अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्र सुधारका लागि केही दिनमै आक्रामक निर्णय आउँछन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 04:47:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र कसरी समस्यामा पर्यो भनेर ‘चिरफार’ गर्ने काम भइरहेको बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले पौष ११ गते अर्थमन्त्रीमा नियुक्त भएदेखि आजसम्म अर्थतन्त्र कसरी समस्यामा पुग्यो भन्नेबारे सुक्ष्म रुपमा ‘डायलासिस’ गर्ने क्रममै आफूले समय खर्चिरहेको बताएका हुन् । 

उनले अर्थतन्त्र समस्यामा छ भन्नेबारे चौतर्फी रुपमा कुराहरु आइरहेपनि आफ्नो मनमा भने जबरजस्त प्रश्न उठिरहेको पनि बताए ।

‘भूकम्पले ढाल्न नसकेको नेपाली अर्थतन्त्र, नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र अहिले किन चिन्ताजनक अवस्थामा छ ?’ उनले प्रश्न गर्दै भने, ‘किन सक्षम पाइलटको खोजी भइरहेको छ ? किन अर्थतन्त्रको इन्जिनको जाँच गर्ने कुरा गरिरहेका छौँ ?’ 

आफू अर्थमन्त्री भएपछि सकारात्मक सन्देशको सञ्चार भएको दाबी गर्दै उनले भने, ‘तर निर्णायक कदम चालिसकिएको छैन, अर्थतन्त्र सुधारका नीतिगत योजना बनाएर केही समयमै आक्रामक रुपमा प्रस्तुत हुन्छौँ ।’ 

उनले सार्वजनिक संस्थानहरुको नीतिगत र संरचनागत सुधारका लागि प्रयत्न थालिएको जनाउँदै केही दिनभित्रै आक्रामक निर्णय सार्वजनिक हुने दाबी गरे । 

उत्पादन वृद्धि, रोजगारी सिर्जना, निर्यात वृद्धि र आयात प्रतिस्थापन वर्तमान सरकारको मुख्य एजेण्डा रहेको भन्दै उनले निजी क्षेत्रसँग यो सरकारले वैरभाव नभई साझेदारी चाहेको पनि प्रष्ट पारे ।

‘उत्पादन क्षेत्रमा खर्च बढाउने र अनुत्पादक क्षेत्रको खर्च कटौती गरेर आर्थिक अनुशासन कायम गर्ने कुरामा वर्तमान सरकार चुक्दैन’ उनले दाबी गर्दै भने, ‘निजी क्षेत्रसँग वैरभाव राखेर, निजी क्षेत्रमाथि प्रहार गरेर होइन, निजी क्षेत्रलाई साथमा लिएर साझेदारी गर्न वर्तमान सरकार तयार छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved