इनसाइड डिलिङ, विसल ब्लो र अर्थतन्त्र (नीरव पुडासैनीको विचार)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2024 | 12:12:57 PM मा प्रकाशित

nepal oil ltd

आर्थिक जगत् तथा व्यवस्थापनको दुनियाँमा प्रयोग हुने शब्द इनसाइड डिलिङ नेपालको सन्दर्भमा खासै चर्चित छैन । वास्तवमा, नेपाली व्यवस्थापकहरूले यसलाई त्यति महत्त्व दिएको देखिंदैन । इनसाइड डिलिङ पूर्णरूपले गैरकानूनी कार्य हो । यसमा पूर्णरूपले बजारमा आइनसकेका सूचीकृत कम्पनीका संवेदनशील सूचना वा तथ्यांकको सुनियोजित तरिकाले अनधिकृत प्रयोग गरिन्छ ।

संस्थाका आफ्नै कर्मचारी, निर्देशक, व्यवस्थापक, शेयरधनी आदिबाट व्यवसायका गोप्य सूचना चुहावट गरी त्यसैका आधारमा कारोबार गर्ने गरिन्छ । इनसाइड डिलिङ गर्ने मान्छे कम्पनीको कर्मचारी नै हुनु जरुरी छैन, उसले खाली कम्पनीका सूचना विभिन्न माध्यममार्फत बाहिर ल्याएर त्यसका आधारमा बजारमा कारोबार गर्ने गर्छ । यस किसिमको इनसाइड डिलिङ एक सामाजिक अपराध हो ।

यसबाट वस्तु तथा सेवा र शेयरमूल्य अनावश्यक उतारचढाव हुन्छ र अर्थतन्त्रका सबै पक्षलाई नकारात्मक प्रभाव पार्छ । यसको अर्थ कम्पनीका कर्मचारीले अथवा ऊसँग सम्बन्धित पक्षले कारोबार गर्न नपाउने भन्ने होइन । तर, बजारमा नआएको सूचना भित्रीरूपमा विश्लेषण गरी कारोबार गरिन्छ अथवा गराइन्छ भने त्यो गैरकानूनी हुन्छ ।

यसै सन्दर्भमा करिब एक दशक अधिको एउटा चर्चित घटना यहाँ सान्दर्भिक हुन आउँछ। संसारको अतिचर्चित हेजफण्ड विशेषज्ञ श्रीलंकन मूलका अमेरिकी नागरिक राज राजारत्नमलाई यस्तै इनसाइड डिलिङको अभियोग लगाइएको थियो। उनलाई कर्मचारीमार्फत विभिन्न कम्पनीका गोप्य सूचना प्राप्त गरी त्यसबाट अनुचित लाभ लिएको आरोप छ, जुन पुष्टिसमेत भइसकेको छ ।

भारतीय मूलका रजन गुप्ता तथा अनिलकुमारमार्फत राजले त्यस्ता गोप्य सूचना प्राप्त गरी कारोबार गर्ने गरेका थिए । यस काण्डमा संलग्न सबैलाई अमेरिकी अदालतले दोषी ठहर्याइसकेको छ । चरम महत्त्वाकांक्षाका साथ गरिएको यस किसिमको गतिविधि अत्यन्त निन्दनीय छ ।

हाम्रो सन्दर्भमा यस किसिमका गतिविधिलाई अहिलेसम्म त्यति महत्त्वका साथ अध्ययन गरिएको देखिंदैन । सरकारी सूचनादेखि शेयर बजार तथा गोप्य राष्ट्रिय सूचनाको गलत प्रयोग भएका उदाहरण खासै देखिएका छैनन् । तर, यसको अर्थ हाम्रो आर्थिक तथा व्यावसायिक जगत् यस किसिमका घटनाबाट पूर्णरूपले सुरक्षित छ भन्ने चाहिं होइन । हाम्रो सन्दर्भमा शेयर बजारमा हुन सक्ने सूचनाको गलत प्रयोगको अनुसन्धान थालिनु अति जरूरी छ । चाहे त्यो राजनीतिक गोप्य सूचना वा देशको आर्थिक बजेट होस् कुनै पनि सुरक्षित छ भन्ने स्थिति छैन ।

नेपालको राजनीतिक निर्णय नेपाली जनताभन्दा पहिला विदेशी शक्तिहरूले थाहा पाउँछन् । अनि आफू अनुकूलको निर्णय गराउन सत्ता-संघर्षमा दलहरूलाई भिडाउँछन् । यस्ता घटना सबै सामु सर्वविदितै छन् । हाम्रा नेताहरूप्रति “दिल्ली दूर नहीं” भन्ने व्यङ्ग्यात्मक वाणी हाम्रा राष्ट्रिय छापाहरूमा पनि आइरहेकै हुन्छ । अर्थ मन्त्रालयले अर्थमन्त्रीमार्फत सदनमा पेश गर्नुपर्ने वार्षिक बजेट पहिला नै व्यापारीहरूले थाहा पाउँछन् । यस्ता गलत कार्यको बारेमा सोच्न ढिला भइसकेको छ ।

हुन त इनसाइड डिलिङ मुख्य रूपमा आर्थिक तथा व्यावसायिक सूचनासँग सम्बन्धित छ । तर, राजनीतिक सूचनाको गलत प्रयोगले पनि अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने र व्यावसायिक जगतमा पनि यसको अनुकरण हुन सक्ने भएकाले यस्ता क्रियाकलापलाई पूर्णरूपमा निस्तेज पार्नुपर्छ । त्यसैका लागि यस्ता कुरालाई पनि इनसाइड डिलिङको कोणबाट विश्लेषण गर्नु उपयुक्त हुनेछ ।

उदाहरणका लागि यदि कुनै दुई बैंकबीच मर्जर हुने निर्णय भयो । तर, केहि समयपछि कुनै कारणले त्यो कार्य नहुने भयो । यस किसिमका सूचना औपचारिक रूपमा बजारमा आउनुभन्दा पहिला नै कुनै व्यक्ति वा बैंकका कर्मचारीमार्फत ती सूचनाको गलत उपयोग पनि हुन सक्छ । यस किसिमका गलत नियतबाट अभिप्रेरित र पूर्णरूपमा अर्थतन्त्रलाई हानी हुने गतिविधि रोक्न सरकारी निकाय, व्यवसायीका साथै सम्पूर्ण सरोकारवाला पक्षले अब सोच्नुपर्ने बेला भएको छ ।

अन्यथा, भविष्यमा ठूलै दुर्घटना हुन सक्ने कुरालाई नकार्न सकिंदैन । विभिन्न सूचना तथा तथ्यांकहरुको गलत प्रयोगलाई कानूनी दायरामा ल्याउन अनिवार्य छ । यस्ता सूचनाका कारण देशमा सम्पत्ति शुद्धीकरण गर्ने क्रियाकलाप बढ्ने सम्भाबना हुन्छ । त्यसमा गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई कानूनसम्मत प्रमाणित गरिन्छ । त्यसैले, चाहे त्यो राष्ट्रको महत्त्वपूर्ण निर्णय वा विभिन्न व्यवसायका वार्षिक प्रतिवेदन हुन् तिनको गलत प्रयोग समयअगावै गर्न दिनुहुँदैन र त्यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न विसल ब्लो (आन्तरिक सूचनाको गलत प्रयोग गरेर अनुचित लाभ लिन खोज्नेको पर्दाफास गर्ने) वा बिगुल फुक्ने कार्यलाई कानूनी रूपमा नै स्पष्ट पारिनुपर्छ ।

सूचनाहरूको गलत प्रयोगलाई कानूनीस्तरबाटै निरूत्साहित गर्नु जरूरी छ । तर, यसबाट कर्मचारीहरूमा नकारात्मक सन्देश भने जानुहुँदैन अर्थात् आफ्नो कम्पनी वा फर्मको गलत क्रियाकलापलाई समाजसामु राख्न उनीहरूलाई प्रोत्साहित गरिनुपर्छ । यस किसिमको कार्यलाई संरक्षण दिनुपर्छ । विसेल ब्लो (बिगुल फुक्ने) त्यो व्यक्ति हो, जसले आफ्ना कम्पनीका गलत क्रियाकलापलाई समाजमा ल्याउँछ र त्यस्ता गतिविधिलाई निरुत्साहित गर्छ । यस किसिमको विसल ब्लो आन्तरिक तथा बाहय दुबै हुन सक्छन् । तर, विसल ब्लोबाट इनसाइड डिलिङलाई थप प्रोत्साहन मिल्नुहुँदैन ।

एक पक्षको फाइदाका लागि मात्र बिसेल ब्लो गरिन्छ भने त्यसलाई इनसाइड डिलिङअन्तर्गत नै हेरिनुपर्छ । कर्मचारीले आफ्नो कम्पनीका विभिन्न गलत क्रियाकलापहरू जस्तैः कुनै गैरकानूनी कार्य, जसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने, सामाजिक उत्तरदायित्वको खेलवाड गर्ने, वातावरण विनाश तथा राज्यलाई प्राप्त हुने कर घटाउने वा बहन गर्नुपर्ने दायित्व बढाउन सहयोग गर्छ भने त्यस्ता कार्यको बिगुल फुक्न सक्छन् । तर, कुनै पनि सरकारी वा गैरसरकारी रोजगारदाताले कर्मचारीलाई यस्तो कार्य गर्दिन भनेर सम्झौता गराउन पाइँदैन । यसमा राज्यले संरक्षण दिन जरूरी छ ।

सतहबाट हेर्दा यसको खासै अर्थ नलाग्न सक्छ । तर, यसको सही प्रभावले त्यस्ता गलत असरलाई पूर्णरूपले निस्तेज गरिदिन्छ । अमेरिका, बेलायतलगायत विभिन्न मुलुकमा यससम्बन्धी स्पष्ट कानून बनेका छन् । त्यससम्बन्धी कार्य गर्न अमेरिकामा अफिस अफ दी विसल ब्लो प्रोटेक्सन प्रोग्रामको व्यवस्था गरिएको छ । हालै मात्र भारतमा पनि यससम्बन्धी कानून आशिंक रूपमा आएको छ । त्यसलाई उनीहरूले “राइट टू इन्फर्मेशन एक्ट” अन्तर्गत राखेका छन् । त्यसबाट पनि नेपालले सिक्न सक्छ ।

इनसाइड डिलिङ र विसल ब्लो दुई अलग अलग धार भए पनि यी दुवैको गलत प्रयोगले अर्थतन्त्रमा धमिरा लाग्न सक्ने कुरालाई नकार्न सकिन्न । हुन त हाम्रो मुलुकमा ठूलो घटना भएपछि मात्र त्यसको गम्भिरताको अध्ययन गर्ने चलन छ । तर, यसको अर्थ नेपाली आर्थिक जगतमा यस किसिमका कुरा भएका छैनन् भन्ने स्थिति भने छैन ।

नेपालमा अहिलेसम्म कुनै पनि इनसाइडर डिलिङका विरुद्धमा विसल ब्लो भएको उदाहरण छैन । बजारको सूक्ष्म अध्ययन गर्दा केही न केहि  त्यस्ता घटना देखिएलान् । तर, त्यस्ता घटना समाजमा आउनुभन्दा पहिला कानूनी रूपमा स्पष्टता ल्याउन जरूरी छ । के नेपाली अर्थतन्त्रमा इनसाइड डिलिङ भएको छैन त ? के कुनै ठूला व्यापारिक घरानाले यसको प्रयोग गरेर शेयर बजारलाई तरङ्गित गरेका छैनन् ? यस्ता प्रश्नको जवाफ सम्बन्धित निकायसँग होला ।

अनि आफ्नो जागीरको जोखिम र विभिन्न कारबाहीको त्रासका कारण कर्मचारीमाझ गलत क्रियाकलापको भण्डाफोर गर्ने हिम्मत होला ? यसमा राज्यले निकै काम गर्नुपर्ने हुन्छ । अब बन्ने अर्थतन्त्रसँग सम्बन्धित विभिन्न कानूनमा इनसाइड डिलिङ र विसल ब्लोका विषयलाई केहि ठाउँ दिनु जरुरी छ ।

लेखक पूँजीबजार तथा अर्थतन्त्रका जानकार हुन् ।

लेखकबाट थप :

‘मुंगेरीलाल के हसिन सपने’ होइन शेयर बजार (नीरव पुडासैनीको विचार)

'लोकप्रियताको लागि अर्थतन्त्र धरापमा पारियो', नीरव पुडासैनीको लेख

'बजेट नरोकौँ, हिसाब किताब चुनावमा गरौला', नीरव पुडासैनीको विचार

'अर्थतन्त्रको संकट बुझौ, व्यवसाय होइन संस्था बनाउने प्रयास गरौँ ', नीरव पुडासैनीको लेख

सेयरबजारमा कसरी हुन्छ इन्साईड ट्रेडिङ, रोक्न के गर्नुपर्छ ? : नीरव पुडासैनीको लेख

'नयाँ वर्षसँगै सेयर कारोबार गर्दा यी २६ बुँदालाई मनन गरौ', नीरव पुडासैनीको लेख

'क्रिप्टोकरेन्सी भोलिको मुद्रा, तर हतार गरेर जोखिम नमोलौं', नीरव पुडासैनीको लेख

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved