अर्थमन्त्रीलाई प्रश्न, ‘बजेटको १ चौथाई भार जन्मिँदै नजन्मेको पुस्ताको टाउकोमा हालिदिन मिल्छ ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 10:42:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत भएपछि विभिन्न फोरममा पुगेर ‘पोष्ट बजेट’ छलफलमा अर्थमन्त्री जनार्दन शर्मालाई जवाफ दिन भ्याई नभ्याई छ । बुधबार नेपाल आर्थिक संघले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयसँग मिलेर त्यस्तै एउटा पोष्ट बजेट छलफल राख्यो ।

छलफलमा अर्थशास्त्री डा. पोषराज पाण्डेले बजेटका सम्बन्धमा अर्थमन्त्री शर्मालाई प्रश्नै प्रश्न तेर्स्याए । उनले बजेटको आकार र कार्यान्वयनमा मात्रै प्रश्न उठाएनन्, ‘साम्यवाद ल्याउन बन्दुक उठाएर हिडेको क्रान्तिकारी अर्थमन्त्रीले ल्याउने बजेट यस्तै हो ?’ समेत भन्न भ्याए ।

‘उहाँ त साम्यवाद ल्याउन बन्दुक उठाएको मान्छे, अहिले बजेटमा निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिन बनाउने भन्दिनुभयो’ डा. पाण्डेले भने, ‘एउटा कम्युनिष्टको मुखबाट यस्तो सुन्नुपर्ने ? साम्यवाद ल्याउन बन्दुक उठाएको अर्थमन्त्रीले ल्याउने बजेट यस्तै हो त ?’

डा. पाण्डेले रामशरण महत, डा. युवराज खतिवडा र जनार्दन शर्माले ल्याएको बजेटमा तात्विक भिन्नता केही नरहेको दाबी गरे । 

‘डा. महत, डा. खतिवडा र जनार्दन शर्मा ‘प्रभाकर’ले ल्याएको बजेटमा तात्विक भिन्नता केही छैन’ उनले भने, ‘कसैले ल्याएको कोकाकोला, कसैले ल्याएको पेप्सीकोला, केबल ब्राण्ड मात्रै फरक । स्वाद उस्तै ।’

‘अर्थमन्त्रीले खर्च गर्न सक्ने भनेको २५ अर्ब मात्रै हो’

‘जति नै ठूलो आकारको बजेट ल्याएपनि अहिले अर्थ मन्त्रालयसँग स्रातबाट उठ्ने भनेको त त्यहीँ १४ खर्ब ३ अर्ब हो । प्रदेश र स्थानीय तहमा १६३ अर्ब जाने भएको छ । त्यसपछि बाँकी बस्यो १२४० अर्ब । 

बाह्य र आन्तरिक ऋणको किस्ता र ब्याजमै १३२ अर्ब तिर्नुपर्ने हुन्छ । त्यसपछि बाँकी रह्यो ११०८ अर्ब । 

यसबाट पनि फेरि अनुदानका रुपमा प्रदेश र स्थानीय तहमा ३३२ अर्ब जान्छ । बाँकी बस्यो ७७६ अर्ब । 

त्यसबाट रेगुलर बजेट जाने गरेका संवैधानिक अंग र त्यहाँका कर्मचारीका लागि ३६४ अर्ब खर्च हुन्छ । अब बाँकी रह्यो ४१२ अर्ब । 

राष्ट्रपति, उपराष्ट्रपति कार्यालयसँग जोडिएका रेगुलर प्रोगामले १३७ अर्ब लैजान्छन् । त्यसपछि बाँकी हुन्छ २७५ अर्ब । अब क्रमागत योजनामा २५० अर्ब जति जान्छ । 

अब अर्थमन्त्रीले विवेक प्रायेग गरेर म ब्यापक राम्रो काम र योजना सुरु गर्छु भन्नका लागि बजेट नै कति बाँकी रह्यो ? त्यही २५ अर्ब जति हुन्छ । जति नै ठूलो कुरा गरेपनि २५ अर्बले त केही हुनेवाला छैन । 

त्यसैले, नेपालको अर्थमन्त्रीले केही गर्नै सक्दैन । अर्थमन्त्री हुन त गाह्रो पो छ त ।

बजेट आयो, खर्च ब्यहोर्ने को त ? अर्थमन्त्री मात्रै त होइन । कुन समुदायले कति प्रतिशत खर्च ब्यहोर्दा रहेछन् भनेर पछिल्ला वर्षको तथ्यांक हेर्दा यहाँ त जन्मिदै नजन्मेको पुस्ताले समेत ब्यहोर्नु पर्ने देखियो ।

धनीले १९ प्रतिशत मात्रै ब्यहोर्ने रहेछन् । बहुसंख्यक गरिब र केही मध्यम वर्गले ५२ प्रतिशत ब्यहोर्दा रहेछन् । विदेश तिर बस्नेले २.८ प्रतिशत मात्रै योगदान गर्दा रहेछन् । बाँकी कसले ब्यहोर्ने त भन्दा जन्मिदै नजन्मेको पुस्ताले पो रहेछ । बाँकी रहेको २६.२ प्रतिशत, ‘बजेटको १ चौथाई भार जन्मिदै नजन्मेको पुस्ताको टाउकोमा हालिदिन मिल्छ ?’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved