करिब एक दशक वैदेशिक रोजगारमा बिताएर स्वदेश फर्किएका इटहरी उपमहानगरपालिका-१९ का किसान मनराज पुरी अहिले पशुपालन र मौरीपालन व्यवसायमा संलग्न छन्। विदेशमा कमाएको रकम स्वदेशमै लगानी गरी व्यवसायिक खेती सुरु गरेका उनले हाल राम्रो आम्दानी गर्दै आएका छन्।
मनराजले आठ वर्षसम्म साउदी अरब र मलेसियामा काम गरेपछि नेपाल फर्केर गाईबाख्रापालन सुरु गरेका थिए। व्यवसाय विस्तार गर्दै उनले पछिल्लो समय मौरीपालन पनि थालेका छन्। उनले वार्षिक आठदेखि नौ लाख रूपैयाँसम्म आम्दानी भइरहेको बताएका छन्।
मनराजले १७ वर्षको उमेरमा बाबुआमा गुमाएपछि विदेश गएर दुःखसाथ कमाएको रकम नेपालमै लगानी गर्ने सोच बनाए। उनले सुरुमा गाईबाख्रापालन गरे पनि अहिले मौरीपालनबाट राम्रो फाइदा लिइरहेको बताएका छन्। “आफ्नै व्यवसायबाट आत्मनिर्भर भएको महसुस गरेको छु। अरूको नोकरीभन्दा आफ्नो व्यवसायबाट पाइने आनन्द बेग्लै छ,” उनले भने।
व्यवसाय सुरु गर्दा उनले दूध बिक्रीको चिन्ता गरे पनि हाल दैनिक ४० देखि ५० लिटर दूध स्थानीय होटल र डेरीमा बेच्ने गरेका छन्। पशुपालन व्यवसायले उनीसँगै गाउँका अन्य व्यक्तिलाई पनि रोजगारी दिएको छ। व्यवसाय सुरु गर्दा उनले दुई जना कामदार राखेका थिए, जसले मासिक २२ हजार रूपैयाँसम्म तलब पाउने गरेका थिए।
गाईबाख्रालाई आवश्यक पर्ने घाँसबारे पनि उनले आफ्नै खेतबारीमा उत्पादन गर्ने प्रविधि अपनाएका छन्। एक बिघाभन्दा बढी जग्गामा धानखेती गर्ने भएकाले गाईका लागि पराल र घाँसको अभाव नहुने उनले बताएका छन्। खसीबाख्रापालन विस्तार गर्नका लागि चरन क्षेत्रको अभाव रहेको तर व्यवस्थापन गर्न सकिए अझ राम्रो आम्दानी गर्न सकिने उनको धारणा छ।
चार मौरी घारबाट सुरु भएको व्यवसाय अहिले ४० भन्दा बढी मौरी घारमा विस्तार भएको छ। सुरुमा व्यवसायप्रति आशंका भए पनि विस्तारै घार संख्या बढाउँदै जाँदा मौरीपालनबाट राम्रै आम्दानी हुन सक्ने सम्भावना देखिएको उनले बताएका छन्। मौरीबाट मह उत्पादन सिजनअनुसार फरक हुने भए पनि प्रायः २२ देखि ३० दिनमा एक पटक मह निकाल्न मिल्ने उनको अनुभव छ।
मनराजले प्रत्येक मौरी घार रू. १४ हजारमा खरिद गरेका छन्। एउटा घारबाट एक पटकमा छ किलोसम्म मह उत्पादन हुने गरेको उनले बताएका छन्। इटहरीकै स्थानीय बजारमा मह बिक्री गर्ने उनले प्रतिकिलो रू. ७५० देखि १,००० सम्ममा बिक्री गर्ने गरेका छन्।
मौरीपालन व्यवसाय कम लागतमा सुरु गर्न सकिने भएकाले भविष्यमा थप विस्तार गर्ने योजना उनले बनाएका छन्। गाउँमै मौरीपालन सम्बन्धी तालिम र सरकारी अनुदानको व्यवस्थापन भए यस व्यवसायबाट धेरै किसानले आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ। मौरीपालनलाई दिगो व्यवसायका रूपमा विकास गर्न बजार व्यवस्थापन, आधुनिक प्रविधि अपनाउने, र सरकारी सहयोग आवश्यक रहेको उनले बताएका छन्।