नेपालमा कस्तो पर्नेछ भारतमा भारु २ हजार प्रतिबन्धको असर ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 10:44:56 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको केन्द्रीय बैंकले गत हप्ता दुई हजार भारूको नोट प्रचलनमा नल्याउने घोषणा गरेसँगै भारतसँग खुला सिमाना रहेको नेपालमा यसले पार्ने असरबारे चर्चा सुरु भएको छ। गत शुक्रबार भारतको केन्द्रिय बैंक आरबीआईले दुई हजारको भारु नोट प्रचलनमा नरहने भन्दै ३० सेप्टेम्बर २०२३ भित्र साट्न सूचना जारी गरेको हो। 

नोभेम्बर २०१६ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अचानक पाँच सय र एक हजारको नोट बन्द गर्ने घोषणा गरेका थिए। जसलाई नोटबन्दी भनिएको थियो। यसको असर भारतमा मात्र नभइ नेपालमा पनि परेको थियो। भारत उक्त निर्णयको छ वर्षपछि पनि नेपालमा रहेका प्रतिबन्धित भारु नोटहरु फिर्ता गर्ने विषयमा सहमति जुट्न सकेको छैन। यही बेला भारु दुई हजारको नोट प्रचलनमा नआउने निर्णयले नेपालमा थप कस्तो असर पर्छ भन्नेबारे चर्चा बढेको छ। 

भारतको पहिलो नोटबन्दीको नेपालमा असर

सन् २०१६ मा जब भारतमा अचानक पाँच सय र एक हजार भारु नोटमा प्रतिबन्ध गरिएको थियो। त्यो बेला पाँच सय र हजारको नोट करिब ८ करोड ११ लाख भारु नेपालका बैंकमा जम्मा थियो। 

नेपाल राष्ट्र बैंकको अनुसार नेपालका विभिन्न बैंकमा ५०० को ६८ हजार १४७ नोट र एक हजारको १६ हजार ५५२ नोट अहिले पनि सुरक्षित छन्। यसको साथै नेपालमा आमसर्वसाधारणको साथमा पनि यी नोटहरु भएको अनुमान गरिएको छ। यद्यपि यस्ता नोट सर्वसाधारणको साथमा कति छन् भन्ने यकिन तथ्याङ्क छैन। 

सन् २०१६ को नोटबन्दी पश्चात नेपालमा भारु एक सयको नोटभन्दा बढी मूल्यको नोट प्रचलनमा रोक लगाइएको छ। नेपाल राष्ट्र बैंकले यसबारे नोटिस पनि जारी गरेको थियो। यसको अर्थ अहिले नेपालको बैकिङ प्रणाली सयभन्दा बढी मूल्यका भारु नोट उपलब्ध छैनन्। 

यही यथार्थलाई आधार मानेर राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी नारायण पोखरेलले भारतले  भारु २००० को नोट प्रचलनमा नल्याउने घोषणाले नेपालमा असर नपर्ने बताएका छन्। भारतमा भारु दुई हजारको नोट प्रचलनमा नल्याउने निर्णयको असर नेपालमा शुन्य हुने जनाइएको छ।  

बैंकिङ प्रणालीमा नभए पनि छिमेकी तथा खुला सिमाना भएको कारण नेपालका सर्वसाधारणसँग सय भन्दा ठुला नोटहरु हुन सक्छन। जसकारणले नेपाली ग्राहकवर्गमा असर परेको देखिन्छ। पोखरेलका अनुसार नेपालमा भारतीय खुला सिमाका कारण नेपालका सर्वसाधारणसँग प्रतिबन्ध लगाइएको भारु नोटहरु साथमा हुने अपेक्षा गरिएको छ। 

जुन नेपालीको साथमा छ उनीहरुको के हुन्छ ?

भारत र नेपालबीच लामो सीमाना रहेको र खुला सीमानाका कारण नेपालबाट केही नोटहरु यताउता हुनु सामान्य भएको बताइएको छ। नेपाल सरकारले भारु एक सयको भन्दा ठूला नोट अवैध घोषणा गरे पनि सर्वसाधारणसँग केही मात्रामा दुई हजारको नोट भएको आशङ्का गरिएको छ। भारतीय रिजर्भ बैंकका अनुसार २३ मे पश्चात आफूसँग भएका भारु २ हजारको नोट बैंकमा गएर साट्न सकिन्छ। 

नेपाल राष्ट्र बैकका सहप्रवक्ता तथा सूचनाअधिकारी नारायण पोखरेलकाअनुसार नेपालमा यदी कोहीसँग दुई हजारको नोट छ भने उनीहरुले आफ्नै प्रयासमा यस्ता नोट साट्नुपर्नेछ। 'व्यक्तिगत प्रयासबाट नै यस्ता नोट साट्नुपर्ने छ, यो प्रयास नेपाल र भारतको बैंकिङ प्रणालीबाट साट्न सम्भव छैन, किनकी नेपालमा दुई हजार भारु नोट अवैध रहेको छ। भारतले तोकेको समयमा नै नोट साटिएन भने यो नोट कागजमा परिणत हुनेछन', उनले भने। 

सन् २०१६ भन्दा अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा नेपाल र भारतबीच भएको सम्झौताअनुसार नेपालमा पनि पाँच सय र एक हजार भारु नोट प्रचलनमा आएका थिए। 

भारतमा यी नोटमाथि प्रतिबन्ध लगाइएपछि नेपालमा रहेका करिब ८ करोड ११ लाख बराबरका भारु नोट अहिले पनि साटिएका छैनन्। तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा नेपालमा रहेका भारु ५०० र एक हजारका नोट साट्न आग्रह गरेका थिए। 

पछि सोही वार्तालाई आधार मानेर भारत र नेपालका गभर्नरबीच यस विषयमा छलफल भएको थियो। भारतका गभर्नरले यस्ता नोट साट्ने प्रयास सरकारीस्तरबाटै हुनुपर्ने धारणा व्यक्त गरेका थिए। 

हालै मात्र गत अप्रिलमा नेपाल र भारतको केन्द्रीय बैंकबीच वार्ता भए पनि यो विषयमा भने कुनै कुराकानी हुन सकेन। पटक पटकको प्रयासमा पनि भारत सकारात्मक नभएकाले नेपाल यी नोट साटिनेमा आशावादी नरहेको राष्ट्र बैंक स्रोत जनाउँछ। 

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको तयारी गर्दैछन। तर उनको भ्रमणको क्रममा पनि नेपालमा रहेका भारतमा प्रतिबन्धित नोट साट्ने विषयमा कुरा उठाउने सम्भावना पनि अत्यधिक न्यून रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved