कुलमानलाई बालेनको काउण्टर, ‘कर र महसुल फरक कुरा हुन् भन्ने बुझ्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 09:04:35 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाह (बालेन) नेपाल विद्युत प्राधिकरणलाई कर र महसुल फरक कुरा भएको भन्दै करलाई महसुलमा कट्टा गरेर साथी साथीबीचको सापटी लेनदेन जसरी मिलान गर्न नसकिने भन्दै काउण्टर दिएका छन् । 

मेयर शाहले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै महानगरलाई तिर्नुपर्ने कर बिजुलीको उपभोगवापतको महसुलमा कट्टा गरिने कुरा स्वीकार्य नहुने चेतावनी दिएका हुन् । 

‘कर र महसुल फरक कुराहरू हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुई जना साथीहरूको सापटी रकम जसरी मिलान गर्न सकिँदैन। ‘नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ’ बालेनले भनेका छन् । 

प्राधिकरणले काठमाडौँ महानगरले बिजुली उपभोग गरे वापतको रकम दाखिला नगरेको भन्दै सञ्चार माध्यममा प्राधिकरण स्रोतलाई उधृत गर्दै समाचार आएपछि बालेनले ५ बुँदामा काउण्टर दिएका हुन् । 

मेयर बालेनको फेसबुक स्टाटसः

काठमाडौँ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाए अनुसार रहेको ब्यहोरा अनुरोध छ ।

१) काठमाडौँ महानगरपालिका काठमाडौ महानगरबासीको सेवाका लागि स्थापित स्थानिय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।

२) नेपाल बिद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो ।

३) महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट संम्बन्धीत निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संबैधानिक निकायहरुबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ ।

४) सडक बत्ति महानगरबासीले प्रयोग गर्ने हो । महानगरक्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छररहदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ ।

५) सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ ।

योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिँदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved