अर्थतन्त्रको वास्तविक तस्विर: महँगी बढ्यो, आम्दानी खुम्चियो, खर्च धान्नै सकस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2023 | 06:03:26 PM मा प्रकाशित

laxmi sunrise bank

अर्थमन्त्री, अर्थ मन्त्रालय र राष्ट्र बैंकले मूल्यवृद्धि वाञ्चित सीमाभित्रै वा वरिपरि नै रहेको दावी गरे पनि राष्ट्रिय तथ्याङ्क कार्यालयले भने अवस्था कमजोर हुँदै गएको चित्र सार्वजनिक गरिदिएको छ ।

आर्थिक गतिविधिमा सङ्कुचन भएको र आर्थिक क्रियाकलाप सुस्ताउँदा मुलुकको अर्थतन्त्र निक्कै मन्दीमा पुगेको कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ऋणात्मक रहेको आर्थिक वृद्धिदर वर्ष भरीमा जम्मा आधारभूत मूल्यमा २.१६ प्रतिशतमा सिमित रहने प्रक्षेपण तथ्याङ्क कार्यालयले गरेको छ । अझ उपभोक्ता मूल्य अनुसार त झन आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा खुम्चिने अनुमान छ । यसले पनि बजार मन्दीतर्फ धकेलिएको प्रष्ट हुने विभागकै अधिकारीहरु बताउँछन् ।

आर्थिक क्रियाकलामा सङ्कुचन आउँदा ‘मनी सर्कुलेशन’ हुन नपाएको र यसले आर्थिक वृद्धिदरसमेत रोकेपछि मानिसहरुको आम्दानीमा समेत धक्का लागेको देखिएको छ । यद्यपि ‍नेपालीको औसत आम्दानी १ हजार ४१० अमेरिकी डलर पुगेको छ । यो पनि कुल ग्राहस्थ उत्पादन अनुसार स्थिर सरह हो । किनकी, १ हजार ३९९ अमेरिकी डलर औसत आम्दानी गत वर्ष नै थियो । जम्मा ११ डलरले वार्षिक आम्दानी बढ्नु र महँगी नै ७ प्रतिशतभन्दा बढी हुनुले पनि मानिसहरुलाई खर्च धान्न सकस भइरहेको देखिएको छ ।

तथ्याङ्क कार्यालयले उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशतभन्दा बढी देखाएको छ । यसको अर्थ गत वर्ष एक सय रुपैयाँमा पाइने कुनै वस्तुको मूल्य अहिले १०७ रुपैयाँ पुगेको छ । तर, मानिसहरुको आम्दानी भने गत वर्षको तुलनामा वार्षिक ११ डलर मात्रै बढेको छ, अर्थात् मासिक ०.९१ डलर मात्रै बढेको छ । यसले पनि महँगी अनुसार उपभोक्ताको आम्दानी नबढ्दा खर्च धान्न मुस्किल परिरहेको देखाउँछ । 

आर्थिक गतिविधि सुस्ताउँदा अर्थतन्त्रमा योगदान गर्ने अन्य सबैजसो क्षेत्रहरूको उत्पादन पनि घटेको छ । जीडीपीमा उद्योग क्षेत्रको योगदान ५.३२ प्रतिशत छ । वनस्पति, तोरी र सोयाविन तेलसहित फलाम तथा स्टिलजन्य निर्माण सामग्रीको उत्पादनमा आएको कमिले उद्योग क्षेत्रमा गत वर्षको तुलनामा कुल मूल्य अभिवृद्धि २.०४ प्रतिशतले ऋणात्मक हुने अनुमान छ । अर्थतन्त्र चलायमान गराउन महत्त्वपूर्ण योगदान गर्ने निर्माण क्षेत्रको वृद्धिदर २.६२ प्रतिशतले ऋणात्मक छ ।

यद्यपि अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रकै छ । जीडीपीमा कृषि क्षेत्रको योगदान २४.६ प्रतिशत छ । चालु आर्थिक वर्षको अन्तिमसम्म २.६९ प्रतिशतले बढ्ने अनुमान छ ।

द्वितीय क्षेत्र (उद्योग, विद्युत्, ग्यास तथा आपूर्ति तथा ढल र फोहोर व्यवस्थापन र निर्माण)को योगदान अर्थतन्त्रमा १२.९ प्रतिशत छ । आर्थिक वर्षको अन्तिमसम्म यसको वृद्धिदर ०.५६ प्रतिशत हुने अनुमान छ । सेवा क्षेत्रको योगदान ६२.४ प्रतिशत छ । यसको वृद्धिदर २.३३ प्रतिशत हुने अनुमान छ ।

अण्डा तथा मासु खाने घटे 

पोल्ट्री व्यवसायीहरूले केही महिना अगाडिदेखि नै उत्पादन घटिरहेको र व्यवसायमा मन्दी आएको बताउँदै आएका थिए । उनीहरुको भनाइलाई पनि तथ्याङ्क कार्यालयले पुष्टी गरिदिएको छ । कार्यालयले दुध, अण्डा तथा मासुको उत्पादन घटेको देखाएको छ । उपभोग घट्दा अण्डा र मासु खानेहरु घटेको पनि देखिएको छ । व्यवसायीहरुले पनि यही कारण देखाउँदै ऋण तिर्न नसकिरहेको गुनासो गर्दै आएका थिए ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved