रात्रिकालिन व्यवसायीद्वारा ४ लाखलाई सडकमा उतार्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2022 | 05:29:27 PM मा प्रकाशित

laxmi  sunrise bank

रात्रीकालिन व्यवसायीहरुले १ हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । आज पत्रकार सम्मेलन गर्दै व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले रात्रीकालिन व्यवसाय सञ्चालन गर्न नदिए १ लाख व्यवसायी र ३ लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।   

कार्यक्रममा बोल्दै दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज)का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए आफूहरु लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिए । 

उनले भने, ‘वार्षिक ५ अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं । हाम्रा लागि सडकमा उत्रनुको विकल्प छैन ।’ 

गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफुहरुको पीडा सुनाए पनि सुनुवाई नभएको उनको गुनासो छ । गुरुङले रात्रिकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे । यस क्षेत्रमा काम गर्ने हजारौं बेरोजगार भई देशमा अर्को संकट आउने खतरा औल्याए । उनले धेरै जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको बताए । 

रात्रिकालिन मनोरन्जन व्यवसायीका अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन वाध्य हुने चेतावनी दिए । 

उनले भने, ‘एक लाख व्यवसायीहरु र ३ लाख मजदुर एकसाथ सडकमा उत्रनेछौ, समयमै सरकारको चेत खुलोस् ।’ 

आफ्ना समस्याहरु सुनाउन धेरै मन्त्रालयलमा पुगिसकेको र आश्वासन आउने तर कार्यान्वयन नहुने गरेको खड्काको भनाई छ । 

दोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले रात्रिकिालिन व्यवसाय बन्द हुँदा कामदाहरुले धमाधम आत्महत्या गरिरहेको दाबी गरे । 

उनले भने, ‘कोरोनाको पहिलो र दोस्रो भेरियन्टको समयमा २ सय ५० जना भन्दा बढी कामदारले आत्महत्या गरिसके ।’ 

उनले सामाजिक र आर्थिक क्षेत्रमा दूरगामी समस्या आइसक्दा पनि सरकारको चेत नखुलेको बताए । पहिलो पटक कोरोना महामारीमा झ्याप्पै बन्द गरेको सुनाए । श्रेष्ठले कोरोनाको दोस्रो भेरियन्टमा पनि निर्देशिका अनुसार व्यवसाय सञ्चालन गर्न आफुहरु तयार रहेदाँ राज्यले जबरजस्ती बन्द गराएको गुनासो पोखे । सरकारले माघ १५ पछि खोल्छौ भनेर आश्वासन दिएपनि आफूहरु अझै विश्वस्त नभएको उनको भनाई छ । 

कार्यक्रममा व्यवसायी केशर बहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रिकालिन व्यवसाय भएको बताए । यसरी पटक–पटक व्यवसाय बन्द गराउँदा अर्बौ नोक्सान भएको भन्दै कर तिर्ने व्यवसायीको बर्बादी राज्यको बर्बादी भएको बताए ।

उनले भने,‘रातीको ८ बजेपछि मात्र कोरोना सर्ने ? राज्यले हामीलाई सौतेलो व्यवहार गरेको छ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved