पूँजीबजार र रियलस्टेटमा देखिएको निराशा आशामा बदलिन जरुरी : बैंकर मनोज ज्ञवालीको विचार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2024 | 10:18:20 AM मा प्रकाशित

बैंकर तथा नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले पूँजीबजार र रियलस्टेटमा देखिएको निराशा आशामा बदलिन जरुरी रहेको बताएका छन् ।

उनले मंगलबार सरकारले सार्वजनिक गरेको आगामी आव २०८१/८२ का लागि सार्वजनिक गरेको बजेट सन्दर्भमा सामाजिक सञ्जालमार्फत् यस्तो विचार व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, सरकारले आव २०८१/८२ का लागि  १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ। ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालू र ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पूँजीगत खर्चको विनियोजन गरिएको छ। ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको छ। १९.७३ प्रतिशत पूँजीगत खर्चमा  गत वर्षभन्दा केही अंश थपेर आएको छ।

सम्भावनाका नयाँ क्षेत्र पहिचान गरेको छ। आयमा चाप परेको थाहा हुँदै गर्दा पनि गत वर्ष जस्तो अनापसनाप हिसाबले जसरी कर उठाउनु पर्छ भन्ने आशयबाट बजेट आएको छैन । निर्यातलाई प्रबर्द्धन गर्न करमा सहजता प्रदान गर्न खोजेको छ। स्टार्टअपलाई प्रोत्साहित गर्ने सोच राखेको छ। नयाँ क्षेत्रको पहिचानसम्म भए पनि शुरुवात भएको छ।

आयमा यस्तो दबाव हुदै गर्दा पनि निजी क्षेत्रलाई प्रोत्साहित गर्ने प्राथमिकताका साथ बजेट पेश हुनु सकारात्मक छ। कसैलाई गज्जब नहुँदा पनि बजेट पेश हुँदै गर्दा कुनै क्षेत्र हतोत्साहित र निराश भएको छैन। आर्थिक विधेयकको भित्र यताउती गरिएको र दुई अर्थ लाग्ने कुरा छैनन् भन्ने अपेक्षा छ।

चालू आवको १०.५ महिनासम्म कुल श्रोत संकलन ९ खर्ब रुपैयाँ पुगेको छैन र आजको अवस्था त्यति आशालाग्दो छैन । यसरी हेर्दा यो अंकको दुई गुणा बढिको लक्ष्य धेरै महत्वाकांक्षी देखिन्छ ।

बजेटको आय लक्ष्य पुरा हुनका लागि बैकिंङमा रहेको तरलता विस्तारै बजारमा जान, उद्यमीहरुमा उत्साह थपिन र उनीहरुको व्यक्तिगत तथा लगानीको सुरक्षा राज्यसत्ताले लिन्छ भन्ने विश्वास दिलाउन, पूँजीबजार र रियलस्टेटमा निरन्तर छाएको निराशा अब आशामा बदलिन जरुरी छ। 

यी कुराहरुको हेक्का राज्यका सम्बन्धित निकायहरुले निरन्तर राख्न जरुरी छ, ताकी यो बजेट गत वर्षको बजेट जस्तै शंसोधित हुँदा पनि अंकमा मात्र सीमित नहोस ।

‘आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष’ अर्थमन्त्रीले भनेजस्तै हुन सकोस, सबैलाई शुभकामना !!

जय होस, शुभ होस!!

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved