
 2mb (1).gif)
नेपाल राष्ट्र बैंकले महंगी घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले उपभोक्ता मुद्रास्फीति घटेको देखाएको हो ।
राष्ट्र बैंकका अनुसार २०८० साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ ।
तर उपसमूह अन्तर्गतका शिर्षक हेर्ने हो भने महंगी बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४५.५६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.२० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १२.१९ प्रतिशत, रेष्टुरेण्ट तथा होटलको ११.०५ प्रतिशत र तरकारीको १०.८० प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.१३ प्रतिशतले घटेको छ ।
साथै, गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५५ प्रतिशत, शिक्षाको ९.१० प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ६.९३ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ६.७९ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.८१ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत, तराईको ६.७० प्रतिशत, पहाडको ७.५० प्रतिशत र हिमालको ११.४६ प्रतिशत रहेको छ । २०७९ साउन महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.३९ प्रतिशत, ८.७२ प्रतिशत, ८.६४ प्रतिशत र ६.६४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०८० साउन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १२.५८ प्रतिशत रहेको थियो ।
२०८० साउन महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.०० प्रतिशत, २.५५ प्रतिशत र २.७२ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ०.०५ प्रतिशतले घटेको छ ।