साताको बजार : शेयर र सुन दुबैको मूल्य वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2024 | 02:39:07 PM मा प्रकाशित

laxmi sunrise bank

यो साता शेयर बजार र सुन दुबैको मूल्य वृद्धि भएको छ ।

साताको पहिलो दिनदेखि नै सकारात्मक देखिएको सेयर बजार परिसूचक एक सातामा ३४.५१ अंकले बढेको छ। गत साता २ हजार ७७ दशमलव ७८ विन्दुमा रहेको नेप्से परिसूचक एक सातामा बढेर २ हजार ११२.२९ विन्दु कायम भएको छ ।

यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबै बढेको छ । यो साता पाँच कारोबार दिनमा २८ अर्ब ५७ करोड २१ लाख रुपैयाँभन्दा बढीको ६ करोड १९ लाख ९७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । यो साता बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब पुगेको छ ।

बैंकले निक्षेपको ब्याजदर घटाउँदै गइरहेको र लगानीका अन्य क्षेत्रमा सुधार नआएकाले पैसा साथमा भएका लगानीकर्ताहरु शेयर बजारमा केन्द्रित रहेको देखिन्छ। राष्ट्र बैंकले  आगामी मौद्रिक नीति थप लचिलो ल्याउने भएको छ । यसका  साथै लामो समयदेखि नेतृत्व विहिन रहेको धितोपत्र बजार नियामक नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया  शुरु गरेको छ ।

यसकारण पनि  बजार अझ अगाडि जाने संकेत देखिन्छ  । नेप्सेले जेठ महिनामा दुईपटक उच्च विन्दु कायम राखेको छ। गत जेठ ९ गते पाँच महिनायताकै उच्च विन्दु २ हजार १३१.४९ विन्दुमा नेप्से पुगेको थियो । त्यसपछि जेठ २४ गते नेप्से परिसूचक २ हजार १२१.६२ विन्दुमा पुगेको थियो ।

त्यसो त यो साता विश्व बजारमा सुनको मूल्यमा पनि वृद्धि भएको छ ।साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार १ लाख ४१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउ चाहिं सामान्य घटेको छ ।

प्रतितोला चाँदीको भाउ गत आइतबार १ हजार ८२५ रुपैयाँ रहेकोमा शुक्रबार १ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।

अमेरिकी डलरको विनिमय दरमा देखिएको मजबुती र अमेरिकी रिजर्भ बैंक फेडले सार्वजनिक गर्न लागेको अमेरिकी बजारको मूल्यवृद्धि दरमा नियन्त्रणलगायत कारणले सुनको मूल्यमा असर परेको हो ।सुरक्षित लगानी, सञ्चय गर्न सजिलो, तरल सम्पति जस्तो सुविधा र रसिया र युक्रेन  तथा इजरायल र हमास बीचको युद्धका कारण  मागमा बृद्धिका कारण सुनको मूल्यले उचाई लिन सक्ने अन्तरराष्ट्रिय विश्लेषकहरुले बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved