क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा वितरण प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। यस आईपीओमा मागभन्दा कयौँ गुणा बढी आवेदन परेको थियो।
यसै सन्दर्भमा, कम्पनीको हालको अवस्था र भविष्यबारे संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप मान श्रेष्ठसँग बिजपाटी डटकम का लागि सीता बुढाथोकीले गरेको कुराकानीको सम्पादित अंशः
आईपीओमा अत्यधिक आवेदन परेको छ, यसलाई कसरी लिनुभएको छ?
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा धेरै गुणा बढी आवेदन परेको छ। लगानीकर्ताहरूले राम्रो प्रतिफलको अपेक्षासहित लगानी गरेका हुन्। यसलाई हामी कम्पनी प्रतिको विश्वासका रूपमा लिएका छौँ।
कम्पनीको हालको व्यवसायिक अवस्था कस्तो छ?
हाम्रो कम्पनी स्थापना भएको पहिलो वर्षदेखि नै नाफामा छ। पहिलो वर्ष १० करोडको व्यापार भएकोमा हालसम्म २४ करोडको व्यापार गरिसकेका छौँ। आगामी वर्षहरूमा अझ राम्रो प्रगति गर्ने लक्ष्य छ।
पूँजी वृद्धिको योजना के छ?
हालसम्म नेपाल बीमा प्राधिकरणबाट पूँजी वृद्धिको कुनै सूचना आएको छैन। कम्पनी स्थापना भएको ४–५ वर्षसम्म पूँजी वृद्धि हुने सम्भावना छैन। यस विषयमा बजारमा आएका हल्लाहरू आधारहीन छन्।
कम्पनीले हाल कस्ता बीमा योजनाहरू सञ्चालन गरिरहेको छ ?
हाम्रो कम्पनीले समृद्धि अग्रिम भुक्तानी, लघु सावधिक जीवन बीमा, माइक्रो टर्म इन्स्योरेन्स, र चाइल्ड माइक्रो लाइफ जस्ता योजनाहरू सञ्चालन गरिरहेको छ। अन्य बीमा कम्पनीहरूले बोनस रेट भ्यालुएसनबाट घोषणा गर्ने गर्छन्, तर हामीले निश्चित बोनस दर लागू गरेका छौँ।
लघु बीमा कम्पनीको उद्देश्य पूरा भइरहेको छ ?
हामी सिमान्तकृत, अल्पसंख्यक तथा कमजोर आर्थिक अवस्थाका व्यक्तिहरूलाई लक्षित गरी काम गरिरहेका छौँ। हाम्रा २३ वटा शाखामध्ये ५ वटा सुर्खेतमा रहेका छन्, जसले ग्रामीण भेगमा सेवा प्रदान गरिरहेका छन्। माइक्रो फाइनान्स, सहकारी तथा विभिन्न समूहहरूलाई एजेन्सी बनाएर व्यापार विस्तार गरेका छौँ।
भविष्यका योजनाहरू के छन ?
नेपाल बीमा प्राधिकरणको निर्देशिका अनुसार दुर्गम क्षेत्रहरूमा मात्र होइन, काठमाडौं उपत्यकाका सहरी गरिब समुदायलाई पनि लक्षित गरेर सेवा विस्तार गर्ने योजना छ। निकट भविष्यमा शाखा विस्तारलाई प्राथमिकता दिइनेछ।
लगानीकर्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स आर्थिक रूपमा मजबुत छ। लगानीकर्ताहरूले ढुक्क भएर लगानी गर्न सक्ने आधारहरू छन्। भविष्यमा पनि व्यवसायिक वृद्धिमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ।