। बीमा प्राधिकरणले कोरोना बीमा भुक्तानीका लागि २१ करोड ८१ लाख रुपैयाँ दिनलाई नेपाल पुनर्बिमा कम्पनीलाई निर्देशन दिएको थियो। 

तर कोरोना बीमा मापदण्ड २०७७ अनुसार  थप रकम तिर्नुपर्ने दायित्व सृजना नहुने भन्दै नेपाल पुनर्बिमा कम्पनीले प्राधिकरणलाई पत्र लेखेको थियो। प्राधिकरणले उक्त निर्णय नसच्याए कारबाही हुने चेतावनी दिएको थियो। तर घिमिरेले भने कानुनी रुपमा तिर्न नसकिने अडान राखेका थिए। 

घिमिरेले आइतबार मात्रै अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कानुनी कारणले भुक्तानी गर्न मिल्दै नमिल्ने बारे जानकारी गराएका थिए। त्यसपछि अर्थमन्त्री शर्माले मार्गप्रशस्त गरिदिनलाई भनेपछि आफुले राजिनामा दिएको घिमिरेले बिजपाटीलाई बताए।  

कोरोना बीमा मापदण्ड २०७७ अनुसार यस अगाडी कोरोना बीमा बापतको दायित्व भुक्तानी गरीएपनि अहीले कानुन विपरित गएर गलत अभियानको मतियार बन्न नसकिने निष्कर्षमा पुगेर राजिनामाको विकल्प रोजेको उनले स्पष्ट पारे। घिमिरेलाई १३ महिना अगाडी २०७८ कात्तिकमा अर्थमन्त्री जनार्दन शर्माले नै नेपाल पुनर्बीमाको अध्यक्षमा नियुक्त गरेका थिए।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved