नीलम ढुङ्गानाको यात्रा शिक्षण पेशाबाट सुरु भएर नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नरसम्म पुगेको छ । झापामा जन्मिएकी नीलमको प्रारम्भिक शिक्षा विभिन्न विद्यालयमा भयो । २०४१ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले विज्ञान संकाय रोज्न चाहिन्, तर विकल्प नहुँदा वाणिज्य विषय अध्ययन गरिन् । आइकममा जिल्लामै सर्वोत्कृष्ट अङ्क ल्याएपछि उनले बिकमका लागि विराटनगरको महेन्द्र मोरङ क्याम्पस रोजिन् ।
१९ वर्षको उमेरमा विवाह भएपछि पनि उनले अध्ययन जारी राखिन् । स्नातकोत्तर गर्दा त्रिभुवन विश्वविद्यालयमा समग्रमा दोस्रो र महिलामा पहिलो स्थान प्राप्त गरिन् । कीर्तिपुरस्थित विश्वविद्यालयमा राजा वीरेन्द्रबाट ‘गोल्ड मेडल’ ग्रहण गरेपछि उनले सहायक–प्राध्यापकको रुपमा अध्यापन सुरु गरिन् । सोही समयमा नेपाल राष्ट्र बैंकमा सहायक अधिकृतको विज्ञापन नआएको भए उनले शिक्षण पेशामै रहने सम्भावना थियो ।
राष्ट्र बैंकको परीक्षा स्थगित भएपछि एक पुस्तकले उनको जीवन बदल्यो । ‘नेपाल राष्ट्र बैंक प्रतियोगिता गाइड’ नामक पुस्तक पढेपछि उनको तयारी अझै सशक्त बन्यो । २०५४ सालको परीक्षा पास गरेपछि राष्ट्र बैंकमा प्रवेश पाइन् । भाइटीकाको पर्सीपल्ट अन्तर्वार्तामा सफल भएपछि उनको वित्तीय क्षेत्रमा यात्रा औपचारिक रुपमा सुरु भयो ।
राष्ट्र बैंकमा उनले विभिन्न विभागमा काम गर्दै निर्देशकसम्म बढुवा पाइन् । बैंक सुपरिवेक्षण, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान, मौद्रिक व्यवस्थापन, आन्तरिक लेखा परीक्षण विभागमा रहेर उनले योगदान दिइन् । पोखरा क्षेत्रीय कार्यालयको क्षेत्रीय निर्देशक भएर उनले १४ महिना सफलतापूर्वक काम गरिन् ।
राष्ट्र बैंकले उनलाई अध्ययनका लागि अष्ट्रेलिया पठायो, जहाँ उनले वोलोङगङ्ग विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरिन् । भारतबाट मौद्रिक प्रसारण संयन्त्र र बैंक लेंडिङ बिहेवियर’ विषयमा विद्यावारिधि पनि गरिन् । राष्ट्र बैंकको आन्तरिक प्रतियोगिता सफलतापूर्वक पास गर्दै उनी कार्यकारी निर्देशक बनिन् र कार्यसम्पादन मूल्याङ्कनका आधारमा वरिष्ठ डेपुटी गभर्नरमा पदोन्नति पाइन् ।
डा ढुङ्गानाका अनुसार अहिले अर्थतन्त्रका धेरै सूचकाङ्क सकारात्मक छन् । मुद्रास्फीति नियन्त्रणमा छ, विदेशी मुद्रा सञ्चिति उच्च छ, चालु खाता बचतमा छ, विप्रेषण प्रवाह वृद्धि भइरहेको छ । तर, आन्तरिक माग कमजोर भएकाले कर्जा प्रवाह न्यून रहेको उनले बताइन् । बैंकिङ प्रणालीमा प्रशस्त तरलता रहे पनि कर्जा प्रवाह अपेक्षित रुपमा नबढ्नु प्रमुख समस्या रहेको छ ।
नेपाल राष्ट्र बैंकलाई ग्रे लिस्टबाट हटाउन केन्द्रीय बैंकले सुधारका प्रयास गरिरहेको उनले बताइन् । वित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानी बढाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूको सुपरिवेक्षण मजबुत बनाइएको छ ।
वरिष्ठ डेपुटी गभर्नरको जिम्मेवारी सम्हालिरहेकी डा ढुङ्गाना नेपाल राष्ट्र बैंकको भावी गभर्नरको प्रमुख दाबेदार बनेकी छिन् । गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिले उनको नामलाई प्राथमिकतामा राख्नसक्ने सम्भावना रहेको छ । राष्ट्र बैंकमा झन्डै तीन दशक बिताएकी उनले अहिले गभर्नरका लागि आफू योग्य रहेको बताइन् ।