झण्डै ८ खर्बको वस्तु आयात हुँदा ८० अर्बको मात्रै निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 04:10:15 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले वैदेशिक व्यापारमा संकुचन आएको तथ्यांक देखाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको रिपोर्टमा चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना (साउनदेखि पौषसम्म) नेपालको वैदेशिक व्यापार घाटा ७ खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ रहेको तथ्यांक सार्वजनिक गरेको हो । 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु निर्यात ३२.० प्रतिशतले कमी आई रु.८० अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ९५.५ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४०.१ प्रतिशत र २५.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ३.६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको नर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई रु.७ खर्ब ९२ अर्ब ६७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.४ प्रतिशत, २४.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्पm भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० को छ महिनामा कुल वस्तु व्यापार घाटा १९.२ प्रतिशतले कमी आई रु.७११ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४६.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.६० अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.११० अर्ब ९१ करोड बराबरको भएको थियो । 

वैदेशिक व्यापारको संरचना

वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४.२ प्रतिशत र ४५.८ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.८ प्रतिशत, ०.०२ प्रतिशत र ५२.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.१ प्रतिशत, पुँजीगत वस्तुको ८.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.६ प्रतिशत, १०.९ प्रतिशत र ३५.४ प्रतिशत रहेका थिए ।

निर्यात–आयात मूल्य सूचकाङ्क

वार्षिक विन्दुगत आधारमा २०७९ पुस महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क १.३ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ८.७ प्रतिशतले बढेको छ । 

२०७८ पुस महिनामा १.६ प्रतिशतले घटेको व्यापारको शर्त २०७९ पुस महिनामा ६.८ प्रतिशतले घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved