केबी एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिडसमेत उत्पादन गर्दै आएको निम्बस ग्रूपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् ।
उक्त कार्य गर्ने सम्झौतामा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र केबी एग्रोका अध्यक्ष केशवराज थापाले शेयर खरिदबिक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
केबी एग्रोका अध्यक्ष थापा नेपाल पेलेट फिड र जानुका ह्याचरीका सञ्चालक समेत हुन् । उक्त सहकार्यबाट साझेदारीमा संलग्न उद्योगी मात्र नभएर कुखुरापालक किसान र उपभोक्तासमेत लाभान्वित हुने अपेक्षा छ ।
साझेदारी अन्तर्गत गुणस्तरीय दाना आपूर्ति, मासु र अण्डा उत्पादन तथा बजार व्यवस्थापन मासुको हकमा “शक्ति मिट” र अन्य परिकारको हकमा “इट फर्स्ट” को नामले हुनेछ । केबी एग्रोसँगको सहकार्यसँगै गुणस्तरीय उत्पादनमा ख्याती कमाएको निम्बस पोल्ट्रीजन्य कारोबारमा प्रवेश गरेको छ ।
कुखरा उत्पादन, सही मूल्यमा गुणस्तरीय दानाको उपलब्धता र बजारमा उचित मूल्यमा उच्च गुणस्तरको पोल्ट्रीजन्य वस्तुको उपलब्धता सुनिश्चित गर्न दुई समूहले साझेदारी गरेको सम्झौतापछि कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुई प्रतिष्ठित व्यावसायिक घरानाको साझेदारीबाट धराशयी हुँदै गएको नेपालको पोल्ट्री व्यवसायलाई नयाँ ढंगबाट सञ्चालन गरी समग्र पोल्ट्री व्यवसायको विकास र विस्तारमा समेत सकारात्मक योगदान हुने अपेक्षा गरिएको छ ।
केबी एग्रोले धादिङको धुनिबेसीमा दैनिक ३२ हजार पन्छी प्रशोधन गर्न सक्ने क्षमताको अत्याधुनिक प्रोसेसिङ उद्योग सञ्चालन गरिरहेको छ ।पूर्ण स्वचालित उक्त प्रोसेसिङ हाउसको ब्लास्ट फ्रिजिङ क्षमता २४ मेट्रिक टन र फ्रिजिङ क्षमता ५०० मेट्रिक टन छ ।