निर्वाचन सकिएपछि निजी क्षेत्र उत्साही, भन्छन् - 'जित्नेले उद्यमशीलतालाई प्राथमिकतामा राख्नुपर्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2022 | 02:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय तहको निर्वाचनको मतगणना चलिरहँदा सबै क्षेत्रमा कौतुहलता बढ्दै गएको छ । सबैले आफ्नो आँखा र कान मतगणनाको अद्यावधिक तथ्यांकमा अड्याएका छन् । विशेष गरेर राजनीतिक र आर्थिक क्षेत्रमा चासो व्याप्त रहेको पाइन्छ ।

शुक्रवार साँझ सम्पन्न भएको ७ सय ५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । आयोगले निर्वाचनमा उत्साहपूर्ण सहभागिता रहेको दाबी गरेका छन् । काठमाडौँलगायत कतिपय ठाउँहरूमा मतगणना अनपेक्षित छ ।

बजेट आउनु भन्दा ठीक १६ दिन अघि भएको मतदानबाट आर्थिक क्षेत्र अछुतो रहने कुरै भएन । उद्योगी, व्यवसायी र निजी क्षेत्रले पनि निर्वाचनलाई उत्साहका साथ हेरिरहेको छ ।

बैंक तथा वित्तीय परिसंघका अध्यक्ष पवन गोल्यान अब निर्वाचित हुने प्रतिनिधिहरूले राजनीतिक भन्दा पनि आर्थिक एजेण्डामा काम गर्नुपर्ने बताउँछन् । 


'राजनीतिक भन्दा पनि आर्थिक एजेण्डालाई लिएर काम गर्ने हो भने राम्रो हुन्थ्यो,' गोल्यानले बिजपाटीसँग भने, 'निर्वाचन राजनीतिक विषय भएपनि आर्थिक क्षेत्रसँग जोडिएको पनि विषय हो ।'

यो निर्वाचनबाट मुलुकले राजनीतिक स्थायीत्व प्राप्त गर्ने बताए । 'यो निर्वाचनले राजनीतिक स्थायीत्वको एउटा सन्देश त दिन्छ नै । राजनीतिक स्थायीत्वले नै आर्थिक विकासको गति निर्धारण गर्ने हो,' उनले भने ।

यतिबेला बजेटको चर्चा हुनुपर्ने तर मुलुक निर्वाचनमा होमिएकाले बजेटका मुद्दाहरू ओझेलमा परेको उनको भनाइ छ । 'अब केही दिनमा बजेट पनि आउँछ । तर निर्वाचन भएकाले बजेटबारे चर्चा हुन पाएको छैन,' गोल्यानले भने, 'निर्वाचनबाट आउने परिणामले समस्याको दीगो समाधान होला भनेर आशा गरेको छु मैले ।'

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल निर्वाचनको मतपरिणामबारे आफू छिनछिनमा आफु अपडेट भइरहेको बताउँछन् । 'अहिले एफ एम सुनेर जानकारी लिइरहेको छु,' मल्लले बिजपाटीसँग भने, 'कहाँ कसले कति मत पाएको छ भन्नेमा चासो त हुने नै भयो ।'

उनले अब निर्वाचित भएर आउने जनाप्रतिनिधिहरूले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने बताए । 'जो निर्वाचित भएर आएपनि स्थानीय उत्पादनलाई प्रवर्द्धन गरेर अघि बढ्नुको विकल्प छैन । मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजाने हो भने स्थानीय जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ,' मल्लले भने ।

उनले अहिलेको स्थानीय निर्वाचनले लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरेको बताए । 'यसले लोकतन्त्र र गणतन्त्रको सुदृढीकरण गरेको छ,' मल्लले भने, 'यसअघि चुनिएका जनप्रतिनिधिहरूले के गर्ने, कसो गर्ने मेसो पाएका थिएनन् । पूर्वाधार थिएन । अहिले त्यो सबै सुविधा छ । त्यसैले मुलुक र जनताको फाइदा हेरेर अघि बढ्नुपर्छ ।'

नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा पनि अहिलेको निर्वाचनले आफूहरूमा बढी उत्साह थपेको बताउँछिन् । बिजपाटीसँगको संक्षिप्त कुराकानीमा राणाले भनिन्, 'म एकदम उत्साहित छु । कसले कति मत ल्यायो भनेर छिनछिनमा अपडेट भइरहन्छु ।'

अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरू निजी क्षेत्रमैत्री हुनुपर्ने बताइन् । निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा प्रभावकारी आर्थिक सुधार हुने उनको भनाइ छ ।

'राजनीतिक हिसाबले परिणाम जसको पक्ष/विपक्षमा पुगे पनि अब चुनिने जनप्रतिनिधिहरू निजी क्षेत्रमैत्री हुनुपर्छ,' राणाले भनिन्, 'हामीले पनि उद्योग वाणिज्य संघ गाउँ/नगरमा पुर्याएका छौं । हामीले अहिले पनि स्थानीय तहसँग मिलेर काम गरेका छौं । अब थप सहकार्यसहित त्यसको निरन्तरता हुन जरुरी छ ।'

राणाले स्थानीय जनप्रतिनिधिहरूले उद्यमशीलताको विकासलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताइन् ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved