भन्सारको यार्डमा रहेका शंकास्पद मालवस्तुको अप्रेशन सुरु, ५ वर्षदेखिका सामान निरिक्षण हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 09:26:57 AM मा प्रकाशित

सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएर लुकाएका शंकास्पद वस्तुहरू रहेको सूचना पाए पछि भन्सार विभागले सर्च अभियान तीब्र पारेको छ। विभागका शाखा अधिकृत मधु खनालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा सन् २०१८ देखि थन्किएर रहेका  ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका वस्तुहरू रहेका करिव ३८० कन्टेनरहरू कन्टेनर खोलेर चेकजाँचको काम शुरु गरेको छ।

हालसम्म १८३ कन्टेनरहरूको चेकजाँच सम्पन्न गरेको छ । चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिवन्ध रहेका र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराऊ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल लगायतका मालवस्तुहरू फेला परेका छन्।

 विगतमा बढि भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिवन्ध रहेका वस्तुहरुलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनि भन्सार बाट छुटाउने गरेकोमा भन्सार विभागले आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाई भन्सार कार्यालयबाट जाँचपास हुने  हरेक मालवस्तुको निगरानी गर्ने र शंकास्पद देखिएमा विभाग बाटै टोली खटाई पुन:भौतिक परिक्षण गर्न थालेको हो । 

 यसले एउटा वस्तुलाई अर्कै भनी घोषणा गर्ने प्रवृत्तिमा नियन्त्रण आएको कारण भन्सारमा आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनी ल्याएका मालवस्तु घोषणा नगरी भन्सारमा कमजोर नेतृत्व भएको बखत भन्सार छुटाउने गरि बेवारिसे बनाई राखेको पाइएको विभाग स्रोत बताउछ। यस्ता मालवस्तु ल्याउने पैठारीकर्ताको पहिचान गरी दोषी माथि हदै सम्मको कारवाही गरिने भन्सार विभागको उच्च स्रोतले जानकारी गराएको छ।

पछिल्ला दिनमा भन्सार विभागको नेतृत्व भन्सारबाट हुन सक्ने गलत क्रियाकलाप नियन्त्रण गर्न कडा रुपमा प्रस्तुत भएको छ। ६० दिन भन्दा बढि अवधि देखि रहेका सबै प्रकारका मालवस्तु जफत गरी लिलाम गर्न र शंकास्पद कन्साइनमेन्टमा कडा निगरानी राख्न सबै भन्सार कार्यालयहरू लाई निर्देशन दिएको छ।

विभागबाट अनलाइनको माध्यमबाट हुने  प्रत्यक्ष अनुगमन कार्यलाई प्रभावकारी बनाई बिदाको दिनमा र कार्यालय समय अगाडि पछाडि समेत सबै भन्सार कार्यालयको अनुगमन गर्ने कार्यको थालनी गरिएको छ । अनुगमनको क्रममा भन्सार मूल्यांकन, वस्तु वर्गीकरण र मालवस्तुको घोषणामा कुनै कैफियत देखिएमा तत्काल भन्सार ऐन अनुसार कारवाही गर्न लगाउने गरिएको छ । यसरी अनुगमन गर्दा गम्भिर राजस्व छली हुन सक्ने देखिएमा त्यस्ता कन्साइनमेन्ट रोकी विभागबाटै छड्के परीक्षणको लागि टोली पठाउने गरेको छ ।

त्यस्तै, भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोगलाई पूर्ण उपयोग, भन्सार जाँचपासमा जोखिम व्यवस्थापनको प्रयोग,  नियमित प्रणाली परीक्षण गरी कुनै कैफियत देखिएमा वर्ष भरिकै छुट रकम असुली र राजस्व चुहावटमा कुनै कर्मचारी संलग्न देखिएमा तत्काल जिम्मेवारी बाट हटाउने जस्ता  नीति अवलम्बन गरिएको पाइएको छ ।

यसको परिणाम स्वरुप २०८० मंसिर महिनामा आयात व्यापार अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले घट्दा पनि राजस्व संकलन १९.२ प्रतिशतले बढेको देखिएको छ ।

 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved