भन्सार जाँचपास परीक्षण कार्यालयले शंकास्पद ३६० फर्म तथा कम्पनीको अडिट सुरु गरेको छ । गत आर्थिक वर्ष २०७९/०८० र चालु आर्थिक वर्ष २०८०/०८१ को ४ महिनामा जारी भएका प्रज्ञापनपत्रमध्ये शंकास्पद ३६० वटोको भन्सार जाँचपास सुरु भएको जाँचपास परीक्षण कार्यालय स्रोतले जनाएको छ ।
कुल ३६ हजार बढी प्रज्ञापनपत्र जारी भएकोमा ३६० वटा प्रज्ञापनपत्रको भन्सार जाँचपास परीक्षण सुरु गरिएको कार्यालयले जनाएको छ । कार्यालय स्रोतका अनुसार भन्सार विभाग र भन्सार जाँचपास परीक्षण कार्यालयले संयुक्त रुपमा शंकास्पद आयात निर्यातकर्ता फर्म तथा कम्पनी छनोट गरेका छन् । कुल ३६० मध्ये भन्सार विभागले १८० र जाँचपास परीक्षण कार्यालयले १८० फर्म तथा कम्पनीको छनोट गरेका छन् ।
‘विभागले छनोट गरेर अनुसन्धानका लागि हामी कहाँ पठाउने १८० मध्ये १५० कम्पनीको सबै विवरण पठाइसकेको छ, बाँकी ३० वटा उसले केही दिनमा पठाउने छ’ भन्सार जाँचपास परीक्षण कार्यालय स्रोतले भन्यो, ‘हामीले पनि १८० मध्ये १२० वटा छनोट गरिसकेका छौँ, बाँकी ६० वटा छनोट हुने क्रममा छन् । अहिले विभागले छनोट गरेर पठाएका १५० र हामी आफैँले छनोट गरेका १२० गरि कुल २७० वटा आयात तथा निर्यातकर्ता र्फम एवम् कम्पनीको अडिट सुरु भएको छ ।’
अब विभागले ३० र कार्यालयले ६० गरि ९० वटा फर्म तथा कम्पनी छनोट हुन बाँकी छ ।
भन्सार विभाग र भन्सार जाँचपास परीक्षण कार्यालयले कुल ३६० वटा आयात तथा निर्यातकर्ता फर्मको अनुसन्धानबाट १९ करोड राजस्व संकलनको लक्ष्य लिएका छन् । आर्थिक वर्ष २०७९÷०८० र चालु आर्थिक वर्ष २०८०÷०८१ को ४ महिनामा जारी भएका प्रज्ञापनपत्रमध्ये शंकास्पद देखिएका ३६० वटा फर्म तथा कम्पनीबाट करिब साढे ९ करोड राजस्व हिनामिना भएको आशंका लागेकाले जरिवानासहित १९ करोड राजस्व संकलनको लक्ष्य राखिएको बताइन्छ ।
‘अनुसन्धान तथा अडिटमा परेका सबै फर्म तथा कम्पनीहरुबाट गलत काम भएको छ भन्ने होइन’, स्रोत भन्छ, ‘विभाग र जाँचपास कार्यालयले शंकास्पद लागेका ३६० वटा कम्पनी छनोट गरेका छन्, १९ करोड राजस्व संकलन गर्ने वा थप हुने अनुमान गरिएको छ ।’
भन्सार जाँचपास गर्दा भन्सार तथा राजस्व छली गरेको पाइएमा छली गरेको राजस्व अशुल गरिनेछ भने सोही बराबर जरिवानासमेत लाग्नेछ । भन्सार विभाग र भन्सार जाँचपास परीक्षण कार्यालयले आधा आधा शंकास्पद प्रज्ञापनपत्रको छनोट गर्ने भए पनि अनुसन्धान भने सबै जाँचपास परीक्षण कार्यालयले गर्नेछ ।