नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले मुलुकमा कुशासन मौलाएका कारण अर्थतन्त्र अफ्ट्यारोमा परेको बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित भएक कार्यक्रममा उनले शासन व्यवस्था ठिक हुनासाथ अर्थतन्त्र जुरुक्क उठ्ने ठाउँमा रहेको पनि बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री हुनुभन्दा अगाडी अर्थतन्त्र बिग्रिएकाले अहिले आफू आएपछि ठिक गर्दै लगेको भनेर गलत भाषणबाजी गरिरहेको पनि टिप्पणी गरे ।
‘प्रधानमन्त्रीले म प्रधानमन्त्री हुनुभन्दा अगाडी नास भइसकेको अर्थतन्त्र अब चाहिँ ठिक हुँदैछ भन्नुभयो’ डा. रिजालले भने, ‘उहाँ प्रधानमन्त्री हुनुभन्दा अगाडी उहाँको पार्टी सरकारमा थियो कि थिएन ? त्यो सरकारको अर्थमन्त्री को थियो ? वास्तविकतालाई ढाकछोप गरेर मूल विषयवस्तुबाट उम्किन पाइँदैन ।’
३३ वर्षमा मुलुकको कुल ग्राहस्थ उत्पादन ४५ प्रतिशत र राजस्व १ सय गुणा बढे पनि देशले रोजगारी सिर्जना र उत्पादनमा खास उपलब्धि हासिल गर्न नसकेको डा. रिजालको भनाइ छ ।
‘उनीको गलैँचा बनायौँ तर उन चाहिँ न्यूजिल्याण्डबा ल्यायौँ, गार्मेन्ट बनायौँ, तर कपडा र कामदारसमेत विदेशबाट ल्यायौँ’ उनले भने, ‘विगत ३३ वर्षमा राजस्व सय गुणा बढेको छ, जीडीपी ४५ प्रतिशत बढेको छ । तर, खास उपलब्धि भएन । देशमा कुशासन मौलाएको छ, कुशासनका कारण अर्थव्यवस्थामा धक्का लागेको छ ।’
उनले डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा २ खर्ब ७० अर्ब पूँजीगत खर्च भएकोमा त्यसपछि विकास बजेट खर्च हुनै छाडेको बताए । उनले अहिले भइरहेको पूँजीगत खर्च र अहिले छुट्याइएको विकास बजेटले नपुग्ने पनि बताए । पूर्वमन्त्री डा. रिजालले पूँजीगत बजेट खर्च गर्न सक्ने क्षमता नास भइरहेको पनि बताए ।
उनले मुलुकले कहिलेसम्म विदेशी अनुदान, ऋण, सहायता स्वीकार गरिरहने भन्ने पनि यकिन हुनुपर्ने धारणा राखे ।
‘अनुदान, ऋण, ग्राण्ड कहिलेसम्म लिने भन्ने हुनुपर्छ, विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि के गर्ने ?’ उनले भने, ‘यो बहस हुनुपर्छ ।’