फुटपाथ व्यापारीलाई हेर्ने नजर काठमाडौँ र ललितपूरकै फरक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 02:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकासहित मूलुकका ठूला शहरमा फुटपाथ व्यापार भइरहेको देख्न सकिन्छ । यसको व्यवस्थापन गर्ने, अटेरी गर्नेलाई कारबाही गर्ने आदि जिम्मा सम्बन्धित नगरपालिकाको हुन्छ । काठमाडौँको हकमा भने काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले अव्यवस्थित फुटपाथ व्यापारको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ । ललितपूर महानगरपालिकाले पनि नगर प्रहरीलाई यसको जिम्मा दिएको छ ।

व्यवसायी पोको बोक्दै, लुक्दै

नगरपालिकाले फुटपाथमा व्यापार गरेर दैनिकी गुजारा चलाईरहेकाहरुलाई सेवाको सट्टा सास्ती बढी दिने गरेको छ । यसको पछिल्लो उदाहरण हो, सुकेधारामा तरकारी बेच्दै गरेकी महिला मञ्जु कुँवरको ठेलागाडा नगर प्रहरीले खोसिदियो । तरकारी भरिएको गाडा ठेल्दै ठेल्दै ग्राहक खोज्न हिडिरहेकी कुँवरको गाडा खोसेर नगर प्रहरीले ट्रकमा हाल्यो । नजिकए उभिएका एक जनाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे । त्यसपछि उक्त भिडियो भाइरल मात्रै भएन, नगर प्रहरीको तीव्र आलोचना पनि भयो । 

यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । दिउँसो गाडामा तरकारी बेच्ने र नाङ्लोमा अमला र खुर्सानी बेच्नेहरुलाई नगर प्रहरीले दुःख दिएका कयौँ उदाहरण छन् । नगरप्रहरीको आँखामा नपरौँ भनेर दिनभर जसो फुटपाथका व्यापारीहरु पोको नफुकाई बस्छन् । तैपनि कहाँबाट फुत्त आईपुगेर सामान जफत गरिदिन्छन् नगर प्रहरीहरुले । त्यसपछि कौडीको भाउमा लिलामी गरिदिन्छन् ।

‘हामीलाई नगर प्रहरीले धम्क्याउने, गाली गर्ने, हाम्रा सामान लगेर फिर्ता नदिने जस्ता घटना त सामान्य लाग्न थालिसक्यो’ निर्माणाधिन धराहरा अगाडी फुटपाथमा कपडा बेच्ने एक युवाले भने, ‘सामान फिर्ता लिन जरिवाना बोकेर आउनु भन्छ, को जान्छ ? सामानको मूल्यभन्दा बढी जरिवाना ठोकिदिने डर हुन्छ । लिन नगएपछि नगर पुलिसले बेच्छ त होला नि ।’

सामान फिर्ता नदिने नीति

गत आर्थिक वर्ष २०७६/०७७ मा काठमाडौँ महानगरपालिकाले फुटपाथबाट जफत गरिएका सामान बिक्रि गरेर ५२ लाख रुपैयाँ कमाएको थियो । यसको मूल कारण भनेको काठमाडौँ महानगरले फुटपाथबाट जफत गरिएका सामान फिर्ता नदिने नीति बनाउनु हो ।

२०७४ सालमा काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले फुटपाथबाट नगर प्रहरीले उठाउने सामान फिर्ता नदिने नीति बनाएका थिए । यो विषय नीतिकै रुपमा कुनै दस्ताबेजमा लिपिवद्ध नभएपनि कार्यपालिका बैठकबाट भएको निर्णयको माइन्युट भने महानरपालिकामा छ ।

तुलनात्मक रुपमा ललितपूर महानगर फुटपाथ मैत्री

काठमाडौँ महानगरपालिकाको तुलनामा ललितपूर महानगर भने केही व्यवस्थित देखिन्छ । तर, त्यहाँ पनि फुटपाथका व्यापारीहरु नगर प्रहरी देख्नासाथ झस्किन भने छोडेका छैनन् । यद्यपी महागरको नगर प्रहरीले ३ महिना यता भने फुटपाथ व्यापारीहरुलाई गाली गर्ने, धम्क्याउने, सामान जफत गर्ने जस्ता काम गरेको छैन । बरु सकेसम्म व्यवस्थापनमा लागिपरेको महानगर प्रहरी प्रमुख सीताराम हाछेथू बताउँछन् ।

केही महिनाअघिसम्म धरपकडकै नीति अपनाएको ललितपूर महानगरले अहिले नौलो अभ्यासको थालनी गरेको छ । पैदलयात्रीलाई असर नपर्ने गरी समय तोकेर फुटपाथमा व्यापार गर्न दिईएको ललितपूर महानगरपालिकाले जनाएको छ । 

महानगरले सरोकारवालासँग छलफल गरेर फुटपाथ व्यापारीका लागि ट्याक्सी पार्किङ क्षेत्र पनि बटाएको दाबी गरेको छ । तर, महानगरले सुरु गरेको अभियान राम्रो हुँदाहुँदै पनि धेरै स्थानमा सञ्चालित फुटपाथ पसलेहरुसम्म नपुगेका कारण नगर प्रहरीलाई हेर्ने नजर भने पूरानै कायम रहेको ललितपूर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योँ बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved