
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले आफूखुशी बढाएको कर्जाको ब्याजदर नियन्त्रण नगरिए आफूहरु उद्योग व्यवसायको चाबी बुझाउन बाध्य हुने चेतावनी दिएका छन् ।
उद्योग वाणिज्य संघ काठमाडौँले आज आयोजना गरेको वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा काठमाडौँ उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका श्रेष्ठले बैंकहरुले बढाएको ब्याजदर नियन्त्रण गरिनुपर्ने बताए । उनले आफूखुशी ब्याज बढाएर बैंकहरुले उद्योगी व्यवसायीलाई ठगी रहेको आरोप पनि लगाए ।
उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकले बढ्दो ब्याजदर नियन्त्रण नगरे अर्थ मन्त्रालयल र राष्ट्र बैंकलाई उद्योग व्यवसायको चाबी बुझाउन आफूहरु बाध्य हुने चेतावनी पनि दिएका छन् ।
‘बैकहरुले उद्योगी व्यवसायीमाथि ठगी गरिरहेका छन्, तत्काल बैंकको ब्याज नियन्त्रण नगरे सरकार र राष्ट्र बैंकलाई उद्योग व्यवसायको चाबी बुझाउँछौँ’ उपाध्यक्ष श्रेष्ठले भने, ‘दशैँ मुखमा आएका कारण उद्योगी व्यवसायीको आन्दोलन केही रोकिएको जस्तो देखिएपनि माग सम्बोधन नभएसम्म रोकिनेवाला छैन ।’