विश्व बजारमा पकड जमाउँदै नेपाली चाउचाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2021 | 02:19:48 PM मा प्रकाशित

laxmi  sunrise bank

‘संसारमा सबैभन्दा धेरै व्यापार हुने बस्तु मदिरा हो, तर मदिरा व्यापारी संसारको सबैभन्दा धनी व्यक्तिको सूचीमा परेको रेकर्ड छैन ।’ यो भनाई हो उद्योगी अजेयराज सुमार्गीको । अर्बपति विनोद चौधरीले पनि आफ्नो पुस्तकको साराशंमा ‘मैले नेपालमा बिक्रि हुने बस्तु मात्रै बनाएको वा बेचेको भएपनि पैसा कमाउन सक्थे, तर मैले विश्वमा के बिक्रि हुन्छ भनेर सोचेँ, र चाउचाउ बनाए’ भनेका छन् ।

हुन पनि हो, विनोद चौधरी चाउचाउ बिक्रि गरेरै नेपालका एक्ला अर्बपति बनेका छन् । उनले वाइवाइ नामको चाउचाउ विश्वका धेरै देशमा ब्राण्डिङ गराईसकेका छन् । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा पनि चाउचाउको निर्यात उल्लेख्य मात्रामा बढेको छ । नेपाली चाउचाउले विश्वबजारमा देखाएको प्रतिस्पर्धात्मक उपस्थितिले उद्योगीहरुलाई लगानी थप र बजारीकरणका लागि हौसला प्रदान गरेको छ । 

कति हुन्छ निर्यात ?

चालु आर्थिक वर्ष २०७७/०७८ को ५ महिना (साउनदेखि मंसिरसम्म) मा गतवर्षको तुलनामा चाउचाउको निर्यात ६२ प्रतिशतले बढेको छ । गत वर्षको यो अवधिमा ३४ लाख ५० हजार किलोग्राम चाउचाउ निर्यात गरेर ५० करोड ३७ लाख रुपैयाँ कमाएको नेपालले चालु वर्षको यो अवधिमा ५५ लाख १९ हजार किलो चाउचाउ बिक्रि गरेर ८१ करोड ५७ लाख रुपैयाँ रकम देश भित्र्याएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष ११ देशमा मात्रै निर्यात हुँदै आएको नेपाली चाउचाउ अहिले १२ देशमा निर्यात हुन थालेको छ । 

‘गत वर्षको तुलनामा ३१ करोड रुपैयाँ बढीको चाउचाउ विदेशमा निर्यात हुनु सुखद संकेत हो, यदि कोरोना नभएको भए हामी अर्ब बढीको चाउचाउ बाहिर पठाउन सक्थ्यौँ’ पोखरा नुडल्सका प्रबन्ध निर्देशक बाबुराम पन्त भन्छन्, ‘नुडल्स कल्चर भएका देशहरुमा हाम्रो उत्पादनले बजार पाउनु भनेको हाम्रो उत्पादन गुणस्तरीय भएर पनि हो । कोभिडको यस्तो महामारीमा पनि नेपाली चाउचाउको माग विदेशमा राम्रै थियो ।’

कुन देशमा कति निर्यात ?

विदेशमा निर्यात भएको नेपाली चाउचाउमध्ये करिब ७७ प्रतिशत हिस्सा भारतले ओगटेको छ । चालु आर्थिक वर्षको ५ महिनामा नेपालबाट ४७ लाख ९८ हजार किलोग्राम चाउचाउ किनेको भारतले ६३ करोड ७ लाख रुपैयाँ नेपाललाई तिरेको छ । जबकी गत आर्थिक वर्षको यो अवधिमा २९ लाख २९ हजार किलोग्राम चाउचाउ बिक्रिमार्फत ३७ लाख २४ हजार मात्रै भारतले खर्च गरेको थियो ।

अष्ट्रेलियाले नेपालबाट २ लाख २३ हजार किलो चाउचाउ खरिद गरी ५ करोड ८८ लाख रुपैयाँ नेपाललाई आम्दानी गराएको छ । अमेरिकाले २ लाख ५४ हजार किलो चाउचाउ किनेर नेपाललाई ५ करोड ४५ लाख २१ हजार रुपैयाँ तिरेको छ ।

मलेशिया, जापान, बेलायत, क्यानाडा लगायतका देशमा पनि उल्लेख्य मात्रामा नेपाली चाउचाउ निर्यात हुँदै आएको छ ।

‘व्यापार घाटा कम गराउन योगदान’

उद्योगीहरुले नेपाली चाउचाउको माग विश्व बजारमा बढ्दै जानु भनेको नेपालको व्यापार घाटा घट्दै जाने संकेतका रुपमा लिएका छन् । अन्तराष्ट्रिय बजारमा सबैभन्दा धेरै भारतसँग निर्भर हुनु परेको अवस्थामा भारतलाई नै सबैभन्दा धेरै चाउचाउ बिक्रि गर्न सक्नु भनेको आफूहरुका लागि गर्वको विषय भएको वाइवाई चाउचाउको उत्पादक चौधरी ग्रुपको भनाई छ ।

चौधरी ग्रुपले नवलपरासीको चौधरी ग्राम र ललितपुरको भैंसेपाटीबाट चाउचाउ उत्पादन गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved