पर्यटकबाट आउने आम्दानी भन्दा विदेश भ्रमणमा नेपालीले गर्ने खर्च धेरै, रेमिट्यान्स पनि घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2022 | 04:57:35 PM मा प्रकाशित

laxmi  sunrise bank

चालू आर्थिक बर्षको ९ महिना अर्थात चैत मसान्तसम्ममा नेपाल भित्रिने रेमिट्यान्स घटेको छ। गत बर्षको यस अवधिसँगको तुलनामा रेमिट्यान्स ४ अर्ब ४७ करोड रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंककाअनुसार गत आर्थिक बर्षमा रेमिट्यान्स ७ खर्ब २९ अर्ब आएकोमा यस अवधिसम्ममा मात्र ७ खर्ब २४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।     

यस अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७२४ अर्ब ७४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो।

रेमिट्यान्स घटेपनि पछिल्लो समय बैदेशिक रोजगारीमा जानेको संख्या र पुन श्रम स्वीकृति लिनेको संख्या उल्लेख्य रुपमा बढेको छ। चैत मसान्तसम्म बैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २,५६,०३१ पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४।९ प्रतिशतले घटेको थियो । 

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले वृद्धि भई २,०६,६२९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो।

विदेशी मुद्राको स्रोतको रूपमा रहेको प्रत्यक्ष वैदेशीक लगानी ३३ प्रतिशतले बढेर १६ अर्ब रूपैयाँ पुगेको छ। तर, यो पर्याप्त देखिदैन। अनुदानको रूपमा आउने रकम यो अवधिमा ८ प्रतिशतले घटेर ४० अर्ब ८७ करोड रूपैयाँमा सीमित भएको छ। 

बिदेशी मुद्राको मूल स्रोत रेमिट्यान्स बढ्न नसकेको र आयातमा बढी खर्च हुँदा विदेशी मुद्राको सञ्चितीमा दबाब परेको छ। चैतमा १३ खर्ब ९९ अर्ब रूपैयाँ यस्तो सञ्चिती रहेको छ। यसले ६ महिना ६ दिनको लागि वस्तु तथा आयात धान्नेछ।

बैदेशिक रोजगारीमा जाने र पुन श्रम स्वीकृति लिनेको संख्या बढेकाले र बैदेशिक लगानी पनि बढ्दो क्रममा रहेकाले आगामी दिन बिदेशी मुद्रा संचितिमा कम दबाब देखिन सक्नेछ।      

बिदेशी मुद्राको मुख्य स्रोत रेमिट्यान्स घट्दा आयात बढेका कारण नेपालको आम्दानी र खर्चको सन्तुलन देखाउने शोधानान्तर घाटा ऋणात्मक भइरहेको छ।  

गत आवको यही अवधिमा ११ खर्ब ११ अर्ब कुल आयात भएकोमा यस वर्ष सोही अवधिमा १४ खर्ब ६६ अर्बको वस्तु तथा सेवा आयात भएको छ। यो करिब ३२ प्रतिशतले धेरै हो।

मुलुकको निर्यात ६९ प्रतिशतले बढेपनि रकम न्यून छ। नौ महिनामा १ खर्ब ६० अर्ब रूपैयाँको निर्यात भएको छ। हाल मुलुक १३ खर्ब रूपैयाँ व्यापार घाटामा छ। मुलुकको खर्चको तुलनामा आम्दानी बढ्न नसक्दा भुक्तानी सन्तुलन (शोधानान्तर) २ खर्ब ६८ अर्बले ऋणात्मक भएको छ। फागुनसम्म भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब थियो। 

त्यस्तै कोभिडका कारण रोकिएको अन्तराष्ट्रिय भ्रमण बढेसँगै मुलुकबाट धेरै रकम विदेशी मुद्राको रूपमा बाहिरिएको छ। यसरी भ्रमणमा हुने खर्च १ सय ३० प्रतिशतले बढेको छ। नेपालीहरूले विदेशको यात्रामै ६१ अर्ब रूपैयाँ खर्चिएका छन्। 

त्यस्तै, पर्यटकबाट हुने आम्दानी २ सय ३२ प्रतिशतले बढेर १८ अर्ब ४७ करोड रूपैयाँ पुगेको छ। तर, कोभिड पूर्वको अवस्थामा अझै आइसकेको छैन। अघिल्लो आव २०७ ६-७७ मा यो अवधिमा पर्यटकहरूबाट मुलुकलाई ५६ अर्ब रूपैयाँ आम्दानी भएको थियो।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved