फलो अप: पाई सहितका ५ डिजिटल करेन्सीका व्यक्तिलाई पक्राउ गर्न प्रमाण पुगेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 05:07:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबि) ले  डिजिटल मुद्राको कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न नसकिने जनाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले डिजिटल मुद्राको कारोबार गर्ने विभिन्न कम्पनीहरुले नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय गरेको आरोप सहित उनीहरुलाई पक्राउ गरिदिन आग्रह गरेकोमा ब्युरोले अहिले कै अवस्थामा पक्राउ गर्न नसकिने जनाएको हो ।

सिआईबीले सबै अधिकार विभागमा नै रहेको भन्दै प्रक्रिया नै पूरा नगरी पत्र पठाएर प्रयोग गर्न खोजेको भन्दै प्रक्राउ गर्न नसकिने जनाएको हो ।  सिआईबीका प्रवक्ता वेलवहादुर पाण्डेले विभागले प्रक्रिया समेत पूरा नगरी पत्र पठाएको र यहि अवस्थामा पक्राउ गर्न नमिल्ने बताएका हुन् । उनले विभागले सिआईबीमा सहयोग माग गरेपनि आरोप प्रमाणित हुने कुनै आधार नहुँदा प्रक्राउ गर्न नसकिएको बताएका हुन् ।

‘एक सरकारी निकायको हिसाबले विभागले गराएको काम गर्नु हाम्रो दायित्व हो, गौरकानूनी कारोबारमा संलग्नहरुलाई प्रक्राउ गरेर कारवाही गर्नु हाम्रो अधिकार हो, तर बिना कुनै प्रमाण कसैलाई प्रक्राउ गर्ने अनुमति हामीमा छैन’, उनले भने । सिआईबीले विभागलाई नेटवर्किङमा संलग्नहरुको आरोप प्रमाणित गरी मुद्धा दर्ता वा प्रक्राउ पूर्जी जारी गरी पठाउन पत्र पठाउँदा कुनै जवाफ नआएको जनाएको छ । 

यस अघि : पाई सहितका ५ डिजिटल करेन्सीका व्यक्तिलाई पक्राउ गर्न सीआईबिलाई पत्राचार

उद्योग मन्त्रालयले अन्तर्गत रहेको वाणिज्य विभागले पाई लगायतका डिजिटल मुद्राको कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थियो । विभागले उनीहरुले गैरकानुनी रुपमा रहेको नेटवर्किङ शैलीमा कार्य गरेको र देश तथा विदेशमा रहेका नेपालीहरुलाई ठगी गर्ने कार्य समेत गरेको भन्दै विभागले यस विषयमा थप छानविन गर्न उनीहरुलाई पक्राउ गर्न आग्रह गरेको थियो ।

 विभागले गत असोज ६ गते कम्पनीका जिम्मेवार व्यक्तिलाई पक्राउ गरी विभागमा उपस्थित गराईदिन उनीहरुको नाम र फोन नम्बर सहित सीआईबिलाई आग्रह गरेको थियो । विभागले पठाएको पत्रमा वान कोइन नामको डिजिटल करेन्सीका गोबिन्द श्रेष्ठ, अशोक न्यौपाने र रत्न काजि श्रेष्ठ, एक्सेल टोकनका ज्ञानेन्द्र खड्का र कृष्ण कुमार महर्जन, क्यास कोइनका विजय शाह र दिनेश शाह, पाईनेटवर्कमा आवद्द परमानन्द श्रेष्ठलाई पक्राउ गरी विभागमा पेश गर्न आग्रह गरेको थियो । 

विभागले पठाएको पत्रमा डिजिटल मुद्राको कारोबार गर्ने सहित २५ संस्थामा संग्लन ५० भन्दा बढी व्यक्तिलाई प्रक्राउ गर्न आग्रह गरेको थियो ।  तर  सीआईबिले आरोप प्रमाणीत हुने आधार फेला नपारी पक्राउ गर्न नसकिने जवाफ पठाएपछि अब के गर्ने भन्ने विषयमा थप छलफल भईरहेको विभागले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved