‘पेट्रोल र डिजेलको आयात घट्नुमा इलेक्ट्रिक गाडीको कुनै योगदान छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 09:14:27 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले नेपालमा विद्युतीय सवारी साधन चल्न थालेकाले पेट्रोलियम पदार्थको आयात घटेको चर्चा हुन थालेको छ । गत आर्थिक वर्ष २०७९/०८० को ४ महिना र चालु आर्थिक वर्ष २०८०/०८१ को ४ महिनामा आयात भएको पेट्रोल तथा डिजेलको तथ्यांकलाई हेरेर विद्युतीय गाडीका कारण पेट्रोल र डिजेलको आयात घटिरहेको भनेर इभी बिक्रेताले प्रचार गरिरहेका छन् ।

गत आर्थिक वर्ष २०७९÷०८० को ४ महिना (साउनदेखि कार्तिकसम्म)मा ७० अर्ब १० करोड ५७ लाख ६० हजार बराबरको ५ लाख ५० हजार ९०२ किलोलिटर डिजेल आयात भएको थियो भने ३३ अर्ब ५३ करोड ५७ लख ८ हजार बराबरको ३ लाख ३४ हजार ३१५ किलोलिटर पेट्रोल आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ४० अर्ब ३१ करोड २४ लाख ८८ हजार बराबरको ३ लाख ५९ हजार ६ सय किलोलिटर डिजेल र २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार बराबरको २ लाख २३ हजार ८१० किलोलिटर पेट्रोल आयात भएको छ । यहीँ तथ्यांकलाई देखाएर इलेक्ट्रिक गाडीका बिक्रेताहरुले विद्युतीय गाडीका कारण पेट्रोल र डिजेलको आयात घटिरहेको दाबी पेश गरिरहेका छन् ।

तर, पेट्रोलियम पदार्थको बिक्रि वितरण गर्ने व्यवसायीहरु भने डिजेल र पेट्रोलको आयात घट्नुमा ‘इलेक्ट्रिक भेहिकल’को कुनै योगदान नरहेको बताउँछन् । विगत वर्षको तुलनामा २५ प्रतिशत जतिले डिजेल र पेट्रोलको आयात घटेको भएपनि इलेक्ट्रिक सवारी साधनको कारणले नभई अन्य कारणले आयात घटेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधान बताउँछन् ।

‘हरेक वर्ष इन्धन आयातको ग्रोथ रेट १० प्रतिशत थियो, अहिले चाहिँ २५ प्रतिशत जतिले घटेको छ’ उनले भने, ‘यसको पहिलो कारण नेपालमा विकास निर्माणको काम नहुँदा ढुवानीका साधन चलेका छैनन्, यसले डिजेलको आयात घटेको छ । दोस्रो चाहिँ सीमा क्षेत्रमा हाम्रो तिरभन्दा भारतीय बजारमा इन्धनको मूल्य सस्तो हुँदा नेपाल घुम्न आउने भारतीय गाडीले उतै पेट्रोल भरेर आउने र सीमा क्षेत्रका नेपाली पनि भारतीय बजारमै गएर तेल हालेर आउँछन् । अहिले सीमा क्षेत्रको कारणले १० प्रतिशत आयात घटेको छ भने ढुवानी व्यवसाय ठप्प हुँदा १५ प्रतिशत आयात घटेको छ ।’

काठमाडौँमा मात्रै एक दिनमा ९ सयदेखि १ हजार किलोलिटर पेट्रोल खपत हुने भएकाले इलेक्ट्रिक सवारीका कारण दिनमा २० लिटर जति पेट्रोलको खपत कम भएको हुन सक्ने प्रधानको भनाई छ ।

‘दिनमै ९ सयदेखि १ हजार किलोलिटर खपत हुने ठाउँमा २० लिटर घट्यो होला, यसले त्यस्तो खास योगदान के नै भयो र ?’ उनी प्रश्न गर्दै थप्छन्, ‘इलेक्ट्रिक गाडीको संख्या नै कति छ र ? भएकामध्ये निजी कारहरु बढी छन्, ति दिनमा मुस्किलले १५/२० किलोमिटर गुड्ने हुन् । यो भनेको एक लिटर पेट्रोलले गुड्ने भन्दा पनि कम हो । यसकारण इभीको खास केही इफेक्ट छैन, अहिले डिजेल पेट्रोलको आयात घट्नुमा इभीको कुनै योगदान छैन ।’

पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष प्रधानका अनुसार डिजेलको खपत हेर्ने हो भने ९० प्रतिशत ढुवानीमा जान्छ, बाँकी १० प्रतिशत व्यक्तिगत प्रयोजनमा जान्छ । 

‘अहिले विकास निर्माणको काम भएको छैन, क्रसर चलेका छैनन्, सिमेन्ट उद्योग चलेका छैनन्, डण्डी उद्योग चलेका छैनन्, इँटा भट्टा चलेका छैनन्, सबै खालका उद्योगहरु क्षमताको २५ देखि ३० प्रतिशतमा मात्रै चलेका छन्, यो भनेको बजारमा कन्ट्रक्शनको काम नभएको अवस्था हो’ उनले भने, ‘अहिले जति पनि खपत भइरहेको छ, त्यो दैनिकीमा मात्रै खर्च भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved