बजारमा एकै प्रकृतिको व्यवसाय गर्नेहरु धेरै भएको फाइदा भने भन्सार विभागका कर्मचारीहरुलाई भएको छ । उनीहरुले व्यवसायीबीच हुने प्रतिस्पर्धालाई देखाएर केही सूचनाहरु एक अर्काका प्रतिस्पर्धी व्यवसायीलाई उपलब्ध गराएर ‘अण्डर टेबल’मार्फत कमाईरहेका छन् ।
भन्सार ऐन २०६४ मा कसले, कति मूल्यमा र कति राजश्व तिरेर कुन बस्तुको आयात गरेको हो भनेर खुलाउन नपाईने व्यवस्था छ । यसले उपभोक्ता त ठगीमा परिरहेका छन् नै, सँगै भन्सारका कर्मचारीले प्रतिस्पर्धी व्यवसायीलाई एक अर्का सूचना दिएर ‘घुस’ लिईरहेका छन् ।
‘एउटा ए नाम गरेको कम्पनीले विद्युतीय गाडी ल्यायो भने उसले कति भन्सार तिर्यो, भन्सार तिरी सकेपछिको मूल्य कति हो भन्ने कुरा भन्सार विभागमा बाहेक अन्यत्र थाहा हुँदैन’ स्रोत भन्छ, ‘सँगै, बी नाम गरेको कम्पनीले पनि विद्युतीय गाडी नै ल्यायो । अब उसलाई ए कम्पनीले कति भन्सार तिरेर कति नाफा राखेको रहेछ, मैले अलिकति कम नाफा राखेर मूल्य तोक्दा मेरो गाडी पो छिटो बिक्रि हुन्थ्यो की भन्ने त हुन्छ । भन्सार ऐन–२०६४ को दफा ८८ (क) लाई देखाएर प्रतिस्पर्धी व्यवसायको मूल्य दिइँदैन । तर, त्यहाँ भएका कर्मचारीहरुलाई यसो २÷३ हजार लुकाएर दिएपछि तुरुन्तै दिन्छन् । हालत यस्तो छ ।’
के छ भन्सार ऐनमा ?
भन्सार ऐन–२०६४ को दफा ८८ (क) मा निकासीकर्ता वा पैठारीकर्ताको गोपनीयता सम्बन्धि व्यवस्था छ । उक्त व्यवस्थालाई देखाएर कुन बस्तु, कसले, कति मूल्य तिरेर आयात गर्यो भन्ने विवरण गोप्य राखिन्छ ।
भन्सार ऐन २०६४ को दफा ८८ (क) मा उल्लेख गोपनीयता सम्बन्धि व्यवस्थामा ‘निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा पेश गरेका गोपनीयता कायम राख्नुपर्ने पर्ने प्रकृतिका भन्सार मूल्याड्ढन सम्बन्धी सूचना तथा अन्य व्यक्तिगत व्यवसाायिक सूचनाहरू अधिकार प्राप्त अधिकारीबाट अनुसन्धान वा लेखापरीक्षणको प्रयोजनका लागि वा अदालतबाट न्यायिक कारबाहीको प्रयोजनका लागि माग भएको अवस्थामा बाहेक गोप्य राखिनेछ’ भनिएको छ ।
गाडी, मोटरसाइकल लगायतका सवारी साधनमा मात्रै नभई हरेक व्यवसायमा भन्सारका कर्मचारीले प्रतिस्पर्धी व्यवसायीको विवरण पैसा लिएर एक अर्कालाई दिने गरेको दाबी स्रोतको छ ।
‘मैले गाडी बेच्छु भने मैले मेरो प्रतिस्पर्धीको कुरा त लिन खोज्छु नि, तर सहजै पाउन सकिन्न’ स्रोतले थप्यो, ‘भन्सार ऐनको त्यहीँ बुँदा देखाईहाल्छन् । अनि यसो पैसा सैसा खुवायो, ल्यायो । यो सबैले ल्याउँछन् । मैले ल्याएकै जसरी अरुले पनि मेरो विवरण लगेका हुन्छन् ।’