बालेनले काठमाडौँ महानगरमा कतै भेटेनन् खेतीयोग्य जमिन

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 04, 2022 | 11:45:44 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको क्षेत्राधिकार भित्र कृषिका लागी खेतीयोग्य जमिन नरहेको निष्कर्ष निकालिएको छ । महागरले आफ्नो क्षेत्रभित्र पर्ने सबै जमिनलाई गैरकृषि भूमीमा वर्गीकरण गर्दै महानगरभित्र खेतीयोग्य जमिन नरहेको निष्कर्ष निकालेको हो ।

महानगरले ‘भू–उपयोग परिषद’ नै गठन गरेर आफ्नो क्षेत्राधिकार भित्र पर्ने जग्गाको अध्ययन गरेको थियो । तर, विज्ञ सहितको परिषदमार्फत अध्ययन गर्दा महानगरभित्र कृषियोग्य जमिन नभेटिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

मेयर शाह के भन्छन् ?

मंसिर ७ गते बुधबार काठमाडौँ महानगरको भूउपयोग कार्यान्वयन समितिको बैठक बस्यो । बैठकको अध्यक्षता महानगरका मेयर बालेन्द्र शाहले गरेका थिए । 

उक्त बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भूउपयोग कार्यान्वयन समितिले महानगरभित्र कृषि योग्य जमिन नरहेको भन्दै गरेको सिफारिस पेश गरेका थिए । उक्त सिफारिसलाई महानगरको बैठकले अनुमोदन गर्दै महानगरभित्रको सबै जमिनलाई गैरकृषि जमिनमा वर्गिकरण गरेको प्रवक्ता मानन्धरले जानकारी दिए ।

महानगरपालिकाले मालपोत कार्यालयलाई आफ्नो क्षेत्रमा पर्ने जग्गाको कित्ताकाटका लागि सिफारिस पनि गरिसकेको छ । 

बैठकपछि मेयर बालेन शाहले यसअघि रोक्का भएका जमिनको कित्ताकाट अब फुकुवा भएको जनाएका छन् । 

३२ वटै वडाले खेतीयोग्य जमिन नरहेको सिफारिस पठाए

महानगरले कार्तिक २ गते ३२ वटै वडामा भूउपयोग कार्यान्वयन उपसमिति गठन गरेको थियो । यो उपसमितिमा संयोजक सम्बन्धित वडाको वडाध्यक्ष र वडासचिवलाई सदस्य–सचिवको जिम्मेवारी थियो । 

सबै (३२ वटै) उपसमितिले महानगरको भूउपयोग कार्यान्वयन समितिमा आफ्नो वडामा कृषिका लागि जमिन नरहेको र सोही अनुसार वर्गीकरण गरिदिन सिफारिस गरे । यहीँ सिफारिसको आधारमा महानगरपालिकाको बैठकले महानगरभित्र खेतीयोग्य जमिन नरहेको निष्कर्ष निकाल्दै सबै जमिनलाई गैरकृषि जग्गामा वर्गीकरण गरेको हो । 

अब महानगरले गैरकृषि भूमिको सिफारिस दिनासाथ जग्गाको कित्ताकाट हुनेछ ।

भूमी मन्त्रालयले दिएको अधिकार प्रयोग गरेका हौँः महानगर

सरकारले २०७९ जेठ २३ गते भूउपयोग नियमावली–२०७९ राजपत्रमा प्रकाशित गर्यो । लगत्तै, भूमी व्यवस्था मन्त्रालयले जेठ २७ गते कृषि र गैरकृषिमा वर्गीकरण नभएको जग्गाको कित्ताकाट नगर्न देशैभरका मालपोत र नापी कार्यालयलाई परिपत्र गर्यो ।

सँगै, भूमी व्यवस्था मन्त्रालयले जग्गाको वर्गीकरणका लागि स्थानीय तहमा रहेका स्थानीय भूउपयोग परिषदलाई अधिकार दियो । 

‘हामीले भूमी मन्त्रालयले दिएको अधिकार प्रयोग गरेर उपसमिति बनाएर विज्ञ सहितको उपसमितिको सिफारिसका आधारमा महानगरभित्र कृषियोग्य जमिन छैन भनेका हौँ’ महानगरका प्रवक्ता मानन्धरले भने ।

४ आनाभन्दा कम क्षेत्रफल कित्ताकाट नहुने 

काठमाडौँ उपत्यकामा आवासीय क्षेत्रमा वर्गीकरण गरिएको जग्गाको ४ आना १.४१९ दाम (१३० वर्गमिटर) भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न पाइने छैन । 

५ सय वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाईभन्दा लम्बाई ४ गुणाभन्दा बढी हुनुपर्ने छ ।

कृषि क्षेत्रको रुपमा जग्गा वर्गीकरण नभएपछि अब महानगरभित्र आवासीय क्षेत्रमा जग्गा कित्ताकाट गर्न पनि कम्तीमा ४ आना १ दाम जग्गा हुनुपर्नेछ ।

काठमाडौँ महानगरको कुल क्षेत्रफल ४९.४५ वर्गकिलोमिटर छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved