झुपडीदेखि स्टार होटलसम्म पुग्छ कोदोका परिकार तर संरक्षण र प्रवद्र्धनमा छैन ध्यान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2023 | 02:23:32 PM मा प्रकाशित

laxmi  sunrise bank

राम कार्की

कोदो नेपालको रैथाने बाली हो, तर यो बालीले नेपाली माझ पर्याप्त महत्व पाउन सकेको छैन । यहाँ कोदोलाई चिन्ने र बुझ्ने शैली पुरातन रहँदैआएको छ । किसान स्वयम्ले कोदो बालीलाई धान, मकै, गहुँ, जौ आदि भन्दा तल राखेर निम्छरो बालीका रुपमा लिने गर्दछन् । 

घरेलु रक्सी, जाँड, छ्याङ, तोम्बाजस्ता मदिराजन्य पदार्थ बनाउन, भोजनका लागि ढिँडो, अर्नी (खाजा)का रुपमा रोटी तथा वस्तुभाउलाई कुँडो, दानाका लागि कोदो प्रयोग गर्ने रुपमा मात्र लिएर कोदोको बहुगुण, लाभ र महत्वको शङ्कुचन गरिँदैआइएको छ । 

गाउँघरमा कोदोको ढिँडो, रोटी खानु वा प्रयोगलाई सामाजिक प्रतिष्ठासँग दाँजेर हेर्ने गरिएको पनि पाइएको छ । एकथरी मान्छेको मनमस्तिष्कमा कोदोे न्यून आयस्तर भएका तथा गरिबको खाना हो भन्ने जस्तो बुझाइले जरा गाडेको पाइन्थ्यो । 

यस्तो मनोविज्ञानको जवर्जस्त प्रभाव परेका एकथरी किसानले कोदोको खेतीपाती गर्न पटक्कै रुची नराख्नु, कतिपय मानिस आप्mनो थातथलो छोडेर शहर वजार, तराईतर्पm बसाँइ सर्नु, युवाशक्ति विदेश पलायन हुनु, कोदोको बढ्दो गुण र माग बारे यथार्थ जानकारीको अभावआदि कारणले विगतमा कोदो खेती गर्ने खेतबारी यतिबेला बाँझा छन् । जमिन बाँझै रहेकाले कोदोको खेतीपातीमा स्वभाविक रुपमा कमी आएकोछ । परिणामस्वरुप कृषि प्रधान देश नेपाल कोदोमा परनिर्भर हुनु परेको छ र विदेशवाट आयात गर्नुपर्ने उदेकलाग्दो अवस्थाबाट मुलुक गुज्रिरहेको छ । 

अन्तर्राष्ट्रियरुपमा कोदो उत्पादनको अवस्थालाई अध्ययन गर्दा भारत पहिलो नम्बरमा छ भने नेपाल १३ आँै स्थानमा । नेपालमा कोदो खेतीको गत दश वर्षको तथ्याङ्क हेर्दा यसको खेती क्रमशः घटदै गएको पाइन्छ । आर्थिक वर्ष २०६८÷६९ मा २ लाख ७८ हजार ३० हेक्टर, २०६९÷७० मा २ लाख ७४ हजार ३५० हेक्टर, २०७०÷७१ मा २ लाख ७१ हजार १८३ हेक्टर हुँदै आव २०७७÷७८ सम्म आइपुग्दा २ लाख ६५ हजार ४०१ ह्ेक्टर जग्गामा कोदो खेती गरेको देखिन्छ ।

यसरी प्रत्येक वर्ष कोदो खेती घट्दै गएको छ । उल्टो कोदो आयात गरेर बेचविखन गर्ने बिक्री केन्द्र सञ्चालन हुन थालेको र हालसम्म आधा दर्जन ति त्यस्ता बिक्री केन्द्रले विदेशबाट आयात गरेको कोदो प्याकेजिङ गरी आपूर्ति गर्ने काम गरिरहेका छन् । बजार, उपभोक्ता माझमा कोदोको माग बढनु, तर स्वदेशमा यसको उत्पादन माग बमोजिम पर्याप्त नभएकाले विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ, जसले गर्दा कोदोको आयात प्रत्येक वर्ष वृद्धि भइरहेको तथ्याङ्कबाट देखिएको छ । 

कोदो खाद्य पदार्थ मात्र नभएर पौष्टिक तत्वले भरिपूर्ण अनाज हो, यसमा कार्बोहाइड्रेड, फस्फोरस, क्याल्सियम्, भिटामिन वी, फाइबर, प्रोटिनआदि तत्व रहेको हुन्छ भन्ने विज्ञहरुको भनाइ छ । कोदोको परिकारका भोजनले मानव शरीरका लागि शक्ति एवं उर्जाको स्रोतका रुपमा काम गर्ने, कोलस्टोर घटाएर मुटु रोगको जोखिम कम गर्ने, तौल नियन्त्रण गर्न सघाउ पुर्याउने जस्ता लाभसमेत पाइने दावी यस क्षेत्रसँग सम्बद्ध मानिसहरुको छ । त्यसैले कोदो भोकको आहार मात्र नभएर मानव शरीरको शक्तिको स्रोत हो भन्ने बुझाई उपभोक्ता समक्ष संप्रेषण गर्नु जरुरी छ ।   

कोदो परम्परागत खाद्य संस्कारवाट परिस्कृत भइरहेको छ । पहिले रोटी, ढिँडो जस्ता परिकारमा सीमित थिए । अहिले कोदोको हलुवा, डोसा, निमकिन, विस्कुट, प्यानकेक, दुनोट, पाउरोटी, कुकिज, मःमआदि परिकार पारखी माझ पस्किन थालिएको छ । 

एउटै वस्तुका विविध परिकार एवं स्वादको उपलब्धताले गर्दा कोदोप्रति उपभोक्ताको चाख बढ्दै गएको छ । राजमार्गका रेष्टुराँदेखि साना–ठूला होटलमा कोदोका परिकारका स्वाद चाख्न पाइन्छ । कोदो भन्ने वित्तिकै गरिब वा निम्न आय भएका कृषकको खान्की, खेतालाको अर्नी (खाजा ), गाईवस्तुको कूँडो भनेर बुझ्ने पुरातन सोचमा सकारात्मक परिवर्तन आएको छ । 

किसानको झुपडीमा पाक्ने कोदोका परिकारले अहिले महल हुँदै रेष्टुराँ, तारे होटलका मेनुमा समेत स्थान पाएका छन् । कुनैबेला जाँड, छ्याङ, घरेलु मदिराको पर्यावाचीका रुपमा परिचित कोदोबाट विकसित देशमा ब्रान्डेट मदिरा उत्पादन हुन थालेको छ । साँच्चै नै धनी–गरीव, बालकदेखि वृद्धसम्म कोदोको परिकारका पारखी बढेकाछन् आजभोलि । 

यसैबीच संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रुपमा मनाउने घोषणा गरेअनुरुप कोदो उत्पादक अन्य राष्ट्रहरुले झै नेपालले पनि “खाद्य, पोषण सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणका लागि कोदोजन्य बाली” नाराका साथ कोदोजन्य बाली वर्ष मनाइरहेको छ ।

विश्वमा उत्पन्न विविध समस्याका कारण पैदा हुन थालेको खाद्य तथा पोषण सुरक्षाको चुनौतीका अघि कोदोजन्य बाली वर्ष मनाउने सन्दर्भ आशाको किरण बोकेर आएको छ । विश्वका विभिन्न राष्ट्र्रले खाद्य संकट, कुपोषण जस्ता समस्याको  प्रक्षेपण र समस्याको सामना गर्ने तयारीका पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेर रैथाने बाली संरक्षण, उत्पादन र उत्पादकत्व वृद्धिका लागि सन्देश दिएको छ । 

अन्तर्राष्ट्रिय तहको यो प्रतिबद्धतालाई आत्मसात गरी आ–आप्mनो क्षेत्रमा व्यवहारिक उपयोगमा लाग्नुपर्ने कर्तव्य सरकार, उत्पादक, उपभोक्ता तथा सरोकारवाला सबैको हो । युएनको उपर्युक्त कदमले आम–जनमानसलाई कोदोको खाद्य महत्व, पौष्टिक गुण, उपभोगका पक्षमा जागृत गर्दैे कोदोजन्य बालीको उत्पादन र उद्यमशीलता वृद्धिमा टेवा पुर्याउनेछ । 

नेपालले कोदो भारतबाटै आयात गरेर आप्mनो उपभोक्ताको माग पूरा गरिरहेको अवस्था हो । आगामी दिनमा यो परिस्थितिमा सकारात्मक परिवर्तन गर्ने संकल्पको आवश्यकता छ । यो भन्नुको अर्थ कोदो उत्पादन, उपभोग, बजारीकरणसँग जोडिएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय क्षेत्रका नविन सोच, अनुभववाट शिक्षा लिएर सर्वप्रथम आत्मनिर्भर वन्ने र अन्ततोगत्वा निर्यात गर्ने हैसियतमा मुलुकलाई पुर्याउने अठोट लिने समय हो यतिखेर । कोदो समशितोष्ण हावापानी, पानी नजम्ने वलौटे दोमट माटोमा हुने र सुख्खा सहन सक्ने क्षमता भएको वाली भएकोले हिमाल, पहाड र तराई तीनै क्षेत्रका हावापानी, माटोमा कोदोको खेती राम्रो हुन्छ । 

नेपालमा जहाँको माटोमा कोदोको व्यवसायिक खेती फस्टाउने सम्भावना प्रचुर छ । तसर्थ, सरकारले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षलाई औपचारिकतामा सीमित राख्नु हुँदैन ।  कोदोजन्य बालीको संरक्षण, प्रवद्र्धन र व्यवसायिकरण गर्न तीनै तहका सरकारवाट तर्जुमा भएका कृषि नीति, योजना र कार्यक्रमको समुचित कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्दछ । वाग्लुङ जिल्लाको ढोरपाटन नपाले कोदो उत्पादक किसानलाई प्रोत्साहन पुरस्कारको व्यवस्था, गोरखा जिल्लाको शहिद लखनथापा गापाले कोदो र तिते फापर प्रवद्र्धन कार्यक्रम, लम्जुङ जिल्लाको राइनास नपाले किसानलाई उत्पादनका आधारमा २५ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेर कोदोको प्रवद्र्धन गर्दै आएको छ । 

यस्तै मकवानपुर जिल्लाको मकवानपुरगढी गापाले आप्mनो पालिका भित्रका विद्यालयका विद्यार्थीहरुलाई हप्ताको एक दिन कोदो र फापरका परिकारका दिवा खाजा खुवाउने निर्णय र परिकार बनाउन तालिमको व्यवस्थालगायतका रैथाने बालीको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय तहका सरकारवाट भएका सकारात्मक पहलकदमीलाई अन्य सरोकारवालाहरुले अनुशरण गर्दा कोदो बालीको संरक्षण तथा प्रवद्र्धनमा थप टेवा पुग्ने देखिन्छ ।  

कोदोको खाद्य तथा पौष्टिक अनाजका रुपमा रहेको महत्व बारे किसानमा सचेतना ल्याउन जागरण अभियान सञ्चालन, बाँझा खेतबारीमा कोदोजन्य बालीको खेती गर्न उत्प्रेरित गर्दै कृषकलाई उत्प्रेरणा जगाउन उत्पादन अनुरुप प्रोत्साहन पुरस्कार (अनुदान होइन) को व्यवस्था, उन्नत बीउ, मलको समयमै उपलब्धता, खेतबारीमै प्राविधिक सहयोग, नविन प्रविधिसँग कनेक्टीभिटी, युवा जनशक्ति कृषिमा रमाउने वातावरण अर्थात कृषिलाई बारीदेखि उद्योग, उद्यमशीलतामा जोड्ने ठोस योजना र कार्यक्रमसहितको पहलकदमी कृषिको व्यवसायिकरण र उत्पादन वृद्धिका लागि अनिवार्य शर्त हुन् ।

तीनै तहका सरकारको समयमै ध्यान केन्द्रित होस, तबमात्र संयुक्त राष्ट्रसंघले आब्हान गरेको अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष औपचारिकता मात्र सीमित नरहेर कोदोको व्यवसायिकरणका लागि कोशेढुंगा सावित हुनसक्दछ । सुम्पर्ण किसान दाजुभाइलाई शुभकामना । जय किसान । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved