पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले एकल अंकको ब्याजदर हुनुपर्छ भन्ने उद्योगी व्यवसायीको मागमा आफू सहमत रहेको बताएका छन् । तर, वर्तमान अवस्थामा तत्कालका लागि त्यो सम्भव नहुने उनले स्पष्ट पारेका छन् ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले अहिले निक्षेपमा मात्रै एकल अंकको ब्याजदर सम्भव हुने र कर्जाको ब्याजदर तल्लो अंकको डबल डिजिट (१० प्रतिशत) मा सिमित गर्न सक्नुपर्ने बताएका हुन् ।
‘ब्याजदर सिंगल डिजिटमा हुनुपर्छ, हो’ उनले भने, ‘तर अहिले निक्षेपमा मात्रै सिंगल डिजिटको ब्याजदर सम्भव छ, कर्जाको ब्याजदर तत्कालको अवस्थामा डबल डिजिटको तल्लो अंकमा मात्रै सम्भव छ, धेरै नखोजौँ न, धेरै खोज्दा केहीँ पनि नपाइने जोखिम हुन्छ ।’ उनले आयात घटिरहेको भनेर अर्थतन्त्र ठिक हुँदैछ भन्ने अवस्था नरहेको भन्दै औद्योगिक कच्चा पदार्थ र मेशिनरी औजारहरुको आयात घट्दा वैदेशिक ब्यापारमा आयात घटेको देखिएको बताए ।
‘उत्पादनमूलक उद्योगहरु क्षमताको ५० प्रतिशतभन्दा कममा चलेका छन्, लगानीको योजना बनाएकाहरुले २ देखि ३ वर्षका लागि लगानीको योजना सारेका छन्’ डा. खतिवडाले भने, ‘औद्योगिक कच्चा पदार्थ र मेशिनरीको आयात घट्दा सन्तुष्ट भएर बस्ने अवस्था छैन । यसमा सन्तुष्टि लिएर बस्दा झन समस्या आउँछ ।’
उनले औद्योगिक कच्चा पदार्थ र मेशिनरीको आयात घटेकै कारण विदेशी मुद्राको सञ्चितीमा सुधार देखिएको तर, अध्ययनका लागि विदेश जाने नाममा साउनदेखि मंसिरसम्म ३० अर्ब नेपाली रुपैयाँ बाहिरिएको तथ्यांक पनि पेश गरे ।
‘शिक्षामा, त्यसमा पनि वैदेशिक शिक्षामा ठूलो लगानी भएको छ, ५ महिनामा शिक्षाबापत ३० अर्ब रुपैयाँ विदेशिएको छ’ उनले प्रश्न गरे, ‘५ महिनामा ६ लाख पर्यटक आउँदा हाम्रो आम्दानी ३० अर्ब हुँदैन, अनि शिक्षाका नाममा ५ महिनामा यति ठूलो पैसा विदेश पठाएर आयात घटेको डाटा हेरेर सन्तुष्टि मनाउने ?’