नेपाल राष्ट्र बैंकले सोमबार एउटा सर्कुलर जारी गर्दै बस्तुको आयातमा कडाई गरेको छ । ऋणको ठूलो हिस्सा आयातमा प्रयोग भई त्यसको असर तरलतामा देखिन थालेको भन्दै राष्ट्र बैंकले बस्तुको आयातमा कडाई गरेको हो ।
राष्ट्र बैंकले विभिन्न १८ प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन तथा २ प्रकारका सामान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको छ । अर्थात् कुनै सामान आयात गर्दा १०० रुपैयाँ लाग्ने छ भने १०० रुपैयाँ नै मार्जिनको रुपमा राख्नु पर्ने छ । यसो गर्दा ब्यापारीले सामान आयात गर्दा थप नगदको ब्यवस्था गर्नु पर्नेछ । यसबाट आयात निरुत्साहित हुने राष्ट्र बैंकको विश्वास छ ।
के पर्छ असर ?
राष्ट्र बैंकको यस खालको नीतिले बजारको ‘चेन ब्रेक’ हुने व्यवसायी बताउँछन् । आत्मनिर्भर नभएका र स्वदेशी उत्पादनले नधान्ने बस्तुको आयातमा गरिएको कडाईले महँगी बढ्ने नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ बताउँछन् ।
‘मानौ कुनै व्यवसायीले ५० करोडको एलसी खोल्थ्यो, त्यसमा १० प्रतिशत क्यास मार्जिन राख्थ्यो पुग्थ्यो, अब सय प्रतिशत राख्नुपर्ने भएपछि त्यो पैसा कहाँबाट ल्याउने ?’ श्रेष्ठ भन्छन्, ‘बैंकले ऋण बन्द गरेका छन्, क्यासमा ल्याउन सक्ने अवस्था छैन ।’
यसअघिः
यी हुन् राष्ट बैंकले आयातमा कडाई गरेका वस्तु, गाडी, कस्मेटिक सामान, रक्सिदेखि पानीसम्म
यदि कुनै व्यवसायीले सय प्रतिशत क्यास मार्जिन राखेर बस्तु आयात गरेपनि उसले यहाँ ल्याएपछि उधारोमा दिन नसक्ने उनको भनाई छ ।
‘ल मानौँ, कुनै व्यवसायीले सय प्रतिशत नै क्यास मार्जिन राखेर ल्यायो रे, तर यहाँ ल्याएपछि उसले उधारोमा त सामान दिन सक्दैन । कसैले ६० दिनको एलसी खोलेर सामान ल्याउँथ्यो होला, उसले ३० दिनको लागि यता उधारो दिन्थ्यो होला, पैसा उठेपछि फेरि अर्को एलसी खोल्थ्यो होला । यो बजार त यस्तो चेनमा चलिरहेको हो नि । तर, राष्ट्र बैंकले जुन ब्यवस्था गर्यो, त्यसले विजनेशको चेन नै ब्रेक गर्ने भयो ।’
पूरानो उधारो नउठ्ने जोखिम
राष्ट्र बैंकको नयाँ ब्यवस्थाले पहिल्यै उधारोमा गईसकेको सामानको पैसा नउठ्ने जोखिम पनि सिर्जना गरिदिएको श्रेष्ठको भनाई छ ।
‘जुन चेनमा बजार घुमिरहेको थियो, त्यो चेन घुमाउन नसकेपछि व्यवसायी त पलायन हुन्छ, व्यवसाय छोड्नुको विकल्प हुँदैन’ उनले थपे, ‘अनि उधारोमा गईसकेको सामानको पैसा कसरी उठ्छ ? मैले गरिरहेको व्यवसाय मैले छोडेपछि उधारो लैजानेले सामान कहाँबाट पाउँछ ? उसले यसअघि नै उधारोमा लगेको सामानको पैसा कसरी तिर्न सक्छ ?’
अहिले बजारमा गईसकेको उधारो अर्बौ रुपैयाँको रहेको व्यवसायीहरु बताउँछन् ।
एकातिर एलसी बन्द र अर्कोतिर बैंकबाट प्रवाह हुने कर्जाको उपलब्धता पनि नभएको अवस्थामा राष्ट्र बैंकबाट महँगी बढ्ने तर, राजस्वमा गिरावट आउने नीजि आउनु दुःखको विषय भएको आयातकर्ताहरु बताउँछन् ।
यी हुन् राष्ट्र बैंकले आयातमा कडाई गरेका बस्तुः
ल्वाङ
चुइगम
चकलेट
शखर
चिनी
ग्लुकोज
ल्याक्टोज
मिनरल वाटर
अल्कोहल नभएको बियर
इनर्जी ड्रिंक
जौको बियर
अन्य बियर
वाइनसाइडर
अल्कोहलजन्य अन्य पदार्थ
व्हिस्की, रम, भोड्का , भिनेगर
टोब्याको
चुरोट
हुक्का फ्लेभर
परफ्युम
मेक अप सामग्री
पाउडर
फेस क्रिम
पालिस
लोसन
सौदर्य समबन्धि सामग्री
श्याम्पू
कपालमा लगाउने तेल
कपाल रंग्याउने सामग्री
धुप
कस्मेटिक सामग्री
काठ तथा काठबाट बनेका सामग्री
टुथ पिक
क्लोथ ह्यांगर
सलाईको काँटी
जुत्ता चप्पल
क्याप टोपी
टाउकोको सुरक्षामा लगाईने टोपी,
छाता
टेक्ने लौरो
कृतिम फूलहरु
नक्कली कपाल, दारी, जुँगा, आँखी भौ
टायल
मार्बल
ढुंगाबाट बनेका सजावट सामग्री
इट्टा, ब्लक ग्रेफाइटका सामग्री
सेरामिक सामग्री
ग्लास तथा ग्लासबाट बनेका सामग्री
बोतल, थर्मस
चाँदी, चाँदीको धुलो, चाँदीबाट बनेका सामग्री
३ पांग्रे रिक्सा, हजार सिसिभन्दा बढीका गाडी,
एम्बुलेन्स, सब बहान
मोटरसाइकल, साइकल
मेटल तथा मेटलबाट बनेका सामग्री (अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने बाहेक)
काठका फर्निचर , प्लास्टिकका फर्निचर, बाँसका फर्निचर, अन्य सामग्रीका फर्निचर
खेल्ने तास