
नेपाल सरकार सम्बद्ध सार्वजनिक संस्थानको हिस्सा धितोपत्र बजारमा १८ प्रतिशत रहेको छ ।
धितोपत्र बजारमा सूचीकृत कम्पनीमध्ये सात वटा सार्वजनिक संस्थानको नियमित कारोबार हुने गरेको छ । जसअनुसार धितोपत्र बजारमा कृषि विकास बैंक,नेपाल बैंक, नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल) र विशाल बजार कम्पनी बजारमा सूचीकृत छन् ।
यी कम्पनीहरु मध्ये नेपाल टेलिकम, राष्ट्रिय बीमा कम्पनी, नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)को शेयरमूल्य उच्च रहेको छ ।
सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षाअनुसार गत असार मसान्तमा कुल पूँजीकरणमा ती कम्पनीहरुको अंश १८.३२ प्रतिशत छ । ती कम्पनीको कुल पूँजीकरण पनि ५ खर्ब ६४ अर्ब ६७ करोड रुपैयाँ बराबर छ । असार मसान्तसम्म बजारको कुल पूँजीकरण ३० खर्ब ८२ अर्ब ५१ करोड रुपैयाँ बराबर रहेको आधारमा सार्वजनिक संस्थानको हिस्सा १८.३२ प्रतिशत देखिएको हो ।
सूचीकृत सबै धितोपत्रको कुल मूल्य नै बजार पूँजीकरण हो । नेपाल टेलिकम बजारमा सूचीकृत सबै कम्पनीमध्ये पूँजीकरणका आधारमा सबैभन्दा शक्तिशाली छ । हाल बजारको कुल पूँजीकरणमा यस कम्पनीको हिस्सा ४.५ प्रतिशत छ ।टेलिकमको शेयरमूल्य उच्च दरमा बढेमा वा उच्च दरमा घटेमा समग्र धितोपत्र बजारलाई नै बढाउने वा झार्न सक्ने क्षमता छ । नेपाल टेलिकमको धितोपत्र बजारमा १८ करोड कित्ता शेयर सूचीकृत छ । पूँजीकृतका आधारमा टेलिकम सबैभन्दा शक्तिशाली कम्पनी हो ।
सरकारको मूख्य लगानी रहेका ४४ वटा संस्थान वा कम्पनीहरु सञ्चालनमा छन् । जसमा नेपाल सरकारको शेयर स्वामित्व बहमुत छ । सेवा तथा वस्तु उपलब्ध गराउने, आर्थिक विकास गराउने, देशमा छरिएर रहेको पूँजीको उपयोग गर्ने, औद्योगिक विकास गर्ने जस्ता उद्देश्यले सरकारले सार्वजनिक संस्थान स्थापना गरेको हो ।
शेयर पूँजीमा ५० प्रतिशतभन्दा बढी सरकारको नियन्त्रणात्मक स्वामित्व भएका निकायलाई सार्वजनिक संस्थानको रूपमा लिने गरिन्छ ।
त्यसो त शेयर बजारबाट लगानीकर्तालाई मात्रै नभएर सरकारलाई पनि राम्रै आम्दानी हुन्छ । सरकारले वर्षेनी शेयर बजारबाट उल्लेख्य आम्दानी गर्ने गरेको छ ।शेयर बजारबाट प्राप्त गर्ने सरकारको मूख्य आम्दानी भनेको पूँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) हो ।