‘मुंगेरीलाल के हसिन सपने’ होइन शेयर बजार (नीरव पुडासैनीको विचार)

नीरव पुडासैनी

नीरव पुडासैनी

Jun 19, 2024 | 02:04:22 PM मा प्रकाशित

laxmi sunrise bank

आर्थिक सूचकांकहरु आशातित सुधारको पथतर्फ लाग्न नसकेको वर्तमान परिप्रेक्ष्यमा मुलुकको अर्थतन्त्रको ऐना धितोपत्र बजारमा चमत्कारी सुधारको अपेक्षा राख्नु दिवा सपना मात्र हुनेछ ।

शोधनान्तर अवस्था दिन प्रतिदिन घाटामा गइरहेको छ । लगानी नभएका कारण पर्याप्त तरलताले बैंकहरु पिल्सिरहेका छन् । उपभोक्ता मूल्य सूचकांक बढिरहेको छ। यस्तो अवस्थामा अंकहरुको मात्र प्रगतिको आश गर्नु ‘मुंगेरीलाल के हसिन सपने’ सरह मात्र हुनेछ ।तर यसको अर्थ सपना नदेखौं, आशा नगरौं भन्न खोजेको चाहिं होइन । सपना देखौं, आशा गरौं तर वस्तुपरक भएर । तसर्थ नेपालको शेयर बजारमा धितोत्रप खरिद गर्दा सधैं तीन वटा पक्षलाई हेक्का राख्न जरुरि छ ।

पहिलो : कुन कम्पनीको शेयर किन्ने रु उक्त कम्पनीको हालको अवस्था, त्यसको वासलात, सरकारी निर्णयले त्यसलाई पार्न सक्ने असर आदी ।

दोस्रो : कति शेयर किन्ने रु आफ्नो जोखिम बहन क्षमताको आकलन गरेर मात्र शेयर किन्नु पर्दछ । ऋणमा या मार्जिन सुविधामा शेयर किन्ने हो भने कति समयसम्म उक्त शेयर पाल्न सकिन्छ त्यसको पूर्वानुमान गर्नु पर्दछ।

तेस्रो : कुन मूल्यमा शेयर किन्ने त्यो स्वयं आफूले निर्णय गर्नुपर्छ । उदाहरणका लागि अहिलेको अवस्थामा यदि आजको मूल्यमा थप शेयर किन्ने हो भने पहिला किनेको मूल्यभन्दा ३५/४५ प्रतिशत हाराहारीमै छ भने खरिद गर्नु उत्तम हुन्छ । त्यस्तै पुराना शेयर छैनन् भने त्यो अवस्था निकै राम्रो हुन्छ। तसर्थ मूल्यको चयन स्वयं लगानीकर्ताले गर्नु उत्तम हुन्छ ।

अहिलेको विद्यमान अवस्थामा कारोबारभन्दा पनि लगानीमा जोड दिएर शेयर खरिद गर्नु राम्रो देखिन्छ । तथापि यसले केहि समयसम्म धैर्य भने गर्नै पर्दछ । सायद यहि भएर संस्थागत लगानीकर्ताहरु थप शेयर खरिदको विषयमा उदार हुन सकिरहेका छैनन्। जसरी अहिलेको अवस्थामा संस्थागत लगानीकर्ताहरु कुल पूँजीको केहि हिस्सा मात्र बजारमा लगानी गरिरहेका छन् । आम लगानीकर्ताले पनि त्यसै गर्नुको विकल्प छैन।

अर्थतन्त्रको शोधनान्तर अवस्थामा सुधार तथा तरलता लगानी उन्मुख भएपछि अर्थबजारले पुनः गति लिन थाल्छ। जसका संकेतहरु भावी दिनमा पक्कै देखिनेछ । तसर्थ अर्थतन्त्रलाई ध्यानमा राखेर आफ्नो कारोबार रणनीति परिवर्तन गर्नु उपयुक्त हुन्छ।

कारोबार रणनीति परिवर्तन गरिरहन सक्नु नै सफल लगानीकर्ताको विशेषता हो ।हुन पनि संस्थागत वा ठूला लगानीकर्ताहरु र साना लगानीकर्ता बीचको फरक यहि हो । तर अहिलेको बजारमा कारोबारको हिसाबले यसपटक ठूला लगानीकर्ताहरु (संस्थागत बाहेक) पनि थलिएको भान हुन्छ ।

सायद उनीहरुको अनुमान विपरित बजार अगाडि बढेको छ वा उनीहरुले राफसाफ मूल्यमा बजार प्रवेश गर्न चाहेका छैनन यात राफसाफ गरिसकेर पनि थप शेयर किन्न हिचकिचाइरहेका छन् । तर जे भएपनि अर्थतन्त्रमा सुधारका संकेत आएसँगै ठूला तथा संस्थागत लगानीकर्ताहरुको प्रवेश पक्कै हुनेछ । योसँगै बजारले पुनः लय लिनेछ ।तथापि त्यो संकेत घरेलु अर्थतन्त्र र वैश्विक दुवै आधारमा तत्कालको लागि देखिएको अवस्था भने छैन ।

अंकहरुको खेलमा नआत्तिऔं

विगत केहि दशक बीचको उतारचढाव हेर्ने हो भने धितोपत्र बजारमा आशाका किरणहरु धेरै देखिन्छन् । नेप्से परिसूचक ५४५ बाट १८६ हुँदै क्रमशः २१८ र १ हजार ८८८ को सर्वाधिक उच्च विन्दु हुँदै अहिलेसम्मको अंकमा बजार आउनु वा चलायमान हुनु बजारको सुन्दर पक्ष हो ।

तसर्थ यस्ता अंकहरुको खेलमा कहिल्यै पनि आत्तिनु हुँदैन। यसबीचमा बजारमा धेरै उतारचढावहरु भए । तर चलाख लगानीकर्ताले यहि उतारचढावको सुन्दर पक्षलाई नगदमा रुपान्तरण गर्न पहिलो प्रयास गर्नुपर्छ । तर हेक्का रहोस् यस्तो अवस्थामा आफ्नो राफसाफ मूल्यको सहि पहिचान गर्न सक्नुपर्छ । अन्यथा, बजारमा फस्ने सम्भाबना हुन्छ ।

हालको स्थितिको सुक्ष्म अध्ययन गर्ने हो भने, धेरैभन्दा धेरै शेयर लगानीकर्ताहरु उचित समयमा उचित मूल्यमा राफसाफ गर्न नसकेका कारण बजारमा फसेको देखिन्छन् । तर यो सबै लोभको कारण हो ।

शेयर बजारमा यस्तो लोभ हुनु वा आउनु स्वभाविक पनि हो । शेयर बजारमा एउटा भनाई छ : ‘एउटाको लोभ अर्काको कमाईको आधार हो ।’ साँढे (बुल) ले पैसा कमाउँछ, भालु (बियर) ले पैसा कमाउँछ, सुँगुर (पिग) चाहिं मारिन्छ । त्यसका कारण अधिक लोभका कारण खति हुन्छ ।

सायद वर्तमान अवस्थामा आम लगानीकर्ताहरुसँगै ठूला लगानीकर्ताहरु अधिक लोभका कारण फसेका त होइनन ? तसर्थ सुँगुर होइन साँढे र भालु हुने प्रयास गर्नेतर्फ ध्यान दिऔं । छोटो समयमा अधिक मुनाफाको आशा नगरौं, सुँगुर भएर मारिने चेष्टा पनि नगरौं ।

लगानीको सुरक्षा कसैले गर्दा पनि गरिदिदैनन्, स्वयम् आफैंले गर्नुपर्छ । त्यसैले त भन्ने गरिन्छ, शेयर बजार निर्मम हुन्छ । यसले कसैलाई दयामाया गर्दैन ।यसर्थ तपाईको लगानीको सुरक्षा कसैले गरिदिंदैनन्, स्वयम् आफैंले गर्नुपर्छ । अरुको भरमा शेयर बजारमा लगानी गर्ने होइन । धितोपत्र बजारको गतिविधि बुझ्न प्राविधिक र आधारभूत विश्लेषणहरु जान्न अति आवश्यक छ ।

यदि कसैले अंकको आधारमा बजारको सूचकांक निश्चित अंकमा आउने दाबी गर्छ भने त्यसको आधारमा गरिने लगानीको जिम्मेवारी स्वयं आफैंले लिनुपर्छ । शेयर बजारमा लगानी गरिसकेपछि मनोवैज्ञानिक रुपमा घाटाको सहन पनि सक्नु पर्दछ । त्यसैले त भन्ने गरिन्छ एउटाको घाटा नै अर्काको लागि नाफा हो ।

अर्थतन्त्रको संकूचन मात्र होइन, लगानीकर्ताको मनोविज्ञान तथा लोभको कारण बजारले दैनिक आफ्नो अघिल्लो दिनको न्यून मूल्यलाई तोडिरहेको छ । तथापि निराश हुनुपर्ने अवस्था भने छैन । देशमा भइरहेको प्रगतिको आधारमा भन्ने हो भने,पूर्वाधारमा लगानीका साथै त्यसका लागि चाहिने कच्चा पदार्थको उत्पादनलाई आधार मान्दा तरलताको व्यवस्थापनको चाँडै अन्त्य हुने अनुमान गर्न सकिन्छ ।

तर बैंकहरुले विगतमा गरेको बेलगाम ऋण प्रवाहलाई अब दोहोर्याउनु हुँदैन । विगतमा जस्तो क्षणिक हेरेर तरलता अभाव सहज हुने बहानामा सीसीडी खुकुलो पार्नु शेयर बजारका लागि उपयुक्त हुँदैन । आर्थिक गतिविधिको कारण बजारमा तरलता सृजना हुन दिनु उत्तम हुन्छ । यसका लागि सरकारले थप कदम चाल्नुपर्छ ।

लगानीकर्ताहरु आफ्नो भावना र आवेगका कारण  गुमाउँछन् 

अनलाइन कारोबारको पूर्ण सञ्चालनसँगै शेयर बजारमा धेरै कारोबार भइरहेको अवस्था छ। तथापि लगानीकर्ताहरुले आफ्नो भावना र आवेगका कारण  गुमाउँछन् । आवेग हावी भएको अवस्थामा उनीहरु देशको समग्र सूचकांकमा ध्यान दिंदैनन् या बुझ्ने प्रयास गर्दैनन् । यस्तै बजार चक्रको अनुमान लगाउँदा लगानीकर्ताहरुको मनोदशा हावी हुन्छ । जुन कुरा नेप्से १ हजार ८८८  विन्दुमा हुँदा प्रष्ट देखियो ।त्यसकारण शेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरु सधैं राफसाफ मूल्यमा सजग हुनुपर्छ । खरिद बिन्दु र मूल्य दुबैको आधार तय गर्नुपर्छ । लगानीकर्ताहरु कम्पनीका प्रकाशित वित्तीय विवरणहरु हेर्दैनन्, अरुले भनेकै भरमा लगानी गर्छन् ।

यकिन नभए पनि करिब ८५–९० प्रतिशत लगानीकर्ता यहि प्रवृत्तिका छन् । ९० प्रतिशत लगानीकर्ता बिना योजना लगानी गर्छन् ।

जोखिम बहन गर्ने क्षमताका आधारमा लगानी गर्नुस् 

अर्काथरी लगानीकर्ताहरु चाहिं जति धेरै जोखिम लियो त्यति धेरै मुनाफा गर्न सकिन्छ भनेर सोच्छन् । यो नितान्त गलत हो । उक्त शेयरको मूल्य कम छ वा धेरै घटेको छ, त्यसकारण अहिले खरिद गर्नु उत्तम हो । लगानीकर्ताले यो धारणा पाल्नु घातक पनि  हो ।

‘मुंगेरीलाल के हसिन सपने’ होइन शेयर बजार । छिमेकीले कमाएको देखेर सपना बुन्दै बजार प्रवेश नगर्नुस् । पूँजीबजार सबैको लागि होइन । जोखिम बहन गर्ने क्षमताका आधारमा लगानी गर्नुस् ।यति भनिरहँदा बजार सधैं आदर्श पूर्वक चल्छ भन्ने होइन, त्यहाँ धेरै चलखेलहरु भइरहेका हुन्छन् ।

आम लगानीकर्ताहरु यस्ता चलखेलयुक्त भ्रामक कुराहरुतर्फ केन्द्रित हुनु हुँदैन । त्यसकारण नोक्सानको ख्याल गरी त्यसको मूल्य चुकाउन तयार भएर मात्र बजार प्रवेश गरौं ।

लेखक पूँजीबजार तथा अर्थतन्त्रका जानकार हुन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved