३ संस्थानमा प्रमुख नियुक्तिको चटारोः खाद्यको सीइओ बन्न १६ जनाको आवेदन

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 22, 2020 | 11:03:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक संस्थानहरुमा नियुक्तिका लागि धमाधम सार्वजनिक सूचना जारी गर्दैछ । गत असार १७ गते उद्योग मन्त्रालय अन्तरर्गतका ३ वटा संस्थानमा नियुक्तिका लागि पदपूर्तीको सूचना सार्वजनिक भएकोमा दरखास्त दिने म्याद साउन ६ गते सकिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक, नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत र नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रवन्धक नियुक्तिको लागि सार्वजनिक सूचना जारी भएका छन् ।

३ संस्थानमा तत्कालै नियुक्ति

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकको नियुक्तिका लागि गठित सिफारिस समितिले असार १७ गते पदपुर्ति सम्बन्धि सूचना जारी गर्दै २१ दिनभित्र दरखास्त दिन भनेको थियो । साउन ६ गतेसम्म दरखास्त दिने म्याद रहेकोमा ३ संस्थानका लागि जम्मा ३९ जनाको आवेदन परेको छ । 

५ हजार रुपैयाँ तिरेर अधिकृत स्तरको व्यवस्थापक पदमा ५ वर्ष काम गरेको अनुभव भएकाले मात्रै दरखास्त दिन सक्ने उल्लेख छ । तर यसअघि सोही पदमा नियुक्तिको लागि ७ वर्ष कार्यानुभव चाहिने प्रावधान थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओको लागि भने ७ वर्ष नै अनुभव तोकिएको छ । व्यापार कम्पनीको आफ्नै ऐन भएकाले ७ वर्ष नै तोकिएको र इन्टरमोडल यातायात विकास समितिको भने मन्त्रिपरिषद्ले निर्णय गरेका कारण ५ वर्षमात्रै अनुभव कायम गरिएको उद्योग मन्त्रालय स्रोतले बताएको छ । यो पदको लागि पनि असार १७ गते नै सूचना आह्वान भईसकेको छ ।

पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रवन्धकका लागि पनि असार १७ गते नै प्रकाशित भएको सूचनामा ५ वर्षे अनुभव खोजिएको छ । यो पदमा नियुक्तिको लागि जनप्रशासन, व्यवस्थापन वा मानविकी तथा समाजशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने भनिएको छ । पारवहनको पनि आफ्नै ऐन नभएका कारण मन्त्रिपरिषद्ले नै ५ वर्षे अनुभव तोकिदिएको हो ।

उद्योग मन्त्रालयले सार्वजनिक संस्थानमा नियुक्तिका लागि ७ वर्षे अनुभव नै आवश्यक पर्ने भन्दै प्रस्ताव गरेको भएपनि मन्त्रिपरिषद्ले भने सबै संस्थानमा नियुक्तिका लागि अनुभवमा एकरुपता कायम गर्न ५ वर्षे अनुभवको व्यवस्था गरेको बताएको छ ।

यी संस्थानहरु खाली भएपछि सम्बन्धित विभागको महानिर्देशकले नै चलाउँदै आएका छन् । ‘तर कामको चापका कारण उहाँहरुले भ्याउने अवस्था भएन’ मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले भने, ‘त्यसैले अब नियुक्ति नै गर्नुपर्ने भएकाले सार्वजनिक सूचना नै आह्वान गरिसकिएको छ, केही समयमा नै नियुक्त गर्ने तयारीमा छौँ ।’

कहिलेदेखि खाली ?

तत्कालै प्रमुख नियुक्त गर्न लागिएका यी ३ संस्थान लामो समयदेखि प्रमुखबिहिन अवस्थामा छन् । 

आर्थिक वर्ष २०७५/०७६ को बजेट बक्तव्यमा नै नेशनल ट्रेडिङ लिमिटेडलाई नेपाल खाद्य संस्थानमा गाभी राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्ने कुरा उल्लेख थियो । सो बजेट बक्तव्यमा उल्लिखित नीति कार्यान्वयनको क्रममा २०१८ चैत्र १८ गते स्थापना भएको नेशनल ट्रेडिङ लिमिटेड र २०२१ मंसीर १७ गते स्थापना भएको नेपाल खाद्य संस्थानलाई गाभेर “खाद्य व्यवस्था तथा व्यापार कम्पनी” गठन गर्ने मन्त्रिपरिषदको २०७६ जेठ १० को निर्णयअनुसार २०७६ साउन २८ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई “खाद्य व्यवस्था तथा व्यापार कम्पनी” स्थापना भएको हो । तर यो संस्थान स्थापना भएदेखि नै कार्यकारी अधिकृतबिहिन अवस्थामा छ । यो कम्पनीमा वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई २०७६ साल कात्र्तिक ३ गते नियुक्त गरिएको थियो । हाल उनैले प्रमुखका रुपमा काम गर्दै आएका छन् ।

यस्तै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड पनि २०७५ माघ १२ गतेदेखि प्रमुख बिहिन छ । हाल उद्योग मन्त्रालयका उप–सचिव एवम् प्रशासन तथा संस्थान महाशाखाका प्रमुख गिरिराज ज्ञवाली यो कम्पनीको महाप्रवन्धक छन् । उनलाई २०७६ फागुन २२ गते नियुक्त गरिएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पद पनि २०७५ असोज ७ गतेदेखि रिक्त छ । कार्यकारी निर्देशक पद खाली भएपछि २०७५ चैत्र २८ गते उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह–सचिव नवराज ढकाललाई यो समितिको कार्यकारी निर्देशकका रुपमा जिम्मेवारी दिईएको छ ।

उद्योग मन्त्रालयका प्रवक्ता प्रवक्तासमेत रहेका सह–सचिव प्रकाश दाहाल प्रमुख नभएको अवस्थामा अन्य निकायका प्रमुखहरुलाई दोहोरो जिम्मेवारी दिएर काम लगाउँदा उनीहरुलाई कामको चाप बढेका कारण तत्कालै नयाँ नियुक्ति गर्न लागिएको बताउँछन् ।

कति पर्‍यो आवेदन ?

साउन ६ गते आवेदन दिने अन्तिम दिनसम्म ३ संस्थानमा गरेर जम्मा ३९ जनाको आवेदन परेको छ । पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रवन्धकका लागि १० जनाको आवेदन परेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि सबैभन्दा धेरै १६ जनाको आवेदन परेको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन परेको उद्योग मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved