'केही वर्षभित्रै १०० खर्बको बजेट बनाउनु पर्ने हुन्छ, रक्तचन्दन खेती गरे २०० खर्ब आम्दानी हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 08:31:50 AM मा प्रकाशित

laxmi  sunrise bank

शेरबहादुर तामाङ 

हाम्रो देशको बजेट बन्दा धेरै वर्ष पहिलेदेखी कूल बजेटको ३० देखि ४० प्रतिशत आम्दानी वैदेशिक र आन्तरिक ऋण अनुमान गरेर बन्ने गरेको छ । वैदेशिक अनुदान समेतको हिसाब गर्दा यो प्रतिशत अझ बढ्ने गरेको छ । अहिले हाम्रो देशको ऋण २० खरब भन्दा बढी भैसकेको छ । ऋण लिएर चलाउँछु, खर्च गर्छु भन्नू नै गलत कुरा हो । ऋण त लगानी गर्ने हो र आम्दानी गरेर तिर्ने हो । यति सामान्य हिसाब त सबैलाई थाहा छ । सरकारले लिने ऋण पनि लगानी गर्ने हो र त्यसबाट आम्दानी गर्ने हो । के त्यसो भए सरकारले लिएको ऋण लगानी भएको छ त ? 

सरकारको आन्तरिक राजस्व आम्दानीले साधारण खर्च पनि धान्न सकेन भन्ने धेरै समाचारहरु हामीले सुन्ने गरेका छौं । यसको अर्थ हाम्रो आम्दानीले तलब भत्तालाई धान्न सक्दैन । यसको मतलब तलब भत्ताको लागि नै ऋण लिन्छौं । वैदेशिक ऋण परियोजना बेसमै आउने हुँदा यो पैसा तलब भत्तामा खर्च गर्ने मिलेन तर आन्तरिक ऋण भनेर राखिएको बजेटको शिर्षक लगानीको लागि होईन यो त नपुग साधारण खर्चको लागि हो ।

यसै आर्थिक वर्षको अन्तिम चौमासिकमा हामी छौं । कुल ८ खर्ब २१ अर्ब तलब भत्ता खुवाएर केबल १ खर्ब ३५ अर्बमात्र पूँजीगत खर्च भयो । यो पूँजीगत खर्चमा पनि कमिसन र आर्थिक अनियमितताले गर्दा वास्तविक कार्यान्वयन ४० प्रतिशत भन्दा बढी हुन सक्दैन । 

नीति तथा कार्यक्रम र बजेट ल्याउने पुरानो परम्परा सर्वभौम संसदले कमा फुलिष्टप समेत संशोधन गर्न नमिल्ने यो परम्परा त त्याग्नु नै पर्छ । संसद कुरा राख्न मात्र हो त ? त्यसको समेत कुनै सुनुवाई हुँदैन भने संसद किन र यसमा हुने खर्च किन ? संसदभित्र माननीय सदस्यहरुले राख्ने विषयवस्तुहरुलाई गम्भीरता पूर्वक लिने र सांसदहरुका उचित सुझावहरुलाई ग्रहण गर्ने मान्यता स्थापित गर्नै पर्छ । माननीय सदस्यहरुले पनि तथ्य प्रमाणविनाका हल्क फुल्क टिप्पणी गर्ने कुरा त्यागेर तथ्य प्रमाण सहित गम्भीरता पूर्वक जिम्मेवार ढंगले कुरा राख्नु पर्दछ ।

यस आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा साँसदहरु विषय केन्द्रीत भएको पट्क्कै देखिएन ।अब बजेटको छलफल पनि त्यस्तै हुने देखिन्छ । 

अब बजेटमा सुधार गर्ने हो भने यो वर्षको बजेट २०८० चैत्र मसान्तसम्मको मात्र ल्याएर आगामी वर्षदेखी बजेट बैशाख १ गते ल्याउने ब्यबस्था गरौं । यसो गर्दा पूँजीगत खर्चको ईफिसियन्सी ४० प्रतिशत बढाउन सकिन्छ । पैसा विनाको कार्यान्वयन नहुने बजेट शिर्षक कटौती गरौं । हाम्रो देशको बजेट अब स्यचुरेसनमा छ । अबको दस वर्षसम्म पनि हामी हराहारी २० देखि २५ खर्बभन्दा बढीको बजेट बनाउन सक्दैनौं । 

तर देशको तिब्रतम आर्थिक बिकासको लागि अबको केही वर्षभित्रै १०० खर्बको बजेट बनाउनु पर्ने हुन्छ । जसको लागि निम्न कामहरु तत्काल थाल्न अहिलेकै बजेटले सम्बोधन गर्नुपर्ने हुन्छ ।

१. ५० हजार मे वा विद्युत उत्पादन, भारत र बंलादेशमा बिक्री । खर्बौंको आम्दानी । नेपाली जनतालाई सतप्रतिशत नि:शुल्क बिद्युत ।

२. गाँजाको खेती वैधानिकता (सबै किसानलाई गाँजा खेतिको लाईसेन्स, पछाडी परेका वर्ग समुदायलाई प्राथमिकता) । हरेक वर्ष २० देखि ४० खर्ब आम्दानी 

३. कोदोको रक्सीको ब्राण्डिङ्ग तथा अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ । आम्दानी हरेक वर्ष २० खर्ब (रक्सीको कट खुवाएर कालो बंगुरको पालन, चीनसंग ब्यपार १० खर्ब आम्दानी समेत) ।

४. रक्तचन्दनको खेती  : १ लाख हेक्टरमा ५ करोड रक्तचन्दन लगाउने । १० वर्ष पछीदेखी आम्दानी वर्षको २०० खर्ब ।

५. चिउरी शुत्र : १ लाख हेक्टरमा २ करोड बोट लगाउने । ७ वर्षदेखी आम्दानी । वार्षिक ५ देखि १० खर्बको आम्दानी ।

६. फ्रुट फरेस्ट : सबै सरकारी, निजि तथा सामुदायिक वनहरुमा फलफुलका बिरुवा लगाउने ३ वर्षदेखी उत्पादन । फलफुलमा आत्मनिर्भरता । आम्दानी खर्बौं ।

७. कस्तुरी पालन : हिमालका राष्ट्रिय निकुन्जको बफर जोनमा कस्तुरी पालन । आम्दानी अर्बौं ।

८. हिमाली पर्यटन मार्ग : 

९. माउण्टेन फ्लाईट : नेपाल प्रबेश गरेका पर्यटकले १० दिन नेपालमा बिताएपछी मात्र पाउने ।

१०. पशुपती र लुम्बिनी दर्शन : नेपाल आउने धार्मिक पर्यटकले अन्य तिर्थस्थलहरुको दर्शन गरेपछी ५ दिनपछी मात्र दर्शन गर्न पाउने । अन्य तिर्थस्थलको सरकारले घोषणा गर्ने ।

यी सबै कार्यक्रम कार्यान्वयन गर्ने कतिपयको लागि बजेट नै चाहिंदैन । कतिपयको आम्दानी भन्दा लगानी अत्यन्त न्यून हुनेछ । मुलुकको आर्थिक विकास र पूर्वधारको विकासको लागि अब हामीले यसो गर्नु जरुरी छ । यी कार्यक्रमहरु आजकै मितिदेखी शुरु गर्‍यौं भने अबको ३ वर्ष पछीदेखि सम्भवतः कोहीपनी नेपालीहरु बिदेशमा श्रमको लागि जानू नै पर्दैन । बरु हामी नेपालीहरु मालिक भएर विदेशका नागरिकहरुलाई कामदारको रुपमा नेपाल भित्र्याउन सक्छौं ।

यो कुरा गरिरहँदा कतिपयलाई यो हाईपोथेसिस जस्तो मात्र लाग्न सक्छ । तर देश निर्माण गर्नेहो भने अब बिउँझिनु नै पर्छ । ढिला नगरौं । बिगार्न एक जना पनि काफी छ, तर बनाउन सबै उत्तिकै जिम्मेवार भएर लाग्नु पर्ने हुन्छ । तसर्थ सबै उठौं र लागौं ।

शेरबहादुर तामाङ पूर्व मन्त्री हुन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved