नेपालमा पहिलो पटक बिलेटमा पनि गुणस्तर मापन हुँदै, स्टिल व्यवसायी बीच विवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2024 | 02:24:23 PM मा प्रकाशित

नेपालमा पहिलो पटक बिलेटमा पनि गुणस्तर मापन हुने भएको छ।

बिलेटमा गुणस्तर मापन गर्नका निम्ती सरोकारवालाहरुलाई डाकेर छलफल गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। 

विभागका सूचना अधिकारी सन्जिब कुमार ठाकुरकाअनुसार बिलेटमा गुणस्तर मापन गर्नका निम्ती विभागले रड एशोसिएशन र स्टील एशोसिएशनलाई गत आइतबार छलफल गरेको छ।

छलफलमा स्पन्ज आइरन र स्क्र्याप पगालेर सिधै डण्डी बनाउने उद्योगका व्यवसायी र बाहिरबाट बिलेट ल्याएर त्यसलाई भट्टीमा तताएर डण्डी बनाउने उद्योगका व्यवसायी सहभागी थिए। 

विभाग स्रोतकाअनुसार बिलेटमा गुणस्तर मापन गर्ने बिषयलाई लिएर डण्डी व्यवसायी बीच विवाद छ। स्पन्ज आइरन र स्क्र्याप पगालेर डण्डी उत्पादन गर्ने उद्योगहरु  बिलेटमा गुणस्तर कायम हुनुनपर्ने पक्षमा छन् भने बिलेट ल्याएर त्यसलाई भट्टीमा तताएर डण्डी बनाउने उद्योगका व्यवसायीहरु भने गुणस्तर मापन गर्नुपर्ने पक्षमा उभिएका छन्। 

मूल स्रोतमा नै गुणस्तर मापन गर्दा त्यसले समग्र डण्डी उद्योगलाई मात्र नभएर नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रलाई पनि गुणस्तरीय र भरपर्दो बनाउने भन्दै बिलेटमा गुणस्तर मापन हुनुपर्ने एकथरी उद्योगको भनाइ छ। 

नेपालमा मूलत: बाहिरबाट बिलेट ल्याएर त्यसलाई भट्टीमा पगालेर डण्डी बनाउने र स्पन्ज आइरन तथा स्क्र्याप पगालेर सिधै डण्डी बनाउने गरि दुई प्रकारका उद्योग सञ्चालनमा छन्।  बाहिरबाट बिलेट ल्याएर डण्डी बनाउने उद्योगहरु १४ वटा छन्।

तर नेपाल सरकारले प्रतिस्थापन बिधेयकमार्फत कर र राजस्वमा  ठूलो परिवर्तन गरेपछि बाहिरबाट बिलेट ल्याएर डण्डी बनाउने १४ उद्योगमध्ये ३ उद्योग बन्द भइसकेका छन् भने एक उद्योग स्क्र्याप तथा स्पन्ज पगालेर सिधै डण्डी बनाउने अर्थात् इन्डक्सन फर्नेस प्रविधिमा जाने तयारीमा छ। 

त्यस्तै स्पन्ज आइरन तथा स्क्र्याप पगालेर सिधै डण्डी बनाउने उद्योगहरु ९ वटा  छन्। तर सरकारले प्रतिस्थापन बिधेयकमार्फत कर र राजस्वमा ठूलो परिवर्तन गरेपछि इन्डक्सन फर्नेस प्रविधिमा गैर डण्डी बनाउनलाई थप ८ उद्योग थपिएका छन्। 

बिलेटमा गुणस्तर मापन गर्नका निम्ती प्राविधिक उपसमिति र प्राविधिक समिति गठन गरिएको छ। प्राविधिक उपसमितिबाट एउटा ड्राफ्ट बनी प्राविधिक समितिमा गए पछि दुई महिनाको लागि कमिटीमा रहने र  त्यसपछि नेपाल गुणस्तर परिषद हुँदै मन्त्रालयमा पुगेपछि अनुमोदन हुने विभागले बताएको छ ।  

स्पन्ज आइरन र स्क्र्यापलाई तताएर सिधै डण्डी बनाउँदा गुणस्तरमा समस्या आउने देखिएकाले उद्योग मन्त्रालयले बिलेटमा गुणस्तर मापनलाई सिफारिस गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved