कर छली गरी रुट्सले भित्र्यायो चर्चित ब्राण्ड एडिडासका जुत्ता, २ करोड विगो हुनसक्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2023 | 03:45:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कम मूल्य देखाएर एडिडास ब्राण्डका जुत्ता आयात गर्दा जुत्ता भित्र्याउने कम्पनीले २ करोड १५ लाख बराबरको राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । 

अहिले उक्त कर छलीका सम्बन्धमा राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरले अनुसन्धान गरिरहेको छ । केही हप्तामा विस्तृत अनुसनधान सकेर विगो कायम गरी उच्च अदालतमा मुद्दा लैजाने तयारी भइरहेको छ । 'उक्त कम्पनीमाथि २ करोडमाथि विगो कायम गरी अभियोजन हुनसक्छ, अहिले अनुसन्धानकै चरणमा भएकाले यकिन भन्न सकिँदैन', कार्यलयका एक अनुसन्धान अधिकृतले भने । 

पूर्व पश्चिम लोकमार्गको मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिका–१५ बाट वैशाख २९ गते ६ करोड ४२ लाख २९ हजार मूल्य लेखिएको प्रज्ञापनपत्रसहित एडिडास ब्राण्डका जुत्ता बोकेका ३ वटा ट्रक शसस्त्र प्रहरीले समातेको थियो ।

कम मूल्याङ्कन गरेर जुत्ता भित्र्याएको भन्ने विशेष सूचनाका आधारमा शसस्त्र प्रहरीको १४ नम्बर गण मकवानपुरले जुत्ता र ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो । विभागले प्रारम्भिक रुपमा अनुसन्धान गर्दा भन्सार विभागले राखेको सूचना मूल्यसूची अनुसार ९३ हजार डलर बराबरको मूल्य कम गराएर जुत्ता ल्याइएको पाइएको हो ।

नेपालमा एडिडास ब्राण्डका जुत्ताको आयात गर्ने कम्पनी ‘रुट्स फेसन प्रा.ली.’ हो । रुट्सले कम मूल्याङ्कन देखाएर भन्सार छली (कर छली) गरेर जुत्ता भित्र्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र अब यसबारे विस्तृत अनुसन्धान हुने राजस्व अनुसन्धान विभाग स्रोतले बताएको छ ।

‘न्यून मूल्य देखाएर ल्याएको भन्ने देखियो, त्यही भएर सोही बराबर र जरिवानासमेत गरेर बिगो कायम हुन्छ’ विभाग स्रोतले भन्यो, ‘विभागले नै अनुसन्धान गर्छ, विस्तृत अनुसन्धानमा जाने वितिक्कै धरौटी पनि माग हुन्छ । विस्तृत अनुसन्धानले बिगो के कति कायम गर्ने भन्ने निक्र्याेल गर्छ, प्रारम्भिक अनुसन्धानले कैफियत भएको देखाएको छ ।’

रुट्स फेसन प्रा.ली. नेपालमा एडिडासका जुत्ता, रिबुकका जुत्तासहित लेभिस, पुमा, नाइकलगायतका कपडा आयात गर्ने कम्पनी हो । रुट्स सन् २००० देखि एडिडाससँग जोडिएको थियो । कम्पनी दरबारमार्गको शेर्पा मलमा छ । काठमाडौँभित्र र बाहिर पनि यसका शोरुमहरु सञ्चालनमा छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved