नेपालको बैंकिङ क्षेत्र नयाँ गभर्नरको नियुक्ति प्रक्रिया नजिकिँदै गर्दा बढी चर्चामा रहेको छ। गभर्नर बन्न आकांक्षीहरूको दौडधुपसँगै एकअर्कामाथि हिलो छ्याप्ने प्रतिस्पर्धा पनि उस्तै देखिएको छ।
गभर्नर पदको आकांक्षीहरूबीच अस्वस्थ प्रतिस्पर्धाका कारण विभिन्न किसिमका रणनीति अपनाइएको छ भने मिडियामार्फत एकअर्कालाई कमजोर देखाउने अभ्यास पनि भइरहेको छ। नेपाल राष्ट्र बैंकभित्र भने नयाँ गभर्नरका लागि दशथरी चुनौतीहरू रहेका भए पनि नियुक्ति प्रक्रियालाई लिएर भइरहेको खेलबारे विशेष चर्चा हुन थालेको छ।
राष्ट्र बैंकसामु एकातर्फ दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको जोखिमपूर्ण अवस्था चुनौतीका रुपमा देखिएका छन् भने अर्कोतर्फ नेतृत्त्वको बढ्दो हस्तक्षेपले राष्ट्र बैंकका कर्मचारीहरूको मनोबल खस्किएको अवस्था छ।
राष्ट्र बैंक नेतृत्वले कमजोर बैंक तथा वित्तीय संस्थामाथि कारबाही गर्नुको साटो उनीहरूको गल्ती ढाकछोप गर्ने प्रवृत्ति देखाउँदै आएको आरोप लागेको छ। स्थलगत निरीक्षणमा जाने कर्मचारीदेखि विभागीय प्रमुखसम्मले तथ्यगत रिपोर्ट दिने प्रयास गर्दा समेत नेतृत्वले नजरअन्दाज गर्ने प्रवृत्ति देखिएको गुनासो राष्ट्र बैंकका कर्मचारीहरूले गरेका छन्।
अहिले ठूला र बलिया भनिएका आधा दर्जन बैंकहरूका ऋणका फाइलहरूको अवस्था अत्यन्तै दयनीय रहेकाले बेलैमा उचित निर्णय लिन नसक्दा सहकारीमा जस्तै गम्भीर संकट निम्तिन सक्ने चेतावनी कर्मचारीहरूले दिएका छन्।
बिशेषगरि गभर्नरले आफु निकट डेपुटी गभर्नर तथा विभागीय प्रमुखसंग मिलेर बैंक तथा पार्टीको प्रभावको आधारमा निर्णय लिएको आरोपसमेत राष्ट्र बैंकका कर्मचारीहरुले लगाएका छन्।
बैकको भल्ट (प्रणाली) मा हुनुपर्ने रकम नभएको थाहाहुँदा हुँदै कर्णाली बिकास बैंकलाई कारबाही नहुनु, केहि फाइनान्सलाई सुधारको लागि आवश्यक भन्दा बढी समय दिनु, जथाभावी ठुलो कर्जा दिने करिब आधा दर्जन बैंकका अध्यक्ष र सीइओलाई कारबाही हुनबाट रोक्नु जस्ता घटना यी आरोप पुष्टि हुने केहि आधार भएको अहिलेको नेतृत्त्वप्रति असन्तुष्ट कर्मचारी बताउछन।
यही कारण अहिले बैंकिङ क्षेत्रका केही ठूला संस्थाहरूको कमजोरी लुकाउन प्रयास गरिएको र अब आउने गभर्नरलाई यी विषयहरू ठूला चुनौतीका रूपमा रहने निश्चित रहेको स्रोतहरूको दाबी छ। बिशेषगरि आधा दर्जन कमर्शियल बैंकका बिग्रिएका फाइलहरुलाई लिएर राष्ट्र बैंकभित्र विभागीय प्रमुख, डेपुटी गभर्नर र गभर्नर कार्यालयबीच पटक–पटक विवाद देखिएको र कतिपय विभागीय प्रमुखले निरन्तर दबाबका कारण महिनादिन पनि टिक्न नसकेको बताइएको छ।
बैंकिङ क्षेत्रमा अहिले गभर्नरको नियुक्तिलाई लिएर भइरहेको प्रतिस्पर्धामा राष्ट्र बैंकका डेपुटीद्वय, कार्यकारी निर्देशक, केही बैंकर र बाहिरी व्यक्तिहरू दौडमा छन्। कानुनी रूपमा राष्ट्र बैंकका डेपुटीद्वय गभर्नरका दाबेदार भए पनि आन्तरिक रुपमा थलो परेका केहि बैंकका सीइओहरु तथा विवादास्पद छविका बाहिरी व्यक्तिहरू पनि गभर्नरको दौडमा देखिनु रहस्यमय रहेको विश्लेषकहरूको भनाइ छ।
सूत्रहरूका अनुसार, बैंकभित्र भएका अवैधानिक र अराजक गतिविधि लुकाउन सक्ने व्यक्तिलाई गभर्नर बनाउन सकियो भने विभिन्न अनियमितता ढाकछोप गर्न सहज हुने भएकाले केही बैंकका मालिकहरू आफ्नै सीईओ वा बाहिरी व्यक्तिलाई गभर्नर बनाउन विभिन्न हत्कण्डा अपनाइरहेका छन्। स्रोतकाअनुसार, केहि मालिकहरु संयुक्त रुपमा मिलेर मिसनमा लागेका छन् भने केहि बैंकका मालिकहरु व्यवसायिक घरानालाई समेत सामेल गरेर निकट नेताहरु बोकेर बालुवाटार तथा शक्तिकेन्द्र पुगेका छन्।
तर, बैंकिङ क्षेत्र सुधार गर्न चाहनेहरूले भने सरकारले स्वच्छ छवि भएको, बैंकिङ प्रणाली राम्रोसँग बुझेको र आवश्यक परे कडा निर्णय लिनसक्ने व्यक्तिलाई गभर्नरमा ल्याउनुपर्ने बताएका छन्। ग्रे लिस्टमा परेर नेपालको छवि बिग्रिसकेको अवस्थामा गभर्नर पदमा कमजोर नेतृत्व आउँदा सिंगो अर्थतन्त्र नै संकटमा पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।