मालवाहक गाडीको तौल परीक्षण गर्न पहिलोपटक सरकारी तौलपुल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2021 | 10:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

फागुन १८ गतेबाट मुग्लिन–नारायणघाट राजमार्गको आँपटारी र विपी राजमार्गको वर्दिवासमा मालवाहक सवारी साधनको भार तथा तौल परीक्षण हुने भएको छ । यसअघि निजी क्षेत्रको लगानीमा सञ्चालीत तौलपुलबाट भार परीक्षण हुँदै आएकोमा पहिलो पटक सरकारी लगानीमा सञ्चालीत तौलपुलबाट भार परीक्षण हुन लागेको हो । 

निजी क्षेत्रको तौलपुलबाट आवश्यकता अनुसार परीक्षण हुन नसकेपछि सुरुवाती चरणमा दुई स्थानमा तौलपुल सञ्चालनको तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागले सञ्चालन गर्ने उक्त तौलपुलमा फागुन १७ गतेसम्म परीक्षण गर्ने र १८ गतेबाट मालवाहक सवारीसाधनको भारवहन परीक्षण सुरुहुनेछ । फागुन १८ गतेबाट दुई स्थानको तौलपुल सञ्चालनमा आएपछि निजी क्षेत्रले सञ्चालनमा ल्याएका तौलपुलबाट मालवाहक सवारीको भार परीक्षण गर्नुपर्ने बाध्यताको अन्त्य भएको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् । 

उनका अनुसार उक्त तौलपुल २४ सै घन्टा सञ्चालन हुनेछ । रातीको अवस्थामा मालबाहक सवारी साधनको भार परीक्षण गर्न निजी क्षेत्रको अनुमति लिनुपर्ने बाध्यता सगैँ उनीहरुले गरेको परीक्षणलाई आधार बनाईएको थियो । दुई स्थानमा हाम्रो तौलपुल सञ्चालनमा आएपछि उक्त बाध्यतात्मक अवस्थाको अन्त्य हुन्छ, उनले भने ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ११६ र ११७ एवं सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियमन १६ र मालवाहक सवारी साधनको भारवहन सम्बन्धी निर्देशिका, २०७४ मा भएका मालबाहक सवारीहरुको भार नियमन सम्बन्धी प्रावधानहरु कार्यान्वयन गर्न दुई स्थानमा तौलपुलहरुको स्थापना गरिएको जनाएको छ ।

राजमार्गमा हिँड्ने मालवाहक सवारी साधनले क्षमताभन्दा वढि लोड बोकेमा सडकको आयू घट्ने र दुर्घटना हुने सम्भावना भएकाले त्यस्ता बढि भार बोक्ने सवारीसाधनलाई नियमन तथा नियन्त्रणमा ल्याउन तौलपुलको भूमिका महत्वपूर्ण रहने महानिर्देशक हमालले जानकारी दिए । उनका अनुसार बढी तौल बोक्ने सवारी साधनलाई ५ हजार नगद जरिवाना सगैँ बढी भएको तौल परीक्षण केन्द्रमा नै झारिनेछ । 

नेपालमा मालवाहक सवारी साधनले प्रति एक्सल १०.२ टन भन्दा बढी वजन बोकेर चलाउन नपाईने व्यवस्था रहेको छ । आँपटारीमा एक करोड २१ लाख बढीको लागतमा ८० टन क्षमताको उक्त तौलपुल स्थापना गरिएको हो । 

अहिलेसम्म निजी क्षेत्रले गरेको परीक्षणलाई आधार बनाएको विभागले फागुन १८ गतेबाट तोकिएको भन्दा बढी भारसहित सञ्चालन हुने मालवाहक सवारीहरुलाई कारवाही हुने विभागका अधिकारीहरु बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved