सरकारी कार्यालयबाट शेयर कारोबारमाथिको प्रतिबन्धले कस्तो असर गर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2024 | 09:53:49 AM मा प्रकाशित

सरकारले आफ्ना कर्मचारीलाई कार्यालय समयमा कार्यस्थलबाट शेयर कारोबार गर्न प्रतिबन्ध लगाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा केपी शर्मा ओली नेतृत्त्वको मन्त्रिपरिषदले कर्मचारीलाई सरकारी कार्यालयबाट शेयर कारोबार गर्न प्रतिबन्ध लगाएको हो। 

पछिल्लो समय कार्यालय समयमै कर्मचारीहरु सेवाग्राहीको काममा भन्दा पनि शेयर कारोबारमा व्यस्त हुन थालेको पाइएपछि अख्तियारले यसबारे केहि निर्णय गर्न सरकारलाई  लिखित सुझाव दिएको थियो। सोहिअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सम्पूर्ण सरकारी कार्यालयमा शेयर कारोबारको लागि प्रयोग हुने अनलाइन कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम टीएमएस मा प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन् 

मंगलबार मात्रै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत देशभरका सम्पूर्ण सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध लगाइएको र कार्यालय समयमा कर्मचारीलाई शेयर कारोबार नगर्न निर्देशन दिएको जानकारी सार्वजनिक गरेका थिए । 

यसप्रकारको प्रतिबन्धपछि आगामी दिनमा समग्र पूँजीबजारमा कस्तो असर पर्न सक्छ भन्ने बारेमा प्रारम्भिक चरणमै आकलन गर्न थालिएको छ । केहिले धितोपत्रको दोस्रो बजारमा यस प्रकारको निर्णयको असर सामान्य हुने बताएका छन् भने कतिपयले चाहिं दिनभर हुने धितोपत्र कारोबारको ठूलो हिस्सामा सरकारी तथा निजामती कर्मचारीको पनि संलग्नता भएकोले बजार र कारोबार दुबैमा ठूलो असर पर्ने बताएका छन् । 

तर यसबारे शेयर दलाल कम्पनीहरूको छाता संगठन स्टक ब्रोकर एशोसिएशनका पुर्वअध्यक्ष भरत रानाभाटले सरकारी कर्मचारीलाई सरकारको यस्तो प्रतिबन्धले धितोपत्रको दोस्रोबजारमा केहि असर परेता पनि सरकारी सेवा लिने सेवाग्राहीको लागि राम्रो हुने बताएका छन्।

"बिहान ११ बजेदेखि तीन बजेसम्मको कारोबार अवधिमा शेयर खरिदबिक्री गर्न नपाउँदा पूँजीबजारमा केहि न केहि असर त गर्छ नै तर पनि शेयर कारोबार नै गर्नेहरुले कार्यालय समयअघि नै आफुले कारोबार गर्ने ब्रोकरलाई आदेश टिपाउन भने सक्छन्’, ३५ नम्बर ब्रोकर सदस्य कोहिनुरका सञ्चालक समेत रहेका रानाभाट भन्छन, प्रतिबन्ध नै गर्नु पूँजीबजारको लागि त्यति राम्रो नभए पनि उनीहरुबाट सेवाग्राहीले थप उत्कृष्ट सेवा पाउँछन् भने यसलाई राम्रो पक्ष नै मान्नुपर्छ, सायद सरकारको उद्धेष्य पनि यहि नै हुनुपर्छ ।"

यसबारेमा नेपाल पूँजीबजार संघको अध्यक्ष तथा सक्रिय लगानीकर्ता राधा पोखरेलले कार्यालय समयमा शेयर कारोबार गर्दा सेवामा असर परेको सत्य भए पनि अहिलेको समयमा सरकारको यस्तो निर्णयलाई लगानीकर्ताले सकारात्मक रुपमा नहेरेको बताइन् । 

उनले भनिन्, कार्यालयबाट नै शेयर कारोबार गर्दा कर्मचारीले दिने सेवाप्रतिको गुनासो बारे हामीलाई पनि जानकारी थियो नै, शेयर कारोबारमाथि नै प्रतिबन्ध लगाउन भन्दा शेयर कारोबार गर्न सकिने समयको विकल्प बनाइदिएको भए अझ राम्रो हुन्थ्यो ।’

सरकारले आफ्ना कर्मचारी तथा अरु सेवा दिनेहरुको हितलाई ध्यानमा राखेर अहिलेको कारोबार समय ११ देखि ३ बजेसम्मको समयलाई अघि पछि पनि कारोबार गर्न मिल्ने विकल्प दिन सकेमा भने झन राम्रो हुने उनको सुझाव छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved