मनकारी ठमेलका घरबेटी, ब्यापारीलाई बोलाएरै दिए घरभाडा छुट

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 23, 2020 | 11:38:30 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण लकडाउन हुँदा सबैजसो व्यवसाय प्रभावित छन् । विशेष गरी पर्यटनसँग सम्बन्धित व्यवसाय भएका मुख्य क्षेत्रहरु पर्यटकीय गतिविधि शून्य हुँदा खाली प्राय नै थिए । तर केही दिन अघिबाट न्युरोड, ठमेल र असन क्षेत्रका पसलहरु खुल्न थाले । यद्यपी ग्राहक नआउँदा व्यापारीहरु निराश नै छन् ।

पर्यटनसँग सम्बन्धित व्यवसायहरु ट्रेकिङ कम्पनीदेखि हवाइ जहाजको प्लेन टिकेटिङ एजेन्सीसम्मको व्यवसाय त धरापमा परेकै छ । यति मात्र नभई पश्मिना, ट्रेकिङ सप, हस्तकलाका पसलहरु, चित्रकलाका व्यापार, मुर्तिकलाका सामान बेच्ने पसलहरु अहिले पनि सुनसान नै छन् । 

घरभाडा छुटको अभियान तीव्र

ठमेल क्षेत्रमा रहेका व्यवसाय बन्द हुने अवस्थामा पुगेपछि ठमेल पर्यटन परिषद्ले घरधनीसँग भाडा छुटको अपिल गरिराखेको छ । परिषद्का उपाध्यक्ष भविश्वर शर्माका अनुसार घरधनीहरु सकारात्मक भएका कारण कार्यान्वयन पनि सुरु भइसकेको छ । हालसम्म २ सय भन्दा बढी व्यवसायीले घर भाडा छुट प्राप्त गरिसकेको उनको भनाई छ । 

‘घरधनीसँग सम्पर्क भईरहेको छ, अहिलेसम्म २ सयभन्दा बढी व्यवसायी साथीहरुले छुट पाईसक्नु भएको छ’ उनले भने, ‘घरधनी र व्यवसायीबीच समन्वय भएर कसैले लकडाउन अवधिको पूरै छुट गर्दिन्छु र त्यसपछि भने पूरानै दरमा भाडा तिर्नुपर्छ भन्नु भएको छ । कसैले एक वर्षसम्मै ५० प्रतिशत छुट दिन्छु भन्नु भएको छ । कोही घरधनीले लकडाउन अवधिको ५० प्रतिशत भाडा छुट दिन्छु भन्नु भएको छ ।’ 

कोही घरधनीहरु भने काठमाडौँ बाहिर रहेका कारण सम्पर्कको प्रयास भईरहेको र व्यवसायीको माग ७० प्रतिशतको हाराहारीमा पूरा हुने शर्माको विश्वास छ ।

सुरुमा ठमेलबाट व्यवसायीलाई घरभाडा छुट दिलाउने अभियान थालियो । ठमेल पर्यटन विकास परिषद्ले सुरु गरेको अभियान अहिले देशब्यापी बनेको छ । परिषद्मा सदस्य रहेका ८ सय व्यवसायी बाहेकले पनि सुविधा पाउने गरी अभियान अघि बढेको र हालसम्मको अवस्था हेर्दा घरधनीहरु पनि सकारात्मक देखिएको परिषद्का उपाध्यक्ष शर्मा बताउँछन् ।

आइतबार ठमेल पर्यटक विकास समितिको रोहबरमा विभन्न संस्थाबीच भएको छलफलमा घरधनीहरू एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिन सहमत भए । घरधनीसहित ११ व्यावसायिक संस्थाबीच आइतबार सहमति भएको हो । ठमेल, कालधारा, पकनाजोल, नरदेवी र धोवीचौर क्षेत्रमा मात्रै २ हजार घरमा १० हजार व्यवसाय रहेको अनुमान छ ।

मासिक ४५ लाखसम्म भाडा तिर्ने व्यवसायी

परिषद्ले सामान्य चिया व्यापारीदेखि ५ तारे होटलसम्मले छुट पाउनुपर्ने भन्दै अभियान चलाउँदै आएको छ । ठमेल क्षेत्रमा १५ हजारदेखि ४५ लाखसम्म मासिम भाडा तिर्ने व्यवसायी रहेको उनको भनाई छ । 

परिषद्का अनुसार व्यवसायीले ५० प्रतिशत छुट पाउने हो भने मासिक ४० करोड रुपैयाँ छुट पाउने अवस्था छ । यसो हुँदा वार्षिक ४ अर्ब ८० करोड छुट हुने र व्यवसायीहरु प्लायन हुने अवस्था नआउने परिषद्को विश्वास छ ।

व्यवसाय छोडेर हिडेकालाई घरधनीले बोलाउन थाले

परिषद्को पछिल्लो तथ्यांक अनुसार ठमेल क्षेत्रबाट २ सय बढी व्यवसायी पलायन भएका छन् । लकडाउन निरन्तर लम्बिरहने र पर्यटकीय गतिविधि शुन्य हुँदा व्यवसायीहरु व्यवसाय बन्द गरेर हिडेको उपाध्यक्ष शर्माको भनाई छ । 

ठमेल क्षेत्रबाट व्यवसाय छोडेर हिडेका व्यवसायीलाई घरधनीले फोन गरेरै ‘भाडा छुट दिन्छौ, फर्किनुहोस्’ भनेर अनुरोध गरिरहेका छन् । घरधनीले फोन गरेर एक वर्ष सम्म ५० प्रतिशत घरभाडा छुट दिन्छौ भनेका कारण अधिकांश व्यवसायीले फर्किने मनस्थिती बनाएको शर्माको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved