करले डामेपछि व्यवसायीले ठप्प पारे आलु-प्याज आयात, महँगिदै भान्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2023 | 01:15:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेट भाषणमार्फत सरकारले तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि आलु र प्याजको आयात ‘शून्य’मा झरेको छ । यसअघि भारतबाट आयात हुँदै आएको आलु र प्याज जेठ १८ गतेपछि आयात हुन छाडेको हो । करलाई कारण देखाएर व्यवसायीले आयात रोक्दा अब भान्छा महँगिने देखिएको छ । 

अहिले कालिमाटी फलफूल तथा तरकारी बजारबाट भारतीय आलु बिक्री भइरहे पनि यो यसअघि नै आयात भएर बसेको स्टक मात्रै भएको र नयाँ आलुको आयात ठप्प रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले बताए । उनका अनुसार आलु लामो समयसम्म रहने भएकाले अहिले स्टकमा रहेको आलु नै बिक्री भइरहेको र मूल्यमा पनि खासै फरक छैन । भारतीय आलुको मूल्य आज प्रतिकिलो अधिकतम् ३८ रुपैयाँ र न्यूनतम् ३६ रुपैयाँ छ । प्याज भने सकिएको छ । स्थानीय हरियो प्याज रहे पनि आयात हुने सुकेको प्याज नहुँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज प्याजको मूल्यसूची नै राखेको छैन । 

‘बजेटपछि जेठ १६, १७ र १८ गते भारतबाट प्याज आएको थियो, तर त्यसपछि आयात शून्य छ’ कार्यकारी निर्देशक पुडासैनीले भने, ‘हिजो (मंगलबार)बाट प्याजको कारोबार नै छैन, त्यही भएर मूल्यसूची पनि राख्न छोडेका छौँ ।’ अब प्याज आउँछ की आउँदैन भन्ने अन्यौल नै रहेको उनको भनाइ छ । 

‘बाहिर महँगो भइसक्यो भन्ने सुनिएको छ, तर प्याजको कारोबार यहाँबाट शून्यमा झरेको छ’ कार्यकारी निर्देशक पुडासैनीले थपे, ‘बाहिर अहिले बिक्री भइरहेको प्याज पनि यहीबाट केही दिन अघिसम्म गएको स्टक हो, त्यो सकिएपछि बाहिर पनि नपाउने अवस्था आउने सक्छ ।’

सरकारले तरकारीको आयातमा भ्याट लगाएपछि आयात रोकिएर बजारमा प्याजको अभाव हुँदै गएको छ भने अन्य तरकारीको पनि भाउ बढेको छ । केराउ, सागपात, कोसे तरकारी, केराउ, बोडीमा भ्याट लगाएपछि यी तरकारी महँगिएका छन् । घिरौला, टमाटर, बन्दा कोभी, काउलीलगायतका तरकारीमा भ्याट लगाइएको छैन । तर पनि अन्य तरकारीको भाउ बढ्दा भ्याट नलाग्ने र कम मात्रामा आयात हुने यस्ता तरकारीको भाउ पनि आकासिएको छ । 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका हुन् । जेठ १५ गते बजेट प्रस्तुत भएपछि जेठ १६ गतेबाटै यो निर्णय लागू भएको हो ।

फलफूलको पनि भाउ बढ्यो

अर्थमन्त्री डा महतले बढी मात्रामा आयात हुने फलफूलमा भ्याट लगाउन सुरु गरेपछि स्याउ, किबी, एभोकाडो र हलुवावेद जस्ता फलफूलको भाउ बढेको छ । जेठ १५ गते (बजेट भाषण हुने दिन)सम्म प्रतिकिलो ४५० रुपैयाँ रहेको एभोकाडोको मूल्य आज प्रतिकिलो न्यूनतम् ५ सयदेखि अधिकतम् ६ सय रुपैयाँसम्म पुगेको छ । 

स्याउको भाउ पनि जेठ १५ गतेको तुलनामा प्रतिकिलो ५५ रुपैयाँले महँगो हुँदै प्रतिकिलो ३२० रुपैयाँसम्म पुगेको छ । भ्याट लाग्न थालेपछि भूइँकटहर प्रतिगोटा २ सय रुपैयाँसम्म पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved