लोपोन्मुख संस्कृति र पोशाकको संरक्षण गर्दै मोरङको बेलबारी नगरपालिकास्थित धिमाल समुदायका महिला अहिले आत्मनिर्भर बन्ने यात्रामा जुटिरहेका छन्। जातीय पहिचान झल्काउने पेटानी, आल्गी र खदाजस्ता परम्परागत पोशाक निर्माणमार्फत उनीहरू घरेलु उत्पादनलाई व्यावसायिक स्वरूप दिन थालेका छन्।
बेलबारी नगरपालिकाले विसं २०७७ फागुन ३० गते धिमाल समुदायलाई पहिलोपटक सूचीकृत जातिका रूपमा मान्यता दिएको थियो। त्यसयता नगरपालिकाले भाषा, संस्कार र सीप प्रवर्द्धनमा विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको छ।
विशेषगरी बेलबारी–३ का धिमाल टोल (भूमिडाँडा)मा महिला लक्षित तान तथा धागो वितरणपछि स्थानीय महिलाहरू सक्रिय रूपमा पोशाक निर्माणमा लागेका छन्। वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीका अनुसार दुई वर्षदेखि वार्षिक रूपमा ३० परिवारलाई धागो वितरण गरिएको छ।
सीता धिमालका अनुसार पेटानीको मूल्य २५ सय रुपैयाँसम्म र खदाको मूल्य एक सय रुपैयाँसम्म पर्ने गरेको छ। दमकबाट तान बुनाइको सीप सिकेर फर्किएकी उनले आफ्नै गाउँमा सीप बाँड्दै उत्पादनसमेत जारी राखेकी छन्।
स्थानीय महिला सुस्मिता, मीरा, कल्पना र सविनाजस्ता महिलाहरूले घरको कामपछि बाँकी समय तानमा लगाएर आम्दानी गरिरहेको बताउँछन्। आधुनिक प्रविधिको तानले उत्पादनमा वृद्धि भएको उनीहरूको भनाइ छ।
धिमाल जाति व्यवस्थापन समितिका सचिव टीकालाल धिमालले नगरपालिकाले बजारीकरणमा सघाए अझ प्रभावकारी हुने बताए। उनका अनुसार औपचारिक कार्यक्रममा स्थानीय खदाको प्रयोगले आत्मबल बढ्नेछ। हाल बेलबारीमा ८८९ धिमाल परिवार रहेका छन्।