कतारी राष्ट्रिय दिवसको आयामसँगै फिफा विश्वकपको समापनको संगम डिसेम्बर १८

मोहम्मद रमजान अली मियाँ

मोहम्मद रमजान अली मियाँ

Dec 18, 2022 | 11:50:23 AM मा प्रकाशित

laxmi  sunrise bank

क्षेत्रफलमा सानो भए पनि कतार विश्व मानचित्रमा विशिष्ट र प्रतिष्ठापूर्ण पहिचान बनाएको मुलुकका रुपमा परिणत भएको छ  । शान्ति र समृद्धिको सवालमा होस् वा फिफा विश्वकप २०२२ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरका कैयौं खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेर सिंगो खाडी क्षेत्रको शीर उँचो बनाउने सवालमा, संसारभरका लाखौं मानिसलाई रोजगारी दिएर मित्रराष्ट्रहरुको आर्थिक प्रगतिमा योगदान गर्ने सवालमा होस वा मानवीय सहायताका माध्यमबाट प्राकृतिक विपत्ति र महामारीको चपेटामा परेका विश्वभरका मानिसको चोटमा मलम लगाउने सन्दर्भमा, कतारको नाम सधैं अग्रपंक्तिमा आउने गरेको छ ।

क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति प्रवर्द्धन , शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पनि कतारको योगदान अतुलनीय रहँदै आएको तथ्य सिंगो विश्वलाई जानकारी  छ । इतिहासको कठिनतम समयलाई अवसरका रुपमा ग्रहण गरेर कतारले जुन प्रगति गर्यो त्यसबाट सिंगो विश्व चकित भएको छ । 

कतार दशकौंदेखि लाखौं नेपालीको कर्मभूमिको रुपमा रहिआएको छ । चार दशक भन्दा लामो कुटनैतिक सम्बन्धको इतिहास बोकेको र सरकारी स्तरमा अत्यन्तै सुमधुर सम्बन्ध रहेका नेपाल र कतारका जनताबीचको सम्बन्ध पनि उत्तिकै उदाहरणीय छ । नेपाल कतारका कैयौं उच्चस्तरीय भेटवार्ता र भ्रमण पनि हुँदै आएका छन जसले गर्दा नेपाल कतार सम्बन्धका आयाम वृद्धि हुने क्रम जारी रहेको छ । यद्यपि नेपाली जनता कतारी अमीर शैख तमीम बिन हमद अल थानीको नेपाल आगमनलाई लामो समय देखि पर्खिरहेको अवस्था रहेको  छ । नेपाल कतारी अमीरलाई सगरमाथाको भुमि र शान्तिको प्रतिक गौतम बुद्धको देशमा स्वागत गर्न वर्षौंदेखि पर्खिरहेको छ ।

कतारी रोजगारदाताको रोजाइमा नेपाली श्रमिक परेको र नेपाली श्रमिकले रोज्ने श्रम गन्तव्यको अग्रपंक्तिमा कतार रहेको तथ्यले यी दुई मुलुकबीच जनस्तरको सम्बन्ध र आपसी विश्वासको गहिराइ कति छ भन्ने पनि देखाउँछ । 

कतार आज विश्वका सम्पन्न मुलुकको सूचीमा शीर्षस्थानमा रहेको छ । कतारको समृद्धिमा नेपालीको योगदान ऐतिहासिक र अतुलनीय छ । यो तथ्य कतारी सरकार र जनताले राम्ररी बुझेका छन । फलस्वरुप कतारले सहयोग गर्ने मुलुकमा नेपाल सधैं अगाडि पर्ने गरेको छ । कतारी राजपरिवारका सदस्यको भ्रमण गन्तव्यमा नेपाल परेको तथ्यले पनि नेपालप्रति कतारको भावना अत्यन्तै सकारात्मक रहेको पुष्टि गर्छ । यही हाम्रो कर्मभूमि कतारले हरेक वर्ष १८ डिसेम्बरका दिन राष्ट्रिय दिवस मनाउने गरेको छ । 

कतारको इतिहासमा राष्ट्रिय दिवसको ठूलो महत्व छ । राष्ट्रिय दिवसलाई कतारमा संस्थापक दिवस पनि भनिन्छ । सन् १८७८ मा मुलुक एकीकरण भएको र शैख जासिम बिन मोहम्मद बिन थानीले बुबाको उत्तराधिकारीको रुपमा कतारी आदिवासीहरुको नेतृत्व सम्हालेको दिनको स्मरणमा कतारमा राष्ट्रिय दिवस मनाइन्छ । राष्ट्रिय दिवस कतारको मूल्य मान्यता तथा यहाँका जनताको बफादारी, ऐक्यबद्धता र गौरवको वार्षिक स्मरण पनि हो । यो विगतबाट प्रेरित, वर्तमानको उत्सव र समृद्ध सम्पदा एवं पहिचान जोगाउने आशाजनक भविष्यलाई हेर्ने दिन पनि हो । त्यसैले राष्ट्रिय दिवसका दिन यहाँ अनेकौं उल्लासपूर्ण गतिविधिहरु गरिन्छन् ।

यस दिन कतारीहरुले आफ्नो घर, कार्यालय, सवारीसाधन लगायतलाई राष्ट्रिय झन्डा र देशभक्तिको भाव प्रदर्शन गर्ने प्रतीकहरुले सजाउँछन् । कतारको झन्डालाई राष्ट्रिय परिचय र गौरवको अतुलनीय संयोजन मानिन्छ । यो कतारको वैभव र प्रतिष्ठाको प्रतीक पनि हो । 

कतार गौरवपूर्ण सम्पदाले परिपूर्ण छ । यो प्रत्यक नागरिकलाई सबल र संगठित राख्न सफल मुलुक हो । यस वर्षको राष्ट्रिय दिवस ‘हाम्रो एकता हाम्रो तागतको स्रोत’ थिममा मनाइँदैछ । यो नारा महामहिम अमीर शैख तमीम बिन हमद अल थानीले शुरा काउन्सिलको ५०औं सत्रको उदघाटन समारोहमा दिनुभएको मन्तव्यबाट लिइएको हो । 

यस वर्षको राष्ट्रिय दिवस समारोह बिगतमा भन्दा फरक ढंगले राजधानी दोहाबाट उत्तर पश्चिममा अवस्थित उम्म सलाल मुहम्मद इलाकाको दर्ब अल साईमा आयोजना हुँदैछ । १ लाख ५० हजार वर्गमिटरको समारोहस्थललाई सबै किसिमका सुविधाले सुसज्जित बनाइएको छ । राष्ट्रिय दिवसको अवसरमा २५ नोभेम्बरदेखि नै दर्ब अल साईमा कला र सम्पदाको प्रदर्शनी, सांस्कृतिक, खेलकुद र अन्य मनोरञ्जनात्मक गतिविधिहरु भइरहेका छन् । 

राष्ट्रिय दिवसमा कतारी नागरिकले संस्थापक शैख जासिम बिन मोहम्मद अल थानीप्रति अभिभावक, दाजु, नेता र इमामको रुपमा कृतज्ञता प्रकट गर्दछन । शैख जासिम धर्मपरायण, साहस, बलिदानीको भावना, विद्वता र 

लगनशीलताका लागि परिचित हुनुहुन्थ्यो । कतारका जनताले उहाँलाई कतार प्रायःद्विपलाई एकीकरण गर्न सक्ने तथा विश्वको यो भूभागले अनुभव गरेको सबैभन्दा अँध्यारो समयमा जनताको हितको ख्याल गर्न सक्ने सक्षम नेताको रुपमा मान्छन् । उहाँले काबिला युद्ध, समुद्री डकैती तथा लुटपाटको समयमा मुलुकलाई जोगाउनुभयो । 

त्यस ताकाका घटना र दस्तावेजहरुले प्रमाणित गरेअनुसार शैख जासिममा उच्च मानवीय मूल्यहरुको गहिरो बुझाइ तथा कतारी नागरिक मात्र नभएर सबै उत्पीडित र दुःखीलाई न्याय र सुरक्षा प्रदान गर्नुपर्छ भन्ने स्पष्ट भावना थियो । उहाँ युवावस्थादेखि नै अध्ययनशील र ज्ञानको दायरा फराकिलो पार्न सक्रिय हुनुभयो । उहाँले अध्ययनलाई प्रोत्साहन र जगेर्ना गर्नुपर्ने आधारभूत मूल्यको रुपमा लिनुभयो । अरब तथा इस्लामिक इतिहासले शैख जासिमलाई ज्यादै थोरै मानिसले मात्र सम्पन्न गर्न सकेको कामका लागि प्रशंसा गर्दै आएका छन । उहाँको समयमा दोहा अध्ययन र ज्ञानको प्रकाशस्तम्भ थियो । इस्लामिक जगतका वरिष्ठ विधिवेत्ता र न्यायाधीशहरु दोहा आउँथे । 

कतारी नागरिकले संस्थापकको स्मरण गर्दा मातृभूमिको मर्यादा र पवित्रताको संरक्षण गर्ने उहाँको उत्सुकता तथा मातृभूमिमाथि आक्रमण गर्न वा प्रभुत्व जमाउन खोज्ने जोसुकैप्रतिको उहाँको ठोस अडान सम्झन्छन् । इतिहासका कैयौं घटनाक्रममा शैख जासिम बुद्धिमान वार्ताकार र बहादुर योद्धा प्रमाणित हुनुभएको छ । 

शैख जासिमको शासनकाल सामाजिक, आर्थिक र जीवनका अन्य सबै पक्षहरुमा सुरक्षा, न्याय र समृद्धिले परिपूर्ण थियो । फलस्वरुप कतार सबैभन्दा ठूलो मोति निर्यातकमध्येको एक बन्न सफल भयो । १७ जुलाई १९१३ मा शैख जासिमको निधन भयो । उपलब्धिहरुले भरिएको जीवनपछि उहाँका छोरा शैख अब्दुल्लाह बिन जासिम अल थानी उहाँका उत्तराधिकारीको रुपमा कतारको शासक बन्नुभयो ।

समयको गतिसँगै कतारी नागरिकले पुर्खाको अनुशासनलाई पछ्याउँदै आधुनिकीकरण, विकास र समृद्धिको प्रक्रिया पूरा गर्न, आफ्नो गौरवशाली विगतलाई अझ समृद्ध बनाउँदै महामहिम शैख तमीम बिन हमद अल थानीको बुद्धिमत्तापूर्ण नेतृत्वमा मानवताको इतिहासमा उज्यालो पाना लेखिरहेका छन् ।

अरब जगतमा गर्विलो इतिहास बोकेको कतारलाई कर्मभूमि बनाएको नाताले यहाँको राष्ट्रिय दिवस हाम्रा लागि पनि महत्वपूर्ण पर्व हो । यो उत्सवमा सहभागी हुनु, रमाउनु र गौरवान्वित हुनु हाम्रो अहम् कर्तव्य हुन आउँछ । त्यसैले १८ डिसेम्बरका दिन आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी भई कर्मभूमि कतार र कतारी जनताप्रति कृतज्ञता ज्ञापन गर्न म नेपाली समुदायका सम्पूर्ण सदस्यमा विनम्र आग्रह गर्दछु । फेरि यस वर्ष कतारले आफ्नो राष्ट्रिय दिवसलाई आफू र आफ्नो देशका आप्रवासीहरु माझ खुशी साटेर मात्र मनाउँदैछैन।यस वर्षको खुशी सारा संसारलाई साक्षी राखेर सबै माझ सबैको साथमा मनाउँदैछ । फिफा विश्वकप फुटबल कतार २०२२ को समापनका साथ मनाइने उत्सवलाई कतारले आफ्नो राष्ट्रिय दिवस संग जोडेर विश्व भाइचारा र मानवता प्रतिको जिम्मेवारी  भातृत्व तथा आपसी एकतालाई जोडेर इतिहास रच्न गैरहेको छ । आज कतार एउटा पर्व होइन एकैसाथ दुई वटा पर्वको खुशीयाली मनाउन गैरहेको छ।

राष्ट्रिय दिवसअन्तर्गतका कार्यक्रम आयोजना भइरहेको उम्म सलाल मुहम्मदस्थित दर्ब अल साईको मुख्यालयमा तीनवटा प्रमुख सडकबाट सजिलै पुग्न सकिन्छ । यसबाहेक ओल्ड रैयान स्टेसनको ग्रिनलाइनबाट दोहा मेट्रोमा पनि त्यहाँ पुग्न सकिन्छ । समारोहस्थलमा ३५०० कारलाई पुग्ने प्रयाप्त पार्किङ छ । जहाँ प्रवेश गर्न र त्यहाँबाट निस्कन सातवटा मुख्य गेट र पाँचवटा सर्भिस गेट छन । दर्ब अल साईमा ३० वटा रेस्टुरेन्ट र क्याफे तथा ८० वटा स्टोरमार्फत विभिन्न परिकार र पेयको स्वाद लिन पाइन्छ । 

राष्ट्रिय दिवसका अवसरमा दर्ब अल साईमा साहित्यिक, बौद्धिक र कलासँग सम्बन्धित सेमिनार, प्रदर्शनी र प्रतियोगिता पनि भइरहेका छन् । त्यस्तै संग्रहालय, कला, स्थानीय खेल, कार्यशाला राष्ट्रिय दिवसका अंगका रुपमा छन् ।अन्ततः कतारले जहाँ अन्य सन्दर्भमा पृथक ढंगले फिफा विश्वकप कतार २०२२ को आयोजना र सफल सम्पन्न गरेको छ।त्यहीँ राष्ट्रिय दिवसको उल्लास र उत्सवलाई फिफा कतार २०२२ को समापन कार्यक्रम लाई यस सित जोडेर यस दिनको उत्सवलाई विश्वब्यापी बनाउन सफल भएको छ । जुन उत्साह खुशी र उलासका साथ अरब जगतको  कतारी भूमिका पहिलो पटक फिफा विश्वकप शुरु भएको थियोे त्यसैगरी सोही उत्साह उल्लास र खुशीका साथ सम्पन्न गराउन कतारले यसलाई राष्ट्रिय दिवस संग जोडेर विश्वजगतलाई फरक एवं पृथक संदेश प्रवाह गर्न सफल भएको छ।जसले गर्दा खुशी दोब्बर भएको छ।म आफ्नो व्यक्तिगत र कतारमा रहेको नेपाली समाजको तर्फबाट कतारका नायक मौसुफ शैख तमीम बिन हमद अल थानीको जुनाफमा कतार र कतारी जनताको समृद्धि समुन्नति तथा उत्तरोत्तर प्रगतिको शुभेच्छा ब्यक्त गर्दौ आजको यस ऐतिहासिक दिनको  शुभकामना अर्पण गर्न चाहन्छु ।

"हाम्रो एकता नै हाम्रो तागतको श्रोत हो" ।

( लेखक प्रोफेसर मोहम्मद रमजान अली मियाँ कतारको राष्ट्रिय मानव अधिकार आयोग संग आवद्ध रहि बिगत डेढ दशकबाट कतार नेपाल सम्बन्ध बारे कलम चलाउँदै आएका  छन् )

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved