'तत्काल कर्जाको ब्याज एकल अंकमा ल्याउन प्रचण्ड सरकार उत्तर कोरियाभन्दा पनि तानाशाही हुनुपर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2023 | 10:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

तानाशाहको अधिकतम खराब रुप प्रस्तुत गर्दा वा अन्य त्यस्तै प्रकृतिका घटनामा उत्तर कोरियालाई उदाहरण दिने गरिन्छ । त्यसैले अहिले तत्काल प्रचण्ड सरकारले कर्जाको ब्याज एकल अंकमा ल्याउन त्यस्तै खाले तानाशाहको अधिकतम खराब रुप पस्कनुपर्ने बैंकरहरु बताउँछन्।

बैंकको कस्ट अफ फण्ड अर्थात् बैंकको औषत लागतमा निश्चित प्रतिशतमा घाटा खान निर्देशन दिएर वा बैंकमा एक वा एक वर्षभन्दा बढी अवधिका लागि मुद्दती निक्षेपमा पैसा राख्नेको ब्याज ठाडै घटाइदिने हो भने कर्जाको ब्याज एकल अंकमा ल्याउन सम्भव भएको बैंकरहरुको भनाइ छ। 

एक कमर्सियल बैंकका सिईओका अनुसार कुनै बैंकको औषत लागत अर्थात कस्ट अफ फण्ड १२ प्रतिशत छ भने एकल अंकमा ब्याज ल्याउनलाई ३ प्रतिशतले ब्याज घटाउनुपर्छ। अर्थात बैंकले ३ प्रतिशत घाटा ठाउँको ठाउँ व्योहोर्नुपर्छ। कुनै बैंकले १२५ अर्ब लगानी गरेको छ भने उसको खुद ब्याज नोक्सानी ३ अर्ब ७५ करोड हुन्छ। यसमा अरु नोक्सानी जोड्ने हो भने ५ अर्ब नोक्सानी हुन आउँछ। 

ती सीइओ प्रश्न गर्छन्, 'सिधै हस्तक्षेप गरेर भएको नोक्सानीको भारी बैंकलाई बोकाउने हो भने जानीजानी घाटामा जाने बैंकमा पैसा कसले राख्छ, के अमेरिकाको सिलिकन भ्याली जस्तै अवस्था ल्याउने हिम्मत गर्न सक्छ प्रचण्ड सरकार ?'

उनी थप्छन्, '१८ लाख ऋणीलाई खुसी राख्न १८ लाख ऋणीलाई पैसा जुटाइदिने झन्डै ३ करोड बचतकर्ताको ब्याज उनीहरुसँग गरिएको सम्झौता विपरित हुनेगरी ठाडै हस्तक्षेप गर्ने हो भने पनि निक्षेपको लागत घटाएर, बैंकको पैसाको लागत घटाएर मात्र कर्जाको ब्याज एकल अंकमा झार्न सकिन्छ, तर यसका लागि प्रचण्ड सरकार तयार छ ?'

उनकाअनुसार आफ्नै लयमा बैंकिङ प्रणाली अगाडि बढेर माग र आपूर्तिले नै कर्जाको ब्याज निर्धारण भएर एउटा समयमा कर्जाको ब्याज एकल अंकमा आउनेछ तर तत्काल यो कुनै पनि उपायबाट सम्भव छैन। यत्ती कुरा ४,५ जना चार्टड एकाउन्टेन्ट राखेर व्यवसाय गर्ने उद्योगी व्यवसायी तथा अर्थविद र ठूला विद्वान राखेर सरकार सञ्चालन गर्ने प्रचण्ड सरकारलाई थाहा नहुने कुरै छैन।

थाहा हुँदाहुँदै पनि आफूकहाँ समाधानका लागि आइपुग्नेलाई बैंकप्रति नै समाजको धारणा नकारात्मक बढ्नेगरी बैंकले ब्याज बढाए भनेर बैंकलाई खराब देखाउने राजनीतिले अन्ततः नेपाली समाजलाई नै गलत दिशामा लैजाने उनको दावी छ। उनी भन्छन्, 'अहिले आफू राम्रो बन्नलाई अरुलाई नराम्रो देखाउने प्रवृत्तिले भोलि आफैंलाई पनि छुनेछ भन्ने हेक्का सस्तो राजनीति गर्ने नेता र व्यवसायीले बुझ्नुपर्छ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved