कोरोना प्रभावः सुख्खा बन्दरगाहमा ३ हजार कन्टेनर रोकिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 04:06:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–भारत प्रमुख व्यापारिक नाका वीरगञ्ज सुख्खा बन्दरगाहामा ३ हजार बढी कन्टेनर रोकिँदा नेपाल भित्रिने निर्माण सामग्री अलपत्र परेको छ । अन्य व्यापारिक नाकाबाट सबै किसिमका सामानको आयात सामान्य अवस्थामै रहेपनि सुख्खा बन्दरगाहमा भने नेपाल आउने कन्टेनरहरु रोकिएका छन् । 

रोकिएका कन्टेनर ल्याउन पहल गरिएको छैन

खुल्ला कार्गो, फलामजन्य बस्तुहरु, निर्माण सामग्रीहरु आयात हुने मुख्न बन्दरगाहमा नै मंगलबारसम्म ३ हजार कन्टेनर रोकिएको जानकारी आएको भन्सार विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक शिशिर घिमिरे बताउँछन् । 

‘एकैपटक धेरै संख्यामा कन्टेनर आउँदा रोकिएको खबर आएको छ’ उनले भने, ‘यहाँबाट अति आवश्यक सामग्री नभई अहिलेको समयमा कम आवश्यक बस्तुहरु आउने हो, कन्टेनरहरु रोकिएका छन् । रोकिएका कन्टेनरहरुलाई तत्काल नेपाल ल्याउन व्यवसायीबाट पनि खासै पहल भएको छैन । जसले ल्याउने हो, उहाँहरु नै लकडाउनका कारण अहिले नै ल्याउने पक्षमा नदेखिएको कारण खास छलफल र पहल भएको छैन ।’ 

व्यवसायीहरुले भने कागजातको अभाव देखाउँदै भारतीय पक्षले सामान लोड भएका कन्टेनरहरु रोकिँदिएको बताउँछन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्शले रोकिएका कन्टेनर ल्याउने प्रवन्ध मिलाईदिन उद्योग मन्त्रालयमा अनुरोध पनि गरिसकेको जनाएका छन् । तर पनि हप्ता दिनको अवधिमा समेत कुनै प्रगति नदेखिएको उनीहरुको गुनासो छ । 

हवाई उडान रोकिँदाको असर स्थलमार्गमा

व्यवसायीहरुले आवश्यक कागजात ल्याउन नसक्दा स्थलमार्ग (विशेष गरी दक्षिणी नाका) हुँदै नेपाल आउने सामान ल्याउन समेत असजिलो परेको छ । हवाई उडान रोकिँदा कतिपय मालबस्तुका कागजात बैंककमै रोकिएका कारण बन्दरगाहबाट समान भित्र्याउन असजिलो भएको विभागका निर्देशक घिमिरेको भनाई छ । 

‘फ्लाइट नहुँदा कार्गो, कुरियरमार्फत आउनुपर्ने डकुमेन्ट बैंककमा रोकिएको छ’ उनले भने, ‘यसले पनि उद्योगी व्यवसायीलाई समस्या परेको छ, कागजात नहुँदा भन्सारबाट जाँचपास नहुँदा विशेषगरी निर्माणजन्य सामान लोड भएका कन्टेनरहरु रोकिएका हुन् ।’

९० प्रतिशत भन्सार शुल्क गुम्यो

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले चैत्र ११ बाट लकडाउन सुरु गरेको थियो । लकडाउनसँगै मूलुकमा आर्थिक गतिविधि ठप्प हुँदा राजश्व लक्ष्यमा सरकारलाई धक्का लागेको छ । चैत्र महिनामा भन्सार विभागलाई सरकारले दिएको लक्ष्यको करिब १० प्रतिशत मात्रै राजश्व संकलन भएको विभागका निर्देशक घिमिरेको भनाई छ । 

‘मलाई ठ्याक्कै अंक त याद छैन, म अहिले अफिस बाहिर छु । तर हामीलाई सरकारबाट दिईएको तार्गेटको १० प्रतिशतको हाराहारीमा मात्रै चैत्र महिनामा भन्सार शुल्क संकलन गरेका छौँ’ उनले भने, ‘तार्गेटको ९० प्रतिशत शुल्क संकलन भएन । कोरोनाको त्रास नभएको भए चैत्र महिना बढी आयात हुने महिना भएकाले हामी लक्ष्य पूरा गर्न सक्ने थियौँ ।’ 

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ मा ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख राजश्व संकलनको लक्ष्य राखेकोमा बैशाख १६ गतेसम्म ५ खर्ब ९४ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । संकलित राजश्व लक्ष्यको ५३.४९ प्रतिशत मात्रै हो । 

आर्थिक वर्ष सकिँन २ महिना मात्रै बाँकी रहँदा कोरोनाको असर झेल्नुपर्दा सरकार लक्ष्यमा पुग्न नसक्ने अवस्था आएको अर्थविदहरुको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved