भारतीय दुतावासलाई परिसंघले भन्यो, ‘केही सन्धिका कारण दुई देशको व्यापारमा असहज भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 03:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच छलफल भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको अवस्थाका बारेमा जानकारी गराउँदै अहिले नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सकिने बताएका छन् । 

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन परिसंघ तयार रहेको अध्यक्ष मोरको भनाई छ । नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ । नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको भन्दै परिसंघले त्यसलाई सहज बनाउँदै जानुपर्ने धारणा राखेको छ । 

नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्न परिसंघले अनुरोध गरेको छ । अतिरिक्त डिउटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई सहज गर्नुपर्ने तर्क परिसंघको छ ।

दुतावासका प्रथम सेक्रेटरी अभिशेक उपाध्यायले कुनै पनि उत्पादनको स्ट्याण्डर्डमा दुबै देशबीचमा समस्या देखिने गरेकोले यसलाई कसरी सहजीकरण गर्न सकिनेतर्फ ध्यान दिने बताए । यस्ता विषयमा नेपाल र भारतका गुणस्तर निर्धारण गर्ने निकायबीच पनि छलफल गरी समस्यालाई समाधान गर्नुपर्ने उनको भनाई छ ।

उच्च प्राथमिकतामा लगानी गर्न चाहेका क्षेत्रहरुको पहिचान गरी सोही अनुसार लगानीको आगामी मार्गचित्र तयार गर्नुपर्ने धारणा परिसंघको छ । नेपालमा वैदेशिक लगानीका क्षेत्रहरु धेरै रहेकोले आइटि, गार्मेण्ट, शिक्षा, औषधी उत्पादन लगायतका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएकोले त्यसतर्फ पनि लगानी भित्र्याउन सकिने सम्बन्धमा छलफल भएको छ ।

परिसंघले नेपालबाट भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएकोले आगामी दिनमा नेपालको निर्यात प्रवद्र्धनमा थप सहज हुने विश्वास लिएको छ । छलफलमा परिसंघको तर्फबाट उपाध्यक्षहरु अनुज अगरवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डे पनि सहभागी थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved